Comments Add Comment

सुदूरपश्चिम कला, साहित्य र संस्कृतिको उर्वर भूमि हो : राष्ट्रपति भण्डारी

१४ फागुन कैलाली । राष्ट्रपति विद्यादेवी भण्डारीले सुदूरपश्चिम प्रदेश कला साहित्य र संस्कृतिको उर्वर भूमि भएको बताएकी छन् ।

धनगढीमा बुधबारदेखि सुरु भएको विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सुदूरपश्चिम प्रदेश मौलिक परम्परा रहनसहन र भेषभुषाको विशिष्ट पहिचान बोकेको भन्दै प्रशंसा गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले पहलमानसिंह स्वार र जयपृथ्वीबहादुर सिंहलाई समेत स्मरण गरिन् । ‘यो प्रदेश मौलिक परम्परा रहनसहन र भेषभुषाको विशिष्ट पहिचानबोकेको प्रदेश हो,’ उनले भनिन्, ‘पहलमानसिंह स्वार, जयपृथ्वीबहादुर सिंहलगायतको अमर स्रष्टाहरुको प्रदेशमा मात्रै होइन देशमा पनि अतुलनीय योगदान रहेको छ ।’

विश्व साहित्य महोत्सवले विश्व भरी छरिएर रहेका नेपालीबीच भाषिक तथा भावनात्मक एकता पबर्धन गर्न महत्वपूर्ण भूमिका निर्बाह गर्ने राष्ट्रपति भण्डारीले बताइन् । ‘नेपाली भाषा विश्वको उन्नत भाषाको रूपमा रहेको छ,’ उनले भनिन्, ‘यो राष्ट्रिय एकतालाई प्रवर्धन गर्ने महत्वपूर्ण माध्यम बनेको हो ।’

कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसहित विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो । राष्ट्रपति भण्डारीलाई समेत कार्यक्रममा नागरिक अभिनन्दन गरिएको थियो ।

सुदूरपश्चिम साहित्य समाजको आयोजनामा बुधबारबाट सुरु भएको महोत्सव फागुन २० गतेसम्म सञ्चालन हुने छ । विश्व साहित्य महोत्सवमा साहित्य, राजनीति, समसामयिकलगायत विभिन्न विषयमा सत्रहरू रहेका छन् ।

पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, उद्योगमन्त्री लेखराज भट्ट, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सांसद भीम रावल, गगन थापा, नारदमुनि राना, प्रेम आलेलगायतका नेताहरू राजनीति, विकासलगायत विषयका वक्ताका रूपमा रहेका छन् ।

सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङ, प्रा.डा. बासुदेव त्रिपाठी, डा. विष्णुविभु घिमिरे, मनु मञ्जिल काव्य सभामा वक्ता रहने आयोजकले जनाएको छ ।
चाम्लिङले स्वाभिमानी जातिका स्वाभिमानी पाइला विषयको बहसमा भाग लिनेछन् ।

महोत्सवमा स्वदेश तथा विदेशमा रहेका २०० भन्दा बढी नेपाली भाषी लेखक, कवि र साहित्यकारको सहभागिता रहेको आयोजक सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीले बताए ।

महोत्सवको साहित्य सत्रमा ‘संघर्ष र सफलताको कथा’, ‘काव्य सभा’ जस्ता प्रस्तुति गर्ने कार्यक्रम रहेको छ ।

विश्व नेपाली साहित्य महोत्सवलाई लक्षित गरी महोत्सवस्थल परिसरमा खाना महोत्सवको पनि आयोजना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment