Comments Add Comment

विपन्न विद्यार्थी पढाइ छाड्छन्, सरकारी बजेट फ्रिज

१८ फागुन, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित अखबारहरूले विविध विषय उठाएका छन् । कुनैको नजर विपन्न विद्यार्थीका लागि छुट्याइएको बजेट कार्यान्वयनमाथि परेको छ भने केहीले वायुको गुणस्तरबारे समाचार बनाएका छन् । त्यसो त नेकपासँगै कांग्रेसभित्रको कचिंगलबारे पनि पत्रपत्रिकाहरूले ‘कभरेज’ गरेका छन् । अमेरिका र तालिवानबीच भएको ऐतिहासिक सम्झौताले पनि आजका अधिकांश पत्रपत्रिकाको पहिलो पृष्ठमा स्थान पाएका छन् ।

विपन्न विद्यार्थीका लागि छुट्याइएको छात्रवृत्तिबारे नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ । समाचार अनुसार विपन्न विद्यार्थीका निम्ति एक अर्ब छात्रवृत्ति छुट्याए पनि १७ करोड मात्रै वितरण भएको छ । माध्यमिक तहका ५३ हजार विपन्न विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरिएकोमा १२ हजारलाई मात्र वितरण गरिएको हो ।

‘विपन्न विद्यार्थीलाई छात्रवृत्ति दिन विनियोजित बजेट सरकारी खातामै सीमित हुने गरेको छ । पहुँच नभएका विद्यार्थी झन्झटिलो प्रक्रिया पार गर्न र छात्रवृत्ति प्राप्त गर्न असफल भएका छन्,’ नयाँ पत्रिकाले लेखेको छ ।

अन्नपूर्णले नेकपा विवादबारे मुख्य समाचार बनाएको छ । जारी विवाद अन्त्यका लागि नेकपाका नेताहरूबीच भेटघाट तीव्र भए पनि नतिजा शून्य भएको अन्नपूर्ण समाचारको सार छ ।

विभाग गठनपछि कांग्रेसमा चुलिएको असन्तुष्टिबारे पनि अन्नपूर्णले समाचार बनाएको छ ।

वायुको गुणस्तर सुधारिएको खबर कान्तिपुरमा छ । अघिल्लो वर्षको तुलनामा काठमाडौं उपत्यकाको वायु प्रदूषणमा सुधार भएको हो ।

कान्तिपुर लेख्छ– काठमाडौंको वायुको गुणस्तरमा पोहोरका तुलनामा यो वर्ष सुधार आएको छ । अघिल्लो वर्ष आँखाले देख्न नसकिने धूलोको कण (पीएम २.५) को मात्र प्रतिघनमिटर हावामा सरदर ५४.४ माइक्रोग्राम रहेकामा अहिले ४४.५ माइक्रोग्राममा झरेको छ ।

यसबाहेक खाडीमा बढ्दो कोरोना संक्रमण र कांग्रेसभित्रको किचलोलगायतका खबर पनि कान्तिपुरमा छापिएको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment