Comments Add Comment

क्यान्सर पीडितमा डिप्रेसन र आत्महत्याको समस्या

नेपालमा विश्व स्वास्थ्य संगठनको सन् २०१४ को अध्ययन अनुसार वर्षेनी १४ हजार ३ सय मानिसले क्यान्सरको कारण ज्यान गुमाउने गरेका छन् । त्यसको दुई वर्षपछिको अर्काे प्रतिवेदन अनुसार हरेक वर्ष ३० हजारको संख्यामा क्यान्सरका बिरामीहरु वार्षिक थपिने गर्छन् । त्यसभित्र पनि मनोवैज्ञानिक समस्याका कारण आत्महत्याकोबाटो अपनाउनेहरुको संख्या समेत अत्यधिक रहेको सरोकारवाला निकायका अधिकारीहरु बताउँछन् ।

क्यान्सर केयर सोसाइटीकी महासचिव डा. सरिता घिमिरे नेपालमा क्यान्सर रोगीहरुको मानसिक अवस्था र उनीहरुको आत्महत्याको दर बारे व्यवस्थित रुपमा अध्ययन नभएको बताउँछिन् । तर, यो अवस्थालाई नियाल्दा यसको संख्या पनि डरलाग्दो मात्रामा रहेको उनको बुझाई छ ।

क्यान्सर लागेकाहरुलाई धेरैले एक पक्षीय कोणबाट विश्लेषण गर्ने गर्छन् । तर, उनीहरुको मानसिक अवस्थाको बारेमा भने चर्चा गर्ने गरेका छैनन् । विश्वभर यस्तो समस्या रहेको विभिन्न अध्ययनले देखाएको छ । उनीहरुको मानसिक समस्याको बारेमा गरिएका अध्ययनहरुले यसको भयावह अवस्थालाई देखाएको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सन् २०१८ मा मात्रै क्यान्सर रोगबाट ९० लाखभन्दा धेरैको ज्यान गएको उल्लेख गरेको छ । तर, यसमध्ये पनि २० प्रतिशत रोगीहरु मानसिक समस्याका कारण आत्महत्याको बाटो समेत रोज्ने गरेको समेत उल्लेख गरिएको छ ।

क्यान्सरलाई निको नहुने रोगको रुपमा व्याख्या गर्ने परिपाटीका कारण पनि धेरै रोगीहरु मानसिक समस्याबाट गुज्रिने गरेको बताउँछन् । यो समस्या केवल नेपालमा मात्रै नभएर विकसित देशहरुमा समेत देखिएको छ । बेलायतमा २०१९ मा गरिएको अर्काे अध्ययनले कुल क्यान्सरका रोगीहरु मध्ये विश्वभरीको जस्तै २० प्रतिशतमा डिप्रेसनको समस्या देखिएको थियो । त्यस्तै, १० प्रतिशतलाई चिन्ताले घेर्ने गरेको पाइएको छ ।

नेपालमा यी दुई पक्षलाई जोडेर कुनैपनि अध्ययन भएको नपाएपनि क्यान्सर र मानसिक समस्या एकअर्कामा अन्तर्सम्बन्धित रहेको जानकारहरु बताउँछन् । नेपाल क्यान्सर हस्पिटल एवं रिसर्च सेन्टरका चिकित्सक डा. सुदिप श्रेष्ठले क्यान्सर रोगीहरुको लागि मनोवैज्ञानिक परामर्श अनिवार्य रहेको भएपनि नेपालमा यसतर्फ सरोकारवालाहरुको धेरै चासो नभएको गुनासो गर्छन् ।

हरेक अस्पतालमा ‘साइको अंकोलोजी डिभिजन’ अति आवश्यक रहेको भन्दै उनले आफ्नो अस्पतालमा आएका बिरामीहरुको आधारमा विश्लेषण गर्दा ६० प्रतिशतभन्दा धेरै बिरामीहरुलाई मनोवैज्ञानिक परामर्श अनिवार्य रहेको पाइएको उल्लेख गर्छन् । यस बारेमा विश्वमा धेरै अध्ययनहरु भएका छन् । ती अध्ययनहरुले यी दुबै किसिमका क्यान्सरका बिरामीहरुलाई तत्कालै मनोवैज्ञानिक परामर्श नदिँदा गम्भीर समस्याहरु निम्तिने गरेको औल्याएको छ ।

क्यान्सर रोगीहरुको उपचार एवं उनीहरुको हेरचाह सम्बन्धी काम गर्ने क्यान्सर केयर फाउण्डेसनकी महासचिव डा. सरिता घिमिरे नेपालमा क्यान्सर रोगीहरुलाई मानसिक परामर्श दिने काम एकदमै कम मात्रामा हुने गरेको बताउँछिन् । क्यान्सर रोगीहरुको मूल समस्या क्यान्सर भन्दा पनि मानसिक समस्यामा धेरै फस्ने गरेको भएपनि यसतर्फ खासै ध्यान नजाने गरेको बताउँछिन् ।

‘धेरैमा क्यान्सर लागेपछि मरिन्छ भन्ने भान हुन्छ । यो नै मानसिक समस्याको पहिलो चरण हो । पहिले जस्तो क्यान्सरको मृत्युदर अहिले एकदमै कम भएको भएपनि परामर्शको कम हुँदा मैले नै हेरचाह गरिरहेका बिरामीहरु समेत धेरै मात्रामा सुसाइड गरिरहेका हुन्छन् । डिप्रेसनमा गएकाहरु डायग्नोसिसमा गएर फर्किएपछि धेरै आत्महत्याको बाटो अपनाउने गर्छन् । त्यो नै हामीहरुको कमजोरी हो ।

के हो मूल समस्या ?

हामीहरु क्यान्सर यो लागेपछि निको नहुने रोग हो भनेर यसलाई हाउगुजीको रुपमा लिने गर्छौं । हामीहरु धेरै क्यान्सरबाट बच्नको लागि वा लागिसकेपछि यसको न्यूनिकरणको उपायबारे सोच्न तर्फ लाग्छौं । तर, यसलाई सहज रुपमा कसरी परिवर्तन गर्न सकिन्छ ? भन्ने बारेमा भने सोच्ने गर्दैनौं ।

क्यानेडियन क्यान्सर सोसाईटीको अध्ययनले पनि क्यान्सर लागेका मानिसहरुमा मानसिक समस्या अत्यधिक धेरै हुने भन्दै यसको लागि काउन्सिलिङ अनिवार्य गरिनुपर्ने उल्लेख गरेको छ । सोसाईटीले विभिन्न व्यक्तिमा गरेको परीक्षणबाट यो पुष्टि भएको छ कि कुनै एक व्यक्तिको मानसिक स्वास्थ्यलाई क्यान्सरको उपचार पद्धतिले पनि असर गरिरहेको हुन्छ ।

मानसिक समस्यालाई नियन्त्रण गर्नको लागि मनोवैज्ञानिक परामर्श सेवा एकदमै कम मानिसमा मात्रै लागु भएको देखाएको छ । सो अध्ययनको क्रममा क्यान्सर लागेकाहरु मध्ये मनोवैज्ञानिकको परामर्शमा रहेकाहरुको तुलनामा अरुमा मानसिक समस्या धेरै भएको पाइएको छ । सोही अध्ययनको क्रममा काउन्सिलिङको लागि राखिएकी मनोवैज्ञानिक एमी विल्सन भन्छिन् ‘क्यान्सरले मानसिक स्वास्थ्यलाई खराब गराउने गर्छ ।

मेरो अध्ययन अनुसार क्यान्सरको समयमा मानसिक स्वास्थ्यको बारेमा ध्यान नदिँदा एक बिरामीले मेरै अघि आफ्नो मानसिक सन्तुलन गुमाउनु पर्‍यो ।’ उनले भनिन् ‘यो शोकले मानिसमा क्रोध, उदासीनता, चिन्ता र डर जस्ता भावनाहरुको विकास गराउने गर्छ । जसको परिणाम आत्महत्यासम्म पनि जानसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment