भनिन्छ, चिकित्सक र वकिलसँग कहिलै पनि झुट बोल्नु हुँदैन । चिकित्सकसँग झुट बोल्दा आफ्नो स्वास्थ्य धरापमा पर्छ भने वकिलसँग झुट बोल्दा मुद्दा । तर, यो उक्तिको पालना गर्ने कति होलान् ? जसले आफ्नो कमजोरीको वास्ता नगरी चिकित्सकको अघि सत्यवादी बनेर प्रस्तुत होस् ।
आफूले गरेका विभिन्न गल्तीहरुलाई छोप्नको लागि अधिकांश बिरामीहरुले कुनै न कुनै किसिमले झुट बोल्ने गरेको चिकित्सकहरु बताउँछन् । विशेषगरी आफ्नो स्वास्थ्यसँग जोडिएको विषयमा समेत बिरामीहरुले चिकित्सकलाई सही कुरा सुनाउँदैनन् । यसमा फरक फरक कारणहरु रहेको चिकित्सकहरु बताउँछन् । यो झुट बोल्नेहरु उमेर समूह अनुसार पनि फरक फरक हुने गर्छन् ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की बिरामीहरु अस्पताल आउँदाको तत्कालीन अवस्थालाई हेरेर परिवारबाट बच्नकै लागि झुट बोल्ने गरेको सुनाउँछन् । उनीहरुले चिकित्सकसँग आफ्नो समस्या लुकाउनको लागि भन्दा पनि धेरै परिवारलाई आफ्नो यथार्थ नबताउनको झुट बोल्ने गरेको कार्की बताउँछन् ।
कार्कीको अनुभव अनुसार मुख्यतथा बिरामीहरु मूलत: दुई कारणले चिकित्सकसँग झुट बोल्छन् । एकाथरी मानिसहरु आफ्नो व्यक्तिगत विषयको बारेमा चिकित्सक र परिवारलाई कुरा सुनाउन नचाहेर कुरा लुकाउने गर्छन् । अर्काथरी बिरामीहरु भने चिकित्सकहरुलाई नराम्रो बनाउनको लागि समेत झुट बोल्ने गर्छन् ।
पहिलो कोटीमा पर्ने बिरामीहरु परिवारका सदस्यहरुसँग आएको बेलामा मात्रै धेरै झुट बोल्छन् । उनीहरु आफ्नो लतको बारेमा परिवारका सदस्यको अगाडि कुरा गर्न नसकेर झुट बोल्ने गर्छन् ।
‘कोही श्रीमतीसँग आएका हुन्छन्, श्रीमान्लाई मात्रै बोलाएर श्रीमतीलाई बाहिर राख्न पनि भएन । श्रीमतीसँग आएकाहरुले प्राय: आफ्नो मदिरा या चुरोटको लतको बारेमा बताउने गर्दैनन् ।’ कार्की भन्छन् ‘धेरै युवाहरुले आफ्ना परिवारलाई ड्रक्स आदि लतको बारेमा जानकारी नहोस् भन्नको लागि पनि चिकित्सकहरुसँग नै झूट बोल्ने गर्छन् ।’
अर्कोतर्फ कतिपयले आफ्नो यौन इतिहासको बारेमा पनि चिकित्सकहरुसँग झुट बोल्ने गरेका हुन्छन् । महिलाहरुले पहिले नै आफ्नो गर्भ बसेको कुरा बताउँदा समाजमा समस्या हुने सोचेर पनि चिकित्सकसँग यथार्थ बताउँदैनन् । कार्कीका अनुसार केटाहरु यौन इतिहासको बारेमा धेरै खुल्छन् । त्यसको तुलनामा महिलाहरु प्राय: यस्तोमा खुल्दैनन् ।
दोस्रो कोटीमा पर्ने बिरामीहरुले चिकित्सकलाई दोष लगाउनको लागि पनि झुट बोल्ने आरोप लगाउँछन् कार्की । विविध कारणले अस्पताल आएका बिरामीहरुले ‘हिजोसम्म केही पनि भएको थिएन’ भनेर धेरै झुट बोल्ने गरेको उनी अनुभव सुनाउँछन् ।
कार्की भन्छन् ‘अघिल्लो दिन केही पनि नभएको बिरामीलाई दम खोकी जस्तो विषयमा भोलिपल्ट सिधै आकस्मिक सेवामा लैजानु पर्ने कसरी हुन्छ ? केही बिरामीहरु पछि केही तलमाथि भयो भने चिकित्सकलाई फसाउन वा आफू दोषमुक्त बन्नको लागि पनि चिकित्सकहरुसँग धेरैले झुट बोल्ने गर्छन् ।’
