Comments Add Comment

पोखरामा रवीन्द्र अधिकारीको सम्झना

१५ फागुन, पोखरा । रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले बिहीबार पोखरामा पूर्वपर्यटनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीलाई सम्झिएको छ ।

पोखरा सहिद पार्कमा स्व अधिकारीको पूर्ण कदको शालिक अनावरणपछि पोखरा सभागृहमा ‘रवीन्द्र अधिकारी स्मृति दिवस समारोह’ भएको हो ।

गत वर्ष फागुन १५ कै दिन ताप्लेजुङमा हवाई दुर्घटनामा अधिकारीको मृत्यु भएको थियो । अधिकारीको मृत्यु भएको १ वर्षदिनको अवसर पारेर स्मृति दिवस मनाइएको हो । समारोहमा विभिन्न राजनीतिक व्यक्तित्वले स्व अधिकारीलाई स्मरण गरे ।

समारोहई प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंबाटै भिडियो मन्तव्य दिए । उनले रवीन्द्र एक सच्चा र बहुआयामिक जनप्रतिनिधि भएको बताए । ‘छोटो समयमै धेरै काम गर्नु भएको थियो । उहाँकै कामले गर्दा उहाँ लोकपि्रय जनप्रतिनिधिको भूमिका पनि निभाउनुभयो,’ भिडियोबाट समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘उहाँमा कहीँबाट कुनै खोट देखिएन । सधै निष्ठावान हुनुहुन्थ्यो ।’

प्रधानमन्त्री ओलीले स्व अधिकारी समृद्धिका लागि अहोरात्र खटिने जनप्रतिनिधिका रुपमा समीक्षा गरे । पार्टी एकतामा अधिकारीले पुर्‍याएको योगदानको सबैले प्रेरणा लिनुपर्ने सुनाउँदै उनले भने, ‘उहाँको निधन पनि जनताकै सेवाको सन्दर्भमा भएको हो । उहाँको सकारात्मक सोचबाट सबैले प्रेरणा लिनुपर्दछ ।’

अधिकारीका नजिकका साथीसमेत रहेका नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ४० सालदेखिको आफ्नो मित्रता सम्झिए । बहालवाला मन्त्री रहेकैबेला दुर्घटनामा निधन भएपछि हाल उक्त मन्त्रालयको जिम्मा भट्टराईले लिँदै आएका छन् ।

‘व्यक्तिगत प्रसंग धेरै छन् । तर, जब जब म यो हल (पोखरा सभागृह)मा आउँछु । उहाँकै आवाज गुञ्जिएजस्तो लाग्छ,’ मन्त्री भट्टराईले भावुक हुँदै सम्झिए, ‘यही हलमा हामीले कैयौं पटक कार्यक्रम गरेका छौं । यो हलका प्रत्येक सिटमा रवीन्द्रजीको स्मृति ताजा छन् जस्तो लाग्छ ।’ उनले मृत्युको क्षणसम्म राम्रो मित्रता कायम रहेको र उनको निधनले पार्टी र देशलाई अपुरणीय क्षति पुगेको सुनाए ।

भट्टराईले स्व अधिकारीलाई कुनै एउटा कारणबाट मात्रै नभइ धेरै कारणबाट सम्झिनुपर्ने सुनाए । ‘विद्यार्थी भाडा छूट, दरबारीया बदमासी सार्वजनिक, अन्तर्राष्ट्रिय विमानस्थल लगायतका विषयमा उहाँको योगदानको स्मरण गर्नुपर्छ,’ उनले भने, ‘मन्त्रीका रुपमा पनि धेरै काम गर्नुभयो । कतिकाम पूरा भए कति अपूरै रहे । अहिले ती अपूरा काम पूरा गर्ने जिम्मेवारी मलाई आएको छ ।’

मन्त्री भट्टराईले अधिकारीको सपना पूरा गर्न मन्त्रालय प्रतिष्ठानसँग सहकार्य गर्न तयार रहेको सुनाए । उनले मन्त्रालयबाटै रवीन्द्रको स्मृतिमा पुरस्कार स्थापना गरेको र प्रत्येक वर्ष फागुन १५ मा वितरण गरिनेसमेत जानकारी दिए । ‘यो वर्ष हामीले उहाँको जन्मदिन बैशाख १२ गते पुरस्कार वितरण गर्नेछौं,’ उनले भने ।

गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्व अधिकारी ‘मास लिडर’ भएको समीक्षा गरे । उनले अधिकारी लोकपि्रय नेता भएकै कारण प्रतिपक्षीले समेत प्रशंसा गर्ने नेता भएकाले सबैले उनीबाट प्रेरणा लिनुपर्ने बताए ।

स्व. अधिकारीको स्मृति समारोहको पूर्वसन्ध्यामा प्रतिष्ठानले ‘विकास, राजनीति र रवीन्द्र अधिकारी’ शीर्षकमा देशव्यापी निबन्ध प्रतियोगिता गरेको थियो । जसमा प्रतियोगितामा रिट्ज इन्जिनियरिङ कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट ललितपुरका सुरज परियार पहिलो स्थानसहित नगद २५ हजार रुपैयाँ ल्याउन सफल भए ।

नगद २० हजारसहित विराटनगर नर्सिङ कलेजकी मनिता चौङवाङ दोस्रो भइन् । सुश्रमा मेमोरियल कलेज इटहरीका रामचन्द्र अधिकारी तेस्रो स्थानसहित १५ हजार रुपैयाँ हात पारे । उनीहरुलाई पर्यटनमन्त्री योगेश भट्टराई र प्रतिष्ठान अध्यक्ष विद्या भट्टराईले पुरस्कार हस्तान्तरण गरे ।

प्रतिष्ठानले पोखरामा ‘क्यानभासमा रवीन्द्र’ चित्रकला प्रदर्शनी गरेको थियो । जसमा १५ जना कलाकारले विभिन्न चित्र कारेर प्रर्दशन गरेका थिए ।

अधिकारीकै स्मृतिमा प्रतिष्ठानले १ करोड रुपैयाँको अक्षयकोषसमेत खडा गर्ने घोषणा गरेको छ । अक्षयकोषबाट संकलित रकमबाट छात्रवृत्ति प्रदान गरिने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment