Comments Add Comment

भिटेनको याद दिलाउने विश्वविद्यालय- यस्तै त हो नि ब्रो !

‘नाममै के छ र ?’ नभन्ने हो भने विद्यालय र विश्वविद्यालयमा केही त फरक हुनुपर्ने हो । विद्यालयमा छउञ्जेल, प्रयोगात्मक शिक्षाका नाममा गुरुहरुको छडीले पार्न सक्ने डामबाहेक अन्य केही कुरा याद छैन ।

आजभोलिका एकाध विद्यालयको अवस्थालाई छाडिदिने हो भने अन्य सरकारी वा निजी दुवै विद्यालयको हालत उस्तै छ ।

सकारात्मक तवरले सोच्ने हो भने केवल शैक्षिक प्रमाणपत्रका लागि अब देशको केन्द्रीय राजधानी नै धाउनुपर्ने बाध्यता छैन । पछिल्ला चरणमा खुलेका विश्वविद्यालयहरुले स्थानीयस्तरमै भर्ना हुने अवसर र रोजगारीका यथेष्ट ढोकाहरु खोलिदिएका छन्, यी भए तत्कालका फाइदा ।

अब दीर्घकालीनरुपमा सोचौँ त, के त्रिभुवन विश्वविद्यालयले प्रमाणपत्र बाँड्न महिनांै लगाएकाले यो कार्य द्रुतगतिमा होस् भनेर देशव्यापी विश्वविद्यालय खुलेका हुन् त ?

जुन विधामा विद्यार्थीहरु भर्ना भएका छन्, तोकेको समयसीमा सकिएर शैक्षिक उपाधि हात लागेपछि हाम्रो जनशक्ति सो विधामा निपूण छन् त ? खै शिक्षण संस्थाको गुणस्तर मापन गर्ने संयन्त्र ? के देशको आवश्यकता र शिक्षण संस्थाको उत्पादित जनशक्तिवीच तारतम्य मिलेको छ त ? नभए यस्तो गरीब राज्यको ढुकुटीको सत्यानास किन ?
लगभग देशभरिका विश्वविद्यालयको हालत जर्जर छ । पदाधिकारीविहीन छन् । पदाधिकारी नियुक्तिमा भागबन्डा मिलिसकेको छैन ।

हो, भागबन्डा । कुनै ‘गधा’ को भाग्य दरो र खल्ती भरिलो भयो भने उसैलाई विश्वविद्यालयको पदाधिकारी मान्न नहिच्किचाए हुन्छ । ज्ञानको प्रतिस्पर्धा हुनुपर्ने स्थान हाँक्न बल र धनयुक्त सामर्थ्यको जुधाइ हुन्छ । कुनै त्यस्तो दरिलो पद्दति वा संयन्त्र छैन, जसले विश्वविद्यालयको उपकुलपति वा पदाधिकारी को हुने हो भन्ने अनुमान लगाउन सकोस् । यद्यपि राज्य सञ्चालकको दृष्टिमा देश ठीकठाकै चलेकै देखिन्छ, समृद्धिको यात्रामा ।

विश्वविद्यालयहरु समाज अनि राज्य रुपान्तरणका नायक हुनुपर्ने हो । राज्यले नीति-नियम वा कार्यक्रम बनाउनुअघि ठीक वा दुरुस्त छ र ? छैन । विश्वविद्यालयलाई राय वा परीक्षणका निम्ति अनुरोध गर्नुपर्ने हो । तर, यस कार्यका निम्ति राज्यले विश्वविद्यालयलाई चिन्दैन । न त विश्वविद्यालयले नै आˆनो दरिलो उपस्थिति देखाउन सकेको छ ।

विकसित देशहरु यत्तिकै हावादारी गफ गरेकै भरमा यति सम्पन्न र शक्तिशाली भएका होइनन् । पहिले यी संस्था दरो बनाउन राज्यको लगानी, समर्पण र खबरदारी रहृयो, पछि यिनै संस्था राज्य शक्तिशाली बनाउने माध्यम बने । राज्य सञ्चालक परिवर्तनशील हुन्छन् । यस्ता संस्था स्वचालित हुनुपर्ने हो । तर, यहाँँ त विश्वविद्यालय हाँक्नेहरु हरेक निर्णय गर्नुअघि कसैको खल्तीमा रहेको रिमोटको सिग्नल पर्खनुपर्ने बाध्यता छ ।

विश्वविद्यालयको योगदान राज्यमा कति हुन्छ भन्ने उदाहरण लिने हो भने अमेरिकास्थित न्युयोर्क स्टेट युनिभर्सिटीले न्युयोर्क राज्यको अर्थतन्त्रमा बाषिर्क करिब २७ बिलियन डलरको योगदान गर्दो रहेछ भने बार्षिक २ बिलियन डलरचाँहि केवल अनुसन्धानमै खर्च गर्दोरहेछ । हैसियतका हिसाबले हेर्ने हो भने अमेरिकाका लागि सो संस्था र हाम्रा लागि देशभित्रका कुनै विश्वविद्यालयको योगदान उस्तै हुनुपर्ने हो । हाम्रो अवस्था के छ, सबै जगजाहेरै छ ।

ज्ञानका विभिन्न आयामको अध्ययन, अध्यापन तथा अनुसन्धानद्वारा गुणात्मक र स्तरयुक्त उच्च शिक्षाको अवसर दुर्गम् क्षेत्रसम्म पुगोस् भन्ने हेतुले नेपाल सरकारको लगानीमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ द्वारा स्थापित संस्था हो- मध्यपश्चिमाञ्चल विश्वविद्यालय ।

राज्यद्वारा उपेक्षित कहलिएको कर्णाली प्रदेशको राजाधानीमा अवस्थित यो विश्वविद्यालय आफैंमा उपेक्षितजस्तो देखिन्छ । प्रस्तावना कुनै पनि कानुनी दस्तावेजको मर्म हुन्छ, यस विश्वविद्यालय ऐनको प्रस्तावनामा भनिएको छ- शैक्षिक तथा प्राज्ञिक वातावरणलाई अझ बढी स्वच्छ, मर्यादित र उपलव्धिमूलक बनाउन यस संस्थाको स्थापना गरिएको हो । तर, भित्रको अवस्था भने भिटेनको याद आउनेखालको छ- हामी यस्तै त हो नि ब्रो !

विगत केही समयदेखि यस विश्वविद्यालयको बेथिती चरम छ । यसले चलाएको कार्यक्रममा ऊ स्वयं अनभिज्ञ देखिन्छ । देशमा जलविद्युतको प्रचुर सम्भावना देखेर खुलेको हाइड्रोपावर संकायको भविष्य अन्योल छ । पहिलो ब्याच अब शैक्षिक उपाधि लिएर निस्किने बेलामा कुन विधाको प्रमाणपत्र हात लाग्ने हो, टुंगो छैन । विश्वविद्यालयको कुलपति बिरामी हुनुहुन्छ, उहाँभन्दा तलका पदाधिकारीका कुर्सी लामो समयदेखि रित्ता छन् । अन्य संकायका कर्मचारीले तलब खान पाएका छैनन् ।

इन्जिनियरिङ्ग संकायका विद्यार्थीहरुले कामचलाऊ कक्षा कोठामा सैद्धान्तिक ज्ञान रटाइमै डिग्री प्राप्त गर्ने अवस्था छ । प्रयोगात्मक कक्षा शून्यप्रायः छ । विद्यार्थीकै अवस्था यस्तो छ भने प्राध्यापकहरुको त झन् कुरै नगरौँ ।

यस संकायको परिक्षा पनि विवादित भैरहन्छ भने परीक्षाको विषयलाई लिएर प्रायः झ्यालका शिशाहरुले दुःख पाइरहनुपर्छ । अझ भनौँ पढाइ, परीक्षा अनि नतिजा तीनै पक्ष रुग्ण छन् । तर, एउटा सबल पक्ष पनि छ, त्यो हो राजनीति ।

सबैको जय होस ! श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

(पोखरेल मध्यपश्चिम विश्वविद्यालय, वीरेन्द्रनगरका उपप्राध्यापक हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment