Comments Add Comment

अख्तियारको कार्यक्रममा रमाइलै रमाइलो

१७ फागुन, डोटी । डोटी, आदर्श गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरत परियारले गाउँमा जनशक्ति नपाइने र थोरै ज्याला भयो भनेर काम नगर्ने भएका कारण डोजर लगाउन पाइने कि नपाइने भन्दै प्रश्न गरे ।

उनको प्रश्नको जवाफमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुर कार्यालय प्रमुख बाबुराम खतिवडाले भने, ‘डोजरको प्रयोग गर्न पाइँदै पाइँदैन, यदि डोजरको प्रयोग गराएर काम गर्नु भएको छ भने म तपाईंलाई कारबाही गर्छु ।’

खतिवडाको जवाफले हाँसो गुञ्जियो ।

केआई सिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल ठकुल्लाले अर्को वर्ष भुक्तानी दिने गरी उधारोमा सडक काट्न पाइने कि नपाइने भन्ने प्रश्न गरे । त्यसको जवाफमा खतिवडाले भने, ‘तपाईं विकासको ठेक्का नलिनुस् । बजेटै नभई कसरी काम गराउनु हुन्छ ?’ फेरि हलमा हाँसो गुन्जियो ।

आयोगले शुक्रबार डोटीमा आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका’ विषयको अन्तक्रिया कार्यक्रममा यस्तै रमाइलो भयो । प्रमुख प्रशासकीय अधिकृतहरुले वास्तविकता र वाध्यता प्रस्तुत गरे । अख्तियार कञ्चनपुर प्रमुखले कडा जवाफ दिए ।

अख्तियार कञ्चनपुरका प्रमुखले बेनामी उजुरीकर्तालाई देउताको संज्ञा दिँदा दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले अख्तियारप्रति व्यंग्य प्रहार गरिन्

अख्तियार प्रमुख भन्छन्– उजुरीकर्ता देउता हुन्, नगर प्रमुखले भनिन्- म त मान्दैन

कार्यक्रममा खतिवडाले अख्तियारमा उजुरी गर्ने व्यक्तिहरु अख्तियारका लागि देउतासरह भएको बताए । ‘नामी बेनामी जस्तो उजुरी गरे पनि उजुरीकर्ताहरु हाम्रा देउता हुन्, हामीले उनीहरुको सम्मान गर्नुपर्छ,’ बेनामी उजुरीबारे सहभागीहरुले जिज्ञासा राखेपछि खतिवडाले भने, ‘हामी उजुरीकर्ताको संरक्षण गर्छौं, उनीहरुलाई हतोत्साही गर्दैनौं ।’

उनले अख्तियारमा ५९ प्रतिशत बेनामी उजुरी पर्ने गरेको जानकारी दिए । नाम उल्लेख गरेर ३३ प्रतिशतले मात्रै उजुरी दिने गरेको, संस्थागत उजुरी तीन प्रतिशत र पत्रपत्रिकाबाट पाँच प्रतिशत उजुरी पर्ने गरेको खतिवडाले जानकारी दिए । उनले भने, ‘यद्यपि बेनामी उजुरीमा अनुसन्धान गर्न ढिलो हुन्छ, उजुरी पढ्दा धेरै ठूलो भ्रष्टाचार भएको जस्तो देखिने, बुझ्दै जाँदा भ्रष्टाचार भएको हो कि ! जस्तो पनि लाग्ने तर अदालतमा जानलाई प्रमाण नपुग्ने अवस्था छ ।’ तर पनि अख्तियारले उजुरीकर्तालाई निरुत्साहित नगर्ने खतिवडाले कताए ।

अख्तियार कञ्चनपुरका प्रमुख खतिवडाले बेनामी उजुरीकर्तालाई देउताको संज्ञा दिँदा दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले अख्तियारका अधिकारीहरुप्रति व्यंग्य प्रहार गरिन् । उनले भनिन्, ‘हुँदै नभएको विषयमा ठूलै भ्रष्टाचार भएको भन्दै बेनामी उजुरी गरेर अनावश्यक दुःख दिनेलाई म त देउता मान्न सक्दैन ।’

मलासीको यो जवाफमा हल एक पटक फेरि हाँसोले गुन्जियो । मलासीले बेनामी उजुरीकर्ताकै कारण स्थानीय तहहरुलाई काम गर्न गाह्रो भइरहेको गुनासो गरिन् । उनले भनिन्, ‘व्यक्तिगत स्वार्थ पूरा नभएपछि भ्रष्टाचार भएको भन्दै उजुरी गर्ने प्रवृत्ति बढेको छ । त्यसमा कुनै सत्यता हुँदैन ।’ उनले उजुरी झुट्टा ठहरे उजुरीकर्तालाई पनि कारवाही हुने व्यवस्था गर्न अख्तियारलाई सुझाव दिइन् ।

आफू भ्रष्टाचार नगर्ने र कर्मचारीहरुलाई पनि भ्रष्टाचार गर्न नदिने बताउँदै मेयर मलासीले थपिन्, ‘कर्मचारीहरुले हामीलाई काम गर्न पनि सिकाइरहेका हुन्छन्, भ्रष्टाचार गर्न सिकाउने पनि उनीहरु नै हुन् ।’

जिल्ला समन्वय समिति प्रमुख भन्छन्- डोर हाजिरी हेर्दै नहेर्नुहोस्

अख्तियार कञ्चनपुर कार्यालय प्रमुख खतिवडाले सडक काट्दा डोजरको प्रयोग गर्ने र नक्कली डोर हाजिरी फाराम भरेर ल्याउने गरेको अनुसन्धानको क्रममा पाइएको सुनाए । खतिवडाको यो भनाइमा जिल्ला समन्वय समिति डोटीका प्रमुख रामबहादुर ऐरले भने, ‘तपाईंहरु डोर हाजिरी त हेर्दै नहेर्नुहोस् ।’ प्रमुख ऐरको उक्त भनाइ सुनेर हलमा सहभागीहरु फेरि अर्कोपटक हाँसे ।

उनले डोर हाजिरी भन्नेबित्तिकै नक्कली भएको दाबी गरे । ‘डोर हाजिरी भर्ने गरी कसैले मजदुरी गर्दैनन्, सबैले ठेक्कामै हुन् काम गर्ने,’ प्रमुख ऐरले भने, ‘डोर हाजिरी कसरी कसरी भरिन्छ भन्ने कुरा सबैलाई थाहा छ ।’ उनले उपभोक्ता समितिलाई काम दिएर भ्रष्टाचार बढाउनुभन्दा टेण्डर गर्ने बानीको विकास गर्नु उपयुक्त हुने सुझाव दिए । उनले कोटेशनबाट सोझै १० प्रतिशत रकम आउने गरेको बताए ।

९० प्रतिशत भ्रष्टाचारी

अख्तियारको कञ्चनपुर कार्यालय प्रमुख खतिवडाले अख्तियार प्राप्त व्यक्तिहरुमध्ये ९० प्रतिशत भ्रष्ट रहेको दाबी गरे । ‘शत प्रतिशत त म भन्दिनँ, तर ९० प्रतिशत त भ्रष्ट छन्,’ खतिवडाले भने, ‘काम गर्ने क्रममा त्रुटी हुन्छन्, तर त्यो त्रुटी बदनियतपूर्ण हो कि होइन भन्ने विषय अख्तियारले हेर्छ ।’

उनले सबै नागरिकलाई अख्तियार बनाउन चाहेको पनि बताए । ‘आफ्नो टोलमा अनियमित काम भइरहने तर नागरिकहरु टुलुटुलु हेरेर बस्ने गरेका कारण भ्रष्टाचार वढेको हो,’ खतिवडाले भने, ‘अब सबै नागरिकहरुले खबरदारी गर्नु जरुरी छ ।’ उनले अख्तियारले प्रवद्र्धनात्मक, निरोधात्मक र दण्डात्मक गरी तीन क्षेत्रमा काम गरिरहेको जानकारी दिए ।

कार्यक्रममा डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले अख्तियारकै कर्मचारीहरुको पनि नियत सफा हुनु पर्ने बताए । उनले भने, ‘हुन त सबै कर्मचारीहरुको नैतिक आचरण सफा हुनुपर्छ नै, त्यसैमा अख्तियार जस्तो संस्थाको कार्यालयमा काम गर्ने कर्मचारीहरुको उच्च नैतिक आचरण हुनु जरुरी छ ।’

सात महिनामा ६५८ उजुरी

आयोगको कञ्चनपुर कार्यालयमा चालु आर्थिक बर्षको सात महिनामा ६ सय ५८ उजुरी परेका छन् । कार्यालयका अधिकृत अमर ओलीले कार्यालयको तथ्यांक प्रस्तुत गर्दै माघ मसान्तसम्म आएका ६ सय ५८ उजुरीमध्ये पाँच सय नौ उजुरी फर्छ्यौट भइसकेको जानकारी दिए ।

०७० सालमा अख्तियारको कार्यालय स्थापना भएदेखि हालसम्म पाँच हजार चार सय ५७ उजुरी परेका र सोमध्ये ४ हजार ६ सय ४१ उजुरी फर्छौट भइसकेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment