Comments Add Comment

राप्रपा महाधिवेशनमा ४५ सय प्रतिनिधि सहभागी हुने

१९ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा चार हजार पाँच सय प्रतिनिधि सहभागी हुने भएका छन् । राप्रपाको संशोधित विधान अनुसार यसपटकको महाधिवेशन सकृय सदस्यताको आधारमा हुनेछ ।

तोकिएको न्युनतम सकृय सदस्यता नबनेका गाउँ, नगर, क्षेत्र र जिल्लाबाट महाधिवेशन प्रतिनिधि बन्न नसक्ने प्रावधान राखिएको छ । गाउँपालिका, नगर, उपमहानगर, महानगर, प्रदेश, संघ र जिल्ला अध्यक्ष महाधिवेशनमा स्वतः प्रतिनिधि हुनेछन् भने प्रत्येक प्रदेश क्षेत्र निर्वाचन समितिबाट ८ जनाको दरले महाधिवेशन प्रतिनिधि हुनेछन् ।

८ जनामा अनिवार्य २ महिला, १ उत्पीडित, २ जना आदिवासी जनजाति, पिछडिएको क्षेत्र, अल्पसंख्यक, थारु, मधेसीबाट र ३ जना अन्यबाट गरी प्रतिनिधित्व रहने छ। महाधिवेशनमा प्रवासबाट सहभागी हुनेसमेत जोड्दा ४ हजार ५ सय प्रतिनिधिको सहभागीता रहने राप्रपाका नेता राजाराम बर्तौलाले जानकारी दिए ।

राप्रपाले केन्द्रीय महाधिवेशन २०७७ जेठ २५ गते काठमाडौंमा गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

महाधिवेशनको पूर्वतयारीस्वरुप केन्द्रीय सचिवालय, निर्वाचन समिति, संगठन, आर्थिक र सूचना–प्रविधि विभागको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष कमल थापाले चुस्त, व्यवस्थित र प्रभावकारी महाधिवेशनको तयारीमा जुट्न निर्देशन दिएका छन् ।

थापाले समय सीमाभित्र तोकिएको कार्य सम्पन्न गर्न, नियमित अनुगमन गर्न तथा तल्लो तहको अनुशिक्षण बैठक र सकृय सदस्यता अभियानलाई प्रभावकारी बनाउन पनि निर्देशन दिएका छन् ।

बैठकमा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, निर्वाचन समितिका अध्यक्ष तोरण बहादुर गुरुङ, संगठन विभाग प्रमुख राजेन्द्र लिङ्देन, सचिवालय प्रमुख भाष्कर भद्रा, सूचना–प्रविधि विभाग प्रमुख राजाराम बर्तौलालगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment