Comments Add Comment

रामेछापका स्थानीय तहबीच अस्पताल खोल्ने होडबाजी

चिकित्सक माग भए पनि शून्य आवेदन

२० फागुन, रामेछाप । जिल्लाका स्थानीय तहहरू अस्पताल सञ्चालन गर्ने होडबाजी देखिएको छ । स्वास्थ्य संस्थाहरूको सीमितताबीच यहाँका स्थानीय तह चिकित्सक र शय्यासहितका अस्पताल सञ्चालनको गृहकार्यमा जुटेका हुन् ।

संघीय संरचनामा जानुपूर्व रामेछामको जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र मन्थली, प्राथमिक स्वास्थ्य केन्द्र गेलु र प्राथमिक स्वास्थ्य केन्द्र खिम्तीमा मात्र चिकित्सकको दरबन्दी थियो । यीमध्ये जिल्ला अस्पताल १५ र प्राथमिक स्वास्थ्य केन्द्रहरु ५ शय्याका छन् । जिल्ला अस्पताल रामेछाप नगरपालिकाभित्र अवस्थित छ । २ वटा प्राथमिक स्वास्थ्य केन्द्रमध्ये एक मन्थली नगरपालिका र अर्को लिखु तामाकोसी गाउँपालिकामा छ ।

जिल्लाका ८ वटा स्थानीय तहमध्ये ५ वटा गाउँपालिकाहरू चिकित्सविहीन छन् । यहीबीच गाउँमा नै चिकित्सकसहितको स्वास्थ्य सेवा सञ्चालन गर्ने योजनामा अहिले स्थानीय सरकार लागेका छन् । सोही अनुसार दोरम्बा गाउँपालिकाले दोरम्बा स्वास्थ्य चौकीले चिकित्सकसहितको स्वास्थ्य सेवा सुरु गरेको छ । सो स्वास्थ्य चौकीलाई अस्पातालको रूपमा अघि बढाउन लागिएको गाउँपालिकाका अध्यक्ष कमानसिंह मोक्तानले बताए ।

त्यसैगरी खाँडादेवी गाउँपालिकाले माकादुममा चिकित्सकसहितको अस्पताल सञ्चालन गर्न लागेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले बताए ।

खाँडादेवीका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश श्रेष्ठका अनुसार, साविकको गाविस भवनमा अस्पताल सञ्चालन गर्न लागिएको हो । अस्पतालको लागि भौतिक पूर्वाधार निर्माण गरी आवश्यक उपकरणसमेत ल्याइएको छ । चिकित्सक आवश्यकताको सूचना पनि जारी गरिएको छ । तर, एक जनाको पनि आवेदन नपरेको गाउँपालिकाले जनाएको छ । आवेदन नपरेपछि गाउँपालिकाले चिकित्सकको खोजी कार्य थालेको छ । ‘सबै तयारी भएको छ । डाक्टर आउनेबित्तिकै सेवा सञ्चालन हुन्छ,’ श्रेष्ठले भने ।

जिल्लाको गोकुलगंगा गाउँपालिकाले पनि ५ शय्याको अस्पताल निर्माण गर्ने भएको छ । च्वाइस नेपालसँगको सहकार्यमा गाउँपालिकाले अस्पताल भवन निर्माण गरेको गाउँपालिका अध्यक्ष खड्ग सुनुवारले बताए । अस्पताल भवन निर्माणको काम अन्तिम चरणमा पुगेको र भवन निर्माण सकिनेबित्तिकै सेवा सञ्चालन गर्ने सुनुवारले बताए ।

उता, सुनापति गाउँपालिकाले स्वास्थ्य चौकी बेथानलाई अस्पतालमा स्तरोन्नति गर्ने गरी काम गरी रहेको छ । सो अस्पताल १५ शय्याको हुने गाउँपालिका अध्यक्ष धावा लामाले बताए ।

उमाकुण्ड गाउँपालिकाले पनि अस्पताल सञ्चालन गर्ने योजना बनाएको छ । जिल्लाको सबैभन्दा दुर्गममा रहेको सो गाउँपालिकामा अस्पताल नहुँदा सामान्य उपचारको लागि पनि जिल्ला सदरमुकाम वा दोलखाको जिरी जानु पर्ने बाध्यता छ । गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले सर्वसाधारणको यही बाध्यतालाई दृष्टिगत गरेर अस्पताल सञ्चालनको गृहकार्य थालिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment