Comments Add Comment

प्रधानमन्त्रीलाई सुदूरपश्चिमको पत्र : ‘तमी पन निकाई होउला भन्या मान्याका छौं’

श्रीमान सम्माननीय प्रधानमन्त्री
केपी शर्मा ओली ज्यू,
सिंहदरबार काठमाडौं

विषय : पश्चिम सेतीको लागि मेरो पत्र ।

आज पत्र पठाउनुको कारण केही थिएन । तर, विगत २८ वर्षदेखि मेरा आशा र सपना मर्न थालेको छ । सुदूरपश्चिम प्रदेशको गौरव आर्थिक सामाजिक रूपान्तरणको वैभव हाम्रो ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण प्रक्रिया तत्काल अगाडि बढाउन हार्दिक अनुरोध गर्दछु ।

उही लिपुलेक, लिम्पिया धुरा र कालापानीको भूगोलबाट भुवनबहादुर चन्द ।

यो धनगढीमा भुवनचन्दले प्रधानमन्त्री केपीशर्मा ओलीलाई पठाउन तयार पारेको पत्र हो । बुधबार मात्रै करिब २ हजार भन्दा बढीले प्रधानमन्त्रीलाई सम्बोधन गरेर पत्र तयार गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी कार्यक्रम स्थलमै प्रधानमन्त्रीको लागि पत्र लेखन अभियान सुरु गरिएको थियो ।

राष्ट्रपति भण्डारी सहभागी कार्यक्रम स्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरसहित पत्रको नमूना समेत रहेको थियो ।

पत्रको नमूनामा लेखिएको छ, ‘हामी यहाँ निकै छौं, तमी पन त्यता निकाई होउला भन्या मान्याका छौं । तुहार स्वास्थ्यमजामा रही शुभकामना बा’अर्थात् (हामी यता सन्चै छौं तपाईं पनि त्यता सन्चै हुनुहुन्छ होला भन्ने लागेको छ । तपाईंको स्वास्थ्य राम्रो रहोस् शुभकामना छ । )

प्रधानमन्त्री ओलीको तस्वीरसहितको ब्यानरमा उनलाई आश्वासनका २८ वर्ष, पश्चिम सेती कहिले बन्छ भन्दै प्रश्न गरिएको छ ।

राष्ट्रपति सहभागी कार्यक्रममा प्रधानमन्त्रीको तस्वीरसहितको जिज्ञासाले धेरैको ध्यान खिच्यो ।

झन्डै तीन दशकदेखि चर्चामा आएर पनि निर्माण कार्य सुरु नभएको ७५० मेगावाटको पश्चिम सेती परियोजना निर्माणका लागि दबाव दिन बोलन्याथली धनगढीले बुधबार राष्ट्रपति सहभागी कार्यक्रममै प्रधानमन्त्रीको लागि पत्र पठाउन आह्वान गरेको हो ।

बोलन्याथलीका संयोजक यादव जोशीले पश्चिम सेती निर्माणको लागि प्रधानमन्त्रीलाई एक लाख पत्र पठाउने अभियानको सुरुवात राष्ट्रपति कै कार्यक्रमबाट गरिएको बताए ।

‘एक महिनाभित्रै हामी एक लाख पत्र जम्मा गर्छाै,’ उनले भने, ‘त्यसपछि हामी काठमाडौंमा एक कार्यक्रम गरी प्रधानमन्त्रीलाई एक लाख पत्र दिने छौं ।’

पत्र सङ्कलनको शुभारम्भ बुधबार ८४ वर्षीय समाजसेवी भोजबहादुर चन्दले गरे । उनले पनि पश्चिम सेती अझै अन्योलग्रस्त बनाउन नहुँने सुझावसहित प्रधानमन्त्रीलाई पत्र लेखेका थिए ।

प्रधानमन्त्रीलाईपत्र लेख्ने मध्ये अर्का एक व्यक्ति थिए दामोदर अवस्थी । दार्चुला घर भई हाल धनगढी बस्दै गरेका अवस्थी अहिले ८३ वर्षका भए । पश्चिम सेती आयोजना बन्छ भनेर कुरेको २८ वर्ष पुगेको उनी बताउँछन् । उनी भन्छन् ‘कुरा धेरै हुन्छ । तर, काम हुँदैन । विगत दशकौंदेखि हामी देख्दै आएका छौँ ठूला कुरा सबैले गरे । तर, काम कसैले गरेनन् । २८ वर्षमा मेरो पेन्सन आयो । तर,पश्चिम सेती बनेन ।

बुधबारनै धनगढीका २० वर्षीय दिवेश राज जोशीले पनि प्रधानमन्त्रीलाई पत्र लेखे । पश्चिम सेतीको चर्चा सुरु हुँदा आफू नजन्मिएको उनी बताउँछन् । लामो समयसम्म पनि सुदूरपश्चिम प्रदेशको समृद्धिको आधार रहेको पश्चिम सेती नबनेपछि प्रधानमन्त्रीलाई पत्र लेखेको उनको भनाइ छ ।

‘२८ वर्षभयो यो आयोजना अलपत्र परेको । तर अब अलपत्र पर्न दिन हुँदैन,’ उनले भने, ‘त्यही काम होस् भनेर दबाव दिनप्रधानमन्त्रीलाई पत्र कोरेको हुँ ।’

बोलन्याथलीका संयोजक यादव जोशीले सुदूरपश्चिमका ८८ वटै स्थानीय तहहरूबाट पत्र संकलन गर्ने बताए । उनी भन्छन्, ‘केही दिनपछि हुलाक र इमेलबाट पनि पत्र सङ्कलन कार्य सुरु गरिने छ ।’

यस लगत्तै फेरि चैत १५ गते डोटीमा सपनाका डोकाहरू कसले भर्छ पश्चिम सेती कहिले बन्छ ?भनेर ७५० खाली डोका प्रदर्शन गर्ने कार्यक्रम तय भएको उनले बताए ।

त्यसपछि पश्चिम सेती निर्माणका लागि दबाव दिन आमनागरिक र बोलन्याथलीका अभियन्ताहरू गरी ७५० जना ७५० मिनेट कचौरा समातेर डोटीको दिपायलमा अनशन बस्ने समेत उनले बताए ।

यसअघि बोलन्याथलीले पश्चिम सेतीका लागि माइतीघर मण्डलामा कचौरा जुलुस, सुदूरपश्चिमबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने १३ जना सांसदसँग छलफल र सङ्गीत सङ्घर्ष कार्यक्रम गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment