Comments Add Comment

आठ महिना अस्पतालमा बन्धक युवकको चन्दा उठाएर उद्दार

१९ फागुन, विराटनगर । उपचार खर्च तिर्न नसक्दा ८ महिना विराट नर्सिङहोममा बन्धक बनाइएका युवकको उद्दार भएको छ । चन्दा संकलन गरेर संखुवासभा खादबारी नगरपालिका– १० का २० वर्षका जीवन भुजेलको उद्दार भएको हो ।

भोजपुरको षडानन्द नगरपालिका–१ मझुवावेंसीमा ५ असारमा सामान्य विवादमा रड प्रहार भएपछि उनी विराटनगरको विराट नर्सिङहोममा उपचारका लागि भर्ना भएका थिए । करिब एक महिनामा निको भएका उनी उपचार खर्च तिर्न नसक्दा आठ महिनासम्म अस्पतालमै बन्धक बनाइएका हुन् ।

उनको उद्दारका लागि सांसद पदमकुमारी गुरुङको समन्वयमा धरान–संखुवासभा सरोकार समाजले अभियान सुरु गरेको थियो । चन्दा संकलन गरेर सोमबार अस्पताललाई बुझाएपछि जीवन आठ महिना पछि सोमबार अस्पतालबाट विदा भए । पछिल्लो ६ महिनायता उनी अस्पतालको सर्जिकल वार्डमा बन्दीसरह बसेका थिए ।

भुजेलको उपचारमा ७ लाख ९७ हजार रुपैयाँ खर्च लागेको अस्पताललले जनाएको छ । अस्पताललाई पाँच लाख रुपैयाँ बुझाएको र बाँकी छुट गरेको धरान–संखुवासभा समाजका अध्यक्ष मिङ्मा भोटेले बताए । उद्दारका क्रममा औषधि र क्यान्टिनको एक लाख ७२ हजार रुपयाँ पनि भुक्तानी गरिएको उनले बताए ।

जीवनको उपचारका लागि संखुवासभाका संघीय सांसद राजेन्द्र गौतमको पहलमा गृह मन्त्रालयले पाँच लाख रुपैयाँ उपलब्ध गराएको थियो । खाँदबारी नगरपालिकाले एक लाख उपलब्ध गराएको थियो । अस्ट्रेलिया बस्दै आएकी सविना थापाले एक लाख, हङ्कङबाट धर्म राईको नेतृत्वमा दुई लाख ९३ हजार तीन सय ६० रुपैयाँ र सरोकार समाजले २४ हजार एक सय ८० रुपैयाँ संकलन गरेको थियो ।

अस्पतालको खर्च तिरेर बचेको रकमले जीवनको थप उपचारमा खर्च गरिनेछ । जीवनको घाँटीको शल्यक्रिया गर्नुपर्ने छ । उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको अध्यक्ष भोटेले बताए ।

भोजपुर षडानन्द गाउँपालिकाको मझुवाबेसीमा इखुवा खोला हाइड्रोपावरमा काम गर्ने क्रममा साथीहरुले झगडा गरेपछि जीवनले छुट्याउन खोजेका थिए ।

झगडा छुट्याउन खोज्दा उनीमाथि रड प्रहार भएको थियो । गम्भीर घाइते भएका जीवनलाई बुबाले विराटनगर ल्याएका थिए । तर उपचार खर्च जुटाउन नसक्दा बुबा पनि सम्पर्कविहीन भएका थिए ।

घाँटीमा गहिरो चोट लागेका कारण उनी बोल्न सक्दैनन् । सास फेर्नका लागि घाँटीबाट पाइप हालिएको छ । कसैले प्रश्न गरे हातको इसारा र लेखेर जवाफ दिन्छन् ।

विराट नर्सिङहोमका प्रशासन प्रमुख पदम बिडारीले आफन्त नआएका कारण जीवनलाई डिस्चार्ज गर्न नसकिए पनि सोमबार आएपछि डिस्चार्ज गरिएको बताए ।

दुःख साट्न पनि पाएनन् 

संखुवासभाको खादबारी नगरपालिका– १० घर भएका जीवन मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका थिए ।

गत कात्तिकमा उनको २६ वर्षका दाजु नबिनले आत्महत्या गरे । आमाको मृत्यु भएको पनि भदौं १४ गते वर्ष दिन पुगेको थियो । तर उपचार खर्च तिर्न नसक्दा यी दुई दुखको घटनामा पनि जीवन अस्पतालमै बन्धक बनाइए ।

गत असार ५ गते जीवनमाथि सांघातिक आक्रमण गर्ने चारजनालाई भोजपुरमा प्रहरीले पक्राउ गरेको थियो । अभद्र व्यवहारको मुद्दा लगाइएका उनीहरु ३० असारमा नै धरौटीमा छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment