१३ कात्तिक, काठमाडौं । पत्रकारहरू पक्राउ परेको विषयमा गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले आफूले थप बुझ्नुपर्ने प्रतिक्रिया दिएका छन् ।
‘समाचार लेखेकै आधारमा न्युजरुमबाट पत्रकारहरू पक्राउ गरिएको विषयमा गृह मन्त्रालयको के धारणा छ’ भन्ने अनलाइनखबरको प्रश्नमा उनले आफूले थप बुझ्नुपर्ने जवाफ दिएका हुन् ।
‘पत्रकार पक्राउ परेको विषय गृहमन्त्रालय र तपाईंलाई जानकारी छैन त ?’ भन्ने पूरक प्रश्नमा उनले दोहोर्याए, ‘यस विषयमा मलाई जानकारी छैन भन्दिनँ, तर थप बुझ्नुपर्छ ।’
झण्डै दुई मिनेटको कुराकानीमा गृह प्रवक्ता काफ्ले पटक–पटक आफूलाई ‘जानकारी नरहेको नभन्ने, तर थप बुझ्नुपर्ने’ शब्द मात्रै दोहोर्याइरहे ।
पत्रकार विश्वमणि सुवेदीलाई शुक्रबार प्रहरीले समाचार कक्षबाट नियन्त्रणमा लिएको छ । उनी नेपाल प्रेसमा कार्यरत पत्रकार हुन् । उनलाई नयाँ बानेश्वरस्थित कार्यालयको समाचार कक्षबाट केहीबेरअघि प्रहरीले नियन्त्रणमा लिएको हो ।
शुक्रबार नै नयाँ पत्रिका दैनिकको कार्यालयमा पनि प्रहरी पुगेको छ ।
अपराध अनुसन्धान कार्यालय, टेकुबाट आएको भन्दै पाँच जना प्रहरीहरू सादा पोशाकमा नयाँ पत्रिकाको कार्यालयमा पुगेका छन् ।
नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तका अनुसार, उनीहरूले संवाददाता नवराज मैनालीलाई साइबर ब्यूरोमा लैजानुपर्ने भनेका छन् ।
शुक्रबार नै अर्का पत्रकार शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।
डीएनए खबरका पत्रकार धीरज बस्नेत पनि पक्राउ परेका छन् ।
पत्रकारहरू पक्राउ परेको विषयमा प्रतिक्रिया माग्दा गृह मन्त्रालयका प्रवक्ता काफ्लेले थप बुझ्नुपर्ने प्रतिक्रिया दिएका हुन् ।
प्रतिक्रिया 4