Comments Add Comment

बाँझकटेरीमा प्याराग्लाइडिङको सफल परीक्षण

१५ फागुन, गुल्मी । गुल्मीको मदाने गाउँपालिका-२ बाँझकटेरीको कसुरे डाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । स्काई बर्ड प्याराग्लाइडिङ पोखराको टोलीले बुधबार तीन वटा प्याराग्लाइडिङ उडाएको थियो ।

पूर्वमन्त्री गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले प्याराग्लाइडिङ चालकहरुलाई फूलमाला लगाएर सफलताको शुभकामना दिएका थिए । मदाने गाउँपालिकाले होलबाङ प्याराग्लाइडिङ सम्भाव्यता अध्ययनका लागि आर्थिक वर्ष ०७६/७७ मा २ लाख रुपैयाँ बिनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए ।

कसुरेडाँडा समुन्द्री सतहबाट २१ सय ५० मिटरको उचाइमा रहेको छ । बाँझकटेरीको कसुरे डाँडा प्याराग्लाइडिङ्गको हिसाबले अत्यन्तै राम्रो रहेको स्काई बर्ड प्याराग्लाइडिङ पोखराका प्रमुख तथा चालक भुवन गाहाले बताए ।

उनले पोखराको सराङकोट पनि १४ सय ५० मिटरको उचाइमा मात्रै भएका लामो र छोटो दुरीको प्याराग्लाइडिङका लागि कसुरेडाँडा अत्यन्तै महत्वपूर्ण भएको बताए । लामो दुरीको लागि खर्च बढी लाग्ने भएकाले तत्कालै छोटो दुरीको प्याराग्लाइडिङ गर्न सकिने गाहाले बताए ।

उनले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कारण प्याराग्लाइडिङ बिस्तापित हुने अवस्था रहेकाले भविष्य गुल्मीलाई प्याराग्लाइडिङको हबको रुपमा विकास गर्न सकिने बताए । पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण बिष्टले विकटलाई निकट बनाउने यो सम्भावना मर्न नदिने बताए ।

प्याराग्लाइडिङको सफल परीक्षण भइसकेको भन्दै अब व्यवसायिक उडानको तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले जानकारी दिए ।

परीक्षणको क्रममा बुधबार कसुरे पुगेका बिष्टले नियमित प्याराग्लाइडिङको लागि आवश्यक भौतिक संरचना निर्माण र अन्य आवश्यक सहयोग गर्न आफू तयार रहेको बिष्टले बताए । उनले अग्लुङ्गबाट कसुरे हुँदै सिमलटारीसम्म पुग्ने सडकको स्तरवृद्धिसँगै कालो पत्रेको काम अगाडि बढेकाले कसुरेको प्याराग्लाइडिङलाई थप टेवा पुग्ने बताए ।

उनले गाउँको माया मारेर मधेस झरेकाहरु पैसा तिरेर प्याराग्लाइडिङ गर्न आउने वातावरण सिर्जना गर्न आफूले कुनै विकल्प बाँकी नराख्ने बताए । मदाने गाउँपालिका प्रमुख दानबहादुर केसीले सडक निर्माणसँगै होलबाङ्गमा होमस्टे निर्माण गर्न गाउँपालिकाले योजना बनाउने बताए ।

उनले व्यावसायी रुपमा प्याराग्लाइडिङ अगाडी बढाउने विषयमा आफूहरु सक्रिय रुपमा लाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment