Comments Add Comment

विराजले पेनाल्टी चुकाउँदा मछिन्द्रको जित यात्रामा लाग्यो ब्रेक, पुलिससँग पराजित

धरान । शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लवको विजयी यात्रामा ब्रेक लागेको छ ।

धरानमा भइरहेको २२औं बुढासुब्बा गोल्डकप अन्तर्गत बिहीबार भएको सेमिफाइनलमा मछिन्द्रलाई नेपाल पुलिसले सडनडेथमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

५ पटकको च्याम्पियन समेत रहेको विभागीय टोली पुलिसले अब उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।

धरान रंगशालमा निर्धारित समयको खेल प्रतिस्पर्धात्मक बनेपनि मछिन्द्र र पुलिसले गोल गर्न सकेन र गोलरहित बराबरीमा सकियो । निर्धारित समय गोलरहित बराबरी सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकर पनि ४-४ गोलको बराबरी भएपछि खेलको निर्णय सडन डेथबाट भएको हो ।

सडन डेथमा मछिन्द्रका कप्तान विराज महर्जनको प्रहार पुलिसका गोलकिपर सन्जित श्रेष्ठले बचाएका थिए । पुलिसका कपिल ढकालले भने गोल गरेका थिए ।

त्यसअघि टाइब्रेकरमा पुलिसका भोला सिलवाल, पदम भट्टराई, तीर्थ मगर र जुमानु राईले गोल गरे । सुमन सुवेदीको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए । मछिन्द्रका रञ्‍जित धिमाल, विमल घर्ती मगर, विजय धिमाल र देवेन्द्र तामाङले गोल गर्दा विशाल राईको प्रहार पुलिसका गोलकिपर सन्जित श्रेष्ठले बचाए ।

सेमिफाइनलमा पुलिससँग पारजित भएपछि लगातार तेस्रो उपाधि जित्ने लयमा रहेको मछिन्द्रको यात्रामा ब्रेक लागेको हो । लिग जितेलगत्तै मछिन्द्रले झापामा वर्षको पहिलो नकआउट उपाधि सताक्षी गोल्डकप जितेको थियो । ए डिभिजन लिगमा हिमालयन शेर्पासँग मात्र पराजित भएको मछिन्द्रको त्यसयता यो पहिलो हार हो ।

बुढासुब्बा गोल्डकपको उपाधिका लागि अब पुलिस र मनाङबीच प्रतिसपर्धा हुनेछ । मनाङले पहिलो सेमिफाइनलमा भारतको युके एफसीलाई २-० ले फाइनलमा स्थान बनाइसकेको छ ।

प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख नगद प्राप्त गर्ने छन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले होण्डा कम्पनीको डियो स्कुटर पाउनेछन् भने सर्वाधिक गोलकर्ताले ३५ हजार र व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले २५-२५ हजार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment