Comments Add Comment

भौतिक पूर्वाधार मन्त्रालयको १०० दिनको प्रगति- ९५०० खाल्डा पुरियो

१७ फागुन, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले एक सय दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् । प्रगति विवरणमा सडकका खाल्डाखुल्डी पुरेको विषयलाई ‘विशेष उपलब्धीपूर्ण’ भनेर पहिलो नम्बरमा राखिएको छ ।

मन्त्री नेम्वाङका अनुसार सडक विभागअन्तर्गत रहेका सडकहरुमा ९ हजार ५ सय वटा खाल्डाखुल्डी पुरिएको छ ।

यसका साथै काठमाडौं उपत्यकाका करिब २७ किलोमिटर सडकमा कालोपत्रे गर्ने कामसमेत सम्पन्न भएको छ । यसलाई पनि मन्त्री नेम्वाङले  गौरव गर्न लायक काम भनेर उल्लेख गरेका छन् ।

‘१०० दिनको कार्यकालको अधिकांश समय हिउँदको समय भएकाले चिसोको कारण उल्लेखनीय मात्रामा कालोपत्रेको कार्य हुन नसके तापनि प्राप्त भएको प्रतिफलमा गौरव गर्न मिल्ने अवस्था छ,’ प्रगति विवरणमा लेखिएको छ ।

यसै आर्थिक वर्षको अन्त्यसम्ममा काठमाडौं उपत्यकामा थप ८५ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्यसहित काम भइरहेको मन्त्री नेम्वाङले जानकारी दिए ।

ट्राफिक जाम व्यवस्थापन गर्न इन्टेलिजेन्ट ट्राफिक सिस्टम

काठमाडौं उपत्यकाको चक्रपथअन्तर्गत ग्वार्को चोक, सातदोबाटो चोक र नख्खु चोकमा फ्लाइ ओभरको डीपीआर तयार गर्नका लागि परामर्शदाता छनोट कार्य भइरहेको मन्त्रालयले जनाएको छ । यस्तै सूर्यविनायक–धुलिखेल सडकखण्डलाई विस्तार गर्न कोटेश्वर जडिबुटी चोकको ट्राफिक जामलाई दीर्घकालीन रुपमा समाधान गर्न फ्लाइओभर/अन्डरपास निर्माणका लागि जापान सरकारसँग समन्वय भइरहेको छ ।

मन्त्रालयका अनुसार एक सय दिनको अवधिमा काठमाडौंका १७ वटा चोकमा ट्राफिक लाइट बालिएको छ । बाँकी ६ वटा चोकमा असार महिनाभित्र मर्मत गरी सञ्चालनमा ल्याइने छ ।

साथै दीर्घकालीन रुपमा चोकहरुमा हुने ट्राफिक जाम व्यवस्थापन गर्नका लागि इन्टेलिजेन्ट ट्राफिक सिस्टम (आईटीएस) प्रविधि अपनाउनुपर्ने देखिएकाले सो कार्यका लागि परामर्शदाता छनोटको प्रक्रिया अघि बढाइएको छ ।

पैदलयात्रुहरुलाई सुरक्षित रुपमा बाटो काट्नका लागि रिङ्गरोडको बालकुमारी, सातदोबाटो र एकान्तकुनामा आकासे पुल निर्माण कार्य सम्पन्न भइसकेको र बल्खु, सानेपा, महालक्ष्मीस्थान र बानेश्वरमा थप आकासेपुल निर्माणको डिजाइन सम्पन्न भइ ठेक्का व्यवस्थापन प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै काठमाडौं उपत्यका चक्रपथ बिस्तारको दोस्रो खण्डको रुपमा कलंकी–महाराजगञ्ज खण्ड विस्तारका लागि रुख काट्ने, बिजुली र टेलिफोनका पोलहरु सार्ने जस्ता प्रारम्भिक काम अन्तिम चरणमा रहेको मन्त्री नेम्वाङले जानकारी दिए । साथै सो खण्डमा जग्गा प्राप्तिको प्रक्रिया पनि अघि बढाइएको छ ।

तिनकुने–एयरपोर्ट–तिलगंगा सडकखण्डलाई आठ लेनमा स्तरोन्नती गर्न डीपीआर तयार पार्ने काम सकिएको छ ।

मन्त्रालयले १५ सय वटा रुग्ण आयोजनाको म्याद एक वर्ष विनासर्त थप गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment