+
+
Shares

गगन थापाको प्रस्तावले सबैलाई एउटै बिन्दुमा ल्याउँछ : गोविन्दराज पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १६:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता प्रा. डा. गोविन्दराज पोखरेलले महामन्त्री गगनकुमार थापाको १५ औँ महाधिवेशनको प्रस्तावले सबैलाई एउटै बिन्दुमा ल्याउने बताए।
  • महामन्त्री थापाले आगामी पुस १६–१९ मा महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका थिए भने सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७–३० मा गर्नुपर्ने प्रस्ताव गरेका थिए।
  • पोखरेलले १५ औँ महाधिवेशनमा ठोस कार्ययोजना बनाउनु आवश्यक रहेको र सरकार, राजनीतिक दल र जनताको सक्रिय सहभागिता अनिवार्य रहेको बताए।

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रा. डा. गोविन्दराज पोखरेलले १५ औँ महाधिवेशनका लागि महामन्त्री गगनकुमार थापाले गरेको प्रस्तावले सबैलाई एउटै बिन्दुमा ल्याउने बताएका छन् ।

कांग्रेस नेताहरूका बीचमा पार्टी महाधिवेशन २१ फागुनको निर्वाचन अघि कि पछि भन्ने विषयमा विवाद चलिरहेका बेला उनले महामन्त्री थापाले मंगलबार केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेको प्रस्तावले सबैलाई एक बिन्दुमा ल्याउने बताएका हुन् ।

‘अहिलेसम्म हामीबीच महाधिवेशन कहिले गर्ने भन्ने प्रश्नमा मतैक्य हुन नसकिरहेको हो भन्ने मलाई लाग्दछ,’ बुधबारको बैठकमा नेता पोखरेलले भने, ‘मेरो व्यक्तिगत धारणाअनुसार नियमित महाधिवेशनका सम्बन्धमा महामन्त्री गगनकुमार थापाको प्रस्तावले सबैलाई एउटै बिन्दुमा ल्याउँछ जस्तो लाग्दछ ।’

महामन्त्री थापाले मंगलबार आगामी पुस १६–१९ मा १५ औँ महाधिवेशन गर्नुपर्ने कार्यतालिका प्रस्ताव गरेका थिए । मंगलबारकै बैठकमा सहमहामन्त्री महेन्द्र यादवले आगामी वैशाख २७–३० मा महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

केन्द्रीय सदस्य पोखरेलले चौबाटोमा उभिएको कांग्रेसलाई सही बाटो हिँडाउन समर्थ हुनेछौँ भनेर नेताहरूले प्रमाणित गर्नुपरेको पनि बताए ।

उनले बीपी कोइरालाको विचार स्मरण गर्दै नेपाललाई आधुनिक परिवेशको मुलुक र थप बलियो लोकतान्त्रिक राजनीतिक प्रणालीतर्फ उन्मुख गराउन १५ औँ महाधिवेशनमा ठोस कार्ययोजना बनाउनु अत्यावश्यक रहेको बताए ।

‘अबको युगले एक न्यायपूर्ण र समृद्ध समाजको निर्माणलाई प्राथमिकता राखेर गरिने जोखिमयुक्त सुधार माग्दछ; तब मात्र दिगो समुन्नति हासिल गर्न सकिन्छ,’ पोखरेलले भने, ‘यसका लागि सरकारको सशक्त भूमिका, राजनीतिक दल र जनताको विशेषगरि गरिखाने वर्ग र नयाँ पिँढीको सक्रिय सहभागिता अनिवार्य छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?