औषधि नखान झुट बोल्नेहरु
कोही यस्ता पनि हुन्छन्, जो औषधि नखानको लागि नै चिकित्सकहरुसँग झुट बोल्छन् । उच्च रक्तचाप लगायत कतिपय रोग लागेका बिरामीहरु औषधि नखानकै लागि समेत झुट बोल्ने गरेको चिकित्सकहरुको गुनासो छ ।
यस्ता औषधिहरु नियमित नखाने बिरामीहरु थप समस्या भएपछि आफूले नियमित औषधि सेवन गरेको भएपनि रोग निको नभएको गुनासो गर्छन् ।
चिकित्सकहरुका अनुसार सुरुमा नियमित खाएको कुरा गर्नेहरु बिस्तारै केही दिन छाडेको जस्ता कुरा गरेर आफ्नो झुट आफैं स्वीकार्ने गर्छन् ।
अन्तर्राष्ट्रिय अध्ययन भन्छ : चिकित्सकसँग धेरै झुट बोल्छन् बिरामी
संयुक्त राज्य अमेरिकाको जीवन बीमा कम्पनी ‘टर्मलाइफ २ गो’ द्वारा गरिएको सर्वेक्षणमा धेरैले चिकित्सकहरुसँग झुट बोल्ने गरेको भेटिएको थियो । यो अमेरिकन र गैर अमेरिकन गरी कुल ५०० जना बिरामीहरुलाई यो अध्ययनमा सहभागी गराइएको थियो ।
सो सर्वेक्षणले यो पनि पत्ता लगाएको छ कि २३ प्रतिशतले आफ्ना डाक्टरसँग झूट बोल्ने गरेका छन् । मानिसहरुले धेरै लोकप्रिय विषयहरूमा चिकित्सकहरुसँग आफ्नो बानी लुकाउने गर्छन् ।
सर्वेक्षणका अनुसार धुम्रपानको बानीको बारे (४६ प्रतिशत), व्यायामको बारेमा (४३ प्रतिशत), मदिरा पिउने बानीको बारेमा (३८ प्रतिशत) र यौन सम्बन्धको बारेमा (२६ प्रतिशत) बिरामीहरुले चिकित्सकसँग झुट बोल्ने गरेको सो अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सो अध्ययनले एउटा अनौंठो नतिजा पनि सार्वजनिक गरेको छ । जसमा ५० प्रतिशत बिरामीहरु अल्कोहल पिउने आफ्नो बानीको बारेमा झुटो बोल्ने गर्छन् ।
झूट बोल्नेहरु मध्ये ५० प्रतिशत पुरुषहरुले आफ्नो मदिरा पिउने बानीको बारेमा झुट बोल्छन् भने ३२ प्रतिशत महिलाहरुले आफ्नो यौन इतिहासको बारेमा झुट बोल्ने गरेका छन् ।
यौन जीवनको विषयमा पुरुषहरुलेभन्दा महिलाहरुले धेरै झुट बोल्छन् । ३३ प्रतिशत महिलाहरुले यौन बिगतको विषयमा झुट बोल्ने गरेका छन्।
चिकित्सकहरुसँग उमेर अनुसार फरक फरक मानिसहरुले आफ्नै किसिमले झुट बोल्ने गर्छन् । जसमध्ये ३५ वर्षभन्दामाथिका बिरामीहरुले आफ्नो व्यायामको बारेमा झुट बोल्छन् भने २५ वर्षभन्दा कम उमेरका बिरामीहरुले धुम्रपान गर्ने आफ्नो बानीको बारेमा झुट बोल्ने गरेका छन् ।
झुट बोल्ने पनि आ–आफ्नै भिन्दाभिन्दै कारणहरु रहेको चिकित्सकहरु बताउँछन् । माथि उल्लेख गरिएको उत्तरदाताहरुले झुट बोल्ने धेरै कारणहरु छन् ।
म्यासाचुसेट्स एम्हर्स्ट विश्वविद्यालयका सहायक प्राध्यापक डेभन ग्रेसनले भने, ”डाक्टरहरुले सत्य लुकाउन सक्ने थुप्रै कारणहरूबारे बताएका छन् । उनीहरुमध्ये अरुको भेदभावबाट जोगिनको लागि एक प्रतिशतले चिकित्सकहरुसँग झुट बोल्ने गरेको बताए । कतिपयले आफ्नो परिवारमा रहेको छविबाट जोगिनको लागि पनि चिकित्सकसँग झुट बोल्ने गर्छन् ।’’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4