Comments Add Comment

किशोर भर्सेस चन्द्र–महासंघको चुनावमा रोचक भीडन्त !

१४ फागुन, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा यतिबेला चुनावी माहोल सुरु भएको छ ।

वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने व्यवस्थाका कारण अहिलेको वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी चैतदेखि महासंघको अध्यक्ष बन्दैछन् । अध्यक्ष स्वतः नै बन्ने भए पछि यतिबेला चुनावी भिडन्त भने वरिष्ठ उपाध्यक्ष पदमा हुने भएको छ ।

महासंघको वरिष्ठ उपाध्यक्षका लागि दुई उपाध्यक्षहरुले भिड्ने भएका छन् । बस्तुगत, जिल्लानगर र एशोसिएट गरी ३ वटा उपाध्यक्ष छन् । आगामी वरिष्ठ उपाध्यक्षका लागि एशोसिएट उपाध्यक्ष चन्द्र ढकाल र जिल्ला नगर उपाध्यक्ष किशोर प्रधानबीच भिडन्त हुने पक्का भएको छ ।

वरिष्ठ उपाध्यक्षका लागि प्रधानले केही समयअघि विराटनगरमा औपचारिक सभा गरेर उम्मेद्वारी घोषणा गरिसकेका छन् भने ढकालले बुधबारमात्रै काठमाडौंको पाँचतारे होटलमा कार्यक्रम गरेर उम्मेद्वारी घोषणा गरे ।

अर्का उपाध्यक्ष उमेशलाल श्रेष्ठ भने ढकालको पक्षमा उभिएका छन् । आफू पुनः वस्तुगत उपाध्यक्षमा दोहोरिने भन्दै श्रेष्ठ यतिबेला ढकाललाई जिताउन सक्रिय छन् ।

अहिले वरिष्ठ उपाध्यक्ष जित्ने व्यत्तिः नै गोल्छा पछिको महासंघको अध्यक्ष बन्छ । यसकारण पनि यतिबेला ढकाल र प्रधान दुबै चुनावी भडिन्तमा लागेका छन् । ढकालले काठमाडौंमा बुधबार घोषणा सभा राखे पनि उनले केही महिना पहिले नै बाग्लुङ पुगेर उम्मेद्वारी दिने घोषणा गरेका थिए ।

दशैं अघिसम्म महासंघको विधान संशोधनको विषय जोडतोडले उठेको थियो । विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था खारेजी गर्न महासंघका केही पदाधिकारी र पूर्वअध्यक्ष लागेका थिए ।

दशैंको मुखमै शुभकामना आदानप्रदान कार्यक्रम भनेर एउटा कार्यक्रम राखेर त्यहाँ विधान संशोधनको वकालत गरियो । उक्त कार्यक्रममा महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालसँगै हालका तीनै उपाध्यक्षहरु ढकाल, प्रधान र श्रेष्ठ सहभागी थिए । उनीहरु सबैले विधान संशोधन हुनुपर्ने राय राखेका थिए । तर, पछि महासंघभित्र गोल्छाले स्वतः अध्यक्ष बन्ने अवस्था खोसिन नहुने भन्दै तीव्र लबिङ गरेपछि विधान संशोधनबारे छलफल गर्न बोलाइएको विशेष महाधिवेशन स्थगित भएको थियो ।

विधान संशोधन भएको भए गोल्छा स्वतः अध्यक्ष बन्न पाउदैनन् थिए, र अध्यक्षका लागि नै निर्वाचन गर्नुपर्ने थियो । सशोधनको एजेन्डा टरेपछि यो वर्षपनि वरिष्ठ उपाध्यक्ष पदमै रोमाञ्चक प्रतिस्पर्धा हुने अवस्था छ ।

चुनावी माहोल तातिँदै गएपछि उपाध्यक्ष प्रधानलाई जिताउन यतिबेला अध्यक्ष बन्ने निश्चित भएका गोल्छाले सक्रियता देखाएका छन् ।

जसले विधान संशोधन गरेर आफूलाई अध्यक्ष बन्नबाट रोक्न खोज्यो, उसकै कित्तामा गोल्छा उभिएका छन् । अर्कोतर्फ प्रधान तिनै व्यीक्त हुन् जसलाई अघिल्लो निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा गोल्छाले नै हराएका थिए । गोल्छासँगै प्रधानको साथमा पूर्व अध्यक्ष पशुपति मुरारका समेत छन् ।

गोल्छालाई फकाउने ढकालको योजना

चन्द्र ढकाल केही महिना अघिसम्म गोल्छाको समर्थन आफूलाई हुने र प्रधानलाई चुनावमा सहजै हराउन सक्छु भन्नेमा ढुक्क थिए । तर एकाएक गोल्छा प्रधानको कित्तामा उभिएपछि ढकाललाई उति सारो सहज वातावरण छैन ।

यतिबेला गोल्छालाई फकाउने र आफ्नो समर्थनमा ल्याउने योजनामा ढकाल लागेको उनी निकट व्यवसायीहरु बताउँछन् । बुधबार उम्मेद्वारी घोषणसभामा ढकालको भाषणले पनि यसको पुष्टि गरेको छ । ढकालले गोल्छालई ‘डायनामिक व्यक्तित्व’ भनेर सम्बोधन गरे ।

‘महासंघको भावि अध्यक्षका रुपमा हामीले आगामी तीन वर्षका लागि एउटा डायनामिक नेतृत्वका रुपमा सफल उद्यमी शेखर गोल्छालाई पाइसकेका छौं’ ढकालले भने, ‘उहाँको नेतृत्वमा हाम्रो एउटा व्यवसायिक र गतिशिल टिम बन्नेछ । यो टीम महासंघमा, उद्योग वाणिज्यको क्षेत्रमा, सरकासँग पोलिसी डाइलगको क्षेत्रमा, सरोवारवाला र साझेदारहरुसँग साझेदारी गर्न एक र एक जोडेर दुई होइन्, हामी एक र एक जोडेर एघार बनाउनेछौं ।’

किन बिच्किए त शेखर ?

चन्द्र ढकाललाई वरिष्ठ उपाध्यक्षमा जिताउने सर्मथनमा छन्, महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल । महासंघमा बलियो प्रभाव रहेको विश्वास गरिएका पूर्व अध्यक्ष ढकालले नै प्रधानलाई हराउन शेखर गोल्छालाई वरिष्ठ उपाध्यक्ष पदमा जिताउन भूमिका खेलेका थिए ।

वरिष्ठ उपाध्यक्षमा चुनाव जितेपछि आफूले भनेको नटेरेको भन्दै चण्डी शेखरसँग रुष्ट भए । त्यसै कारण उनले विधान संशोधनको विषय उठान गरे । विधान संशोधन गरेर गोल्छालाई हटाउने योजनामा पुगेपछि चण्डी र गोल्छाको दुरी झन टाढिँदै गयो ।

चन्द्र पुरानै समूहमा रहे भने गोल्छा प्रधानतिर पुगे । आफूले प्रधानलाई साथ दिनुको कारण चण्डीको मनलाग्दी र महासंघलाई आफूले भनेअनुसार चलाउन खोज्ने प्रवृत्ति भएको संकेत गोल्छाले सार्वजनिक रुपमै गरिसकेका छन् । प्रधानको उम्मेद्वारी घोषणामा गोल्छाले अब आफू कसैको रबर स्ट्याम्प नबन्ने बताएका थिए ।

चण्डीको नाम नलिई गोल्छाले आफूलाई ६ महिनामै हटाउँछु भन्ने चेतावनी आएको भन्दै अध्यक्ष भएपछि कसैको योजना अनुसार आफू नचल्ने बताएका थिए । उनले कुनै समूहको मात्रै नभएर समग्र उद्योगी–व्यवसायीको नेता बन्न चाहेको प्रतिक्रिया दिएका थिए ।

चन्द्र ढकालले उम्मेद्वारी घोषणा आफ्नो बेवास्ता गरेकोमा शेखरको गुनासो पनि छ । चन्द्र ढकालले भावी अध्यक्षलाई पन्छाएर प्यानलसहित भोट मागको भन्दै गोल्छाले गुनासो गरेका छन् ।

को बलियो ?

वरिष्ठ उपाध्यक्षका दावेदार ढकाल एसोसिएटबाट माहसंघको राजनीति सुरु गरेका व्यक्ति हुन् । आइएमई समूहका अध्यक्ष रहेका ढकालको बैंक तथा वित्तीय क्षेत्रमा ठूलो लगानी रहेको छ ।

उनले पर्यटन क्षेत्रमा पनि राम्रै लगानी गरेका छन् । इन्डोनिसियाका लागि अवैतनिक वाणिज्य दूत समेत रहेका ढकाल सरल स्वभावका व्यवसायीका रुपमा परिचय बनाएका व्यक्ति हुन् । उनी एशोसिएट उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।

जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघको तर्फबाट आएका विराटनगरका व्यवसायी प्रधान विजुलीको पोल उत्पादन गर्ने व्यवसायीहरुको संगठनको अध्यक्ष हुन् । गोल्छासँग चुनाव हारेपनि जिल्लानगर उपाध्यक्ष प्रमोद श्रेष्ठले स्थानीय निर्वाचनमा उम्मेदवार बनेपछि उनको स्थानमा प्रधानलाई ल्याइएको थियो ।

यसअघि वरिष्ठ उपाध्यक्षमै हारेका प्रधान अघिल्लो पटक सर्वसम्मत उपाध्यक्ष बनेका ढकालसँग चुनावी प्रतिष्पर्धा गर्दैछन् । महासंघमा प्रभावशाली मानिएका पूर्वअध्यक्ष मुरारका र भावी अध्यक्ष गोल्छा प्रधानको पक्षमा उभिएका छन् ।

ढकालललाई अर्का प्रभावशाली पूर्व अध्यक्ष चण्डी ढकालका साथै सुरज वैद्य समेतको समर्थन छ । चण्डीकै समर्थनमा अध्यक्ष बनेका वैद्य अध्यक्षमा निर्वाचित भएपछि उनीहरुबीच तिक्तता आएको थियो । आफूले जिताए पनि आफूले भनेको नटेरको भन्दै चण्डी वैद्यसँग रुष्ट बनेका थिए ।

उनीहरुको सम्वन्ध यतिसम्म चिसिएको थियो कि आधा दशकदेखि उनीहरुबीच बोलचाल समेत नरहेको महासंघकै नेताहरु बताउँछन् । तर चन्द्र ढकाललाई जिताउने समयमा भने उनीहरु एक ठाउँमा उभिएका छन् ।

अर्कोतर्फ वर्तमान एक उपाध्यक्षसहित ७ प्रदेशमध्ये ५ प्रदेशका अध्यक्षहरुले चन्द्रलाई नै समर्थन गर्ने घोषणा गरेका छन् । प्रदेश नम्बर एकका अध्यक्ष नरेन्द्र कुमार खड्का, प्रदेश नम्बर ४ का अध्यक्ष सञ्जिव कोइराला, प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारी, प्रदेश नम्बर ६ का अध्यक्ष पदम बहादुर थामी र ७ का अध्यक्ष शंकर बहादुर बोगटी समेतले ढकाललाई समर्थन गर्ने बताएका छन् । उनीहरु ढकालको घोषणा सभामै सहभागी थिए । प्रदेश नम्बर २ का अध्यक्ष शिवशंकर शाह र प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठले भने खुलेका छैनन् ।

एशोसियटमा कमजोर भएपनि जिल्ला नगर र वस्तुगततर्फ प्रधानको पनि पडक राम्रो भएको महासंघको अघिल्लो चुनावमा देखिएको थियो । वस्तुगतमा त उनले गोल्छालाई पछि पारेका थिए भने जिल्ला तथा नगरतर्फ पनि राम्रो सम्मानजक मत ल्याएका थिए । एक्लो प्रयासमा ३६ दशमलव ७ प्रतिशत भोट ल्याएका किशोरलाई पनि यसपटक धेरै क्षेत्रबाट समर्थन मिलेको छ ।

त्यसैले ढकाल र प्रधानबीच यसपटक ‘नेक टू नेक’ प्रतिस्पर्धा हुनसक्ने आँकलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment