Comments Add Comment

‘सीता-राम’ लेखेकाे डण्डा बोकेर सिद्धबाबा कारागार प्रस्थान

ब्लक ‘ए’ मा सिद्धबाबा, ४० दिन उपचार गरेको दाबी

२० फागुन, विराटनगर । जिल्ला अदालत सुनसरीमा सुटुक्क आत्मसमर्पण गरेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी कारागार चलान भएका छन् । उच्च अदालत विराटनगरको आदेशपछि फरार भएका गिरी मंगलबार सुनसरी अदालतमा हाजिर भएका हुन् ।

हाजिर भएलगतै गिरीलाई उच्च अदालतको आदेश कार्यान्यनका लागि थुनुवा पूर्जी थमाएर क्षेत्रीय कारागार झुम्कामा पठाइएको जिल्ला अदालत सुनसरा निमित्त श्रेस्तेदार निधीराम दाहालले जानकारी दिए । उनका अनुसार गिरीले आफू भारतमा उपचारका लागि गएको र फर्कने क्रममा उच्च अदालतको आदेशको बारेमा जानकारी भएपछि अदालतमा हाजिर भएको निवेदनमा उल्लेख गरेका छन् ।

गिरीलाई कारागारको ब्लक ए मा राखिएको छ । कारागार चलान हुने क्रममा हिड्न नमानेका गिरीलाई गाडीमै ब्लक ए सम्म पुर्‍याइएको थियो ।

गत माघ ९ गते उच्च अदालत विराटनगरमा मुद्दाको सुनुवाई भइरहेका बेला गिरी अंगरक्षकलाई विराटनगरको सीमावर्ती क्षेत्र रानीमा छाडेर भारत पसेका थिए ।

उनी भारत भागेको करिब चार घण्टापछि उच्च अदालत विराटनगरले धरौटीमा पुर्पक्षका लागि छाड्ने जिल्ला अदालतको आदेश बदर गरी थुनामा राख्न आदेश दिएको थियो ।

गिरीमाथि कात्तिक ४ गते राति महिला अनुयायीलाई आफ्नै कोठासँगै रहेको बैठक कक्षमा बोलाएर करणी गरेको आरोप छ  । काठमाडौं बस्दै आएकी महिला अनुयायीले उजुरी गरेपछि गिरी मंसिर दोस्रो साता पक्राउ परेका थिए ।

पक्राउ पछि गिरीले प्रहरीको हिरासतमा बस्नुपर्ने समय अवधी विराट नर्सिङहोमबाट नै कटाए । पक्राउ पर्नुअघि नर्सिङहोम भर्ना भएका गिरी जिल्ला अदालत सुनसरीको आदेशको पुस १४ गतेको आदेशपछि तीन लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।

जिल्लाको आदेश बेरितको भएको दाबी गर्दै सरकारी वकिलको कार्यालय र साधारण तारेख माग्दै गिरी पनि उच्च अदालत विराटनगरमा पुगेका थिए ।

उच्च अदालतले जिल्लाको आदेश बदर गरे कै दिन विराटनगर रानी नाका हुँदै गिरी भारत प्रवेश गरेका थिए । भारत प्रवेश गरेको ४० दिनपछि गिरी अदालतमा उपस्थीत भएका थिए ।

प्रहरीले देखेन सिद्धबाबा !

प्रहरीले दिएको ग्रीन सिग्नल कै सदुपयोग गर्दै भारत प्रवेश गरेका गिरी मंगलबार अदालतमा हाजिर हुँदा प्रहरीले पत्तो समेत पाएन । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्मा सिद्धबाबा अदालतमा उपस्थित भएपछि प्रहरीले जानकारी पाएको बताउँछन् । ‘जोगवनी नाका हुँदै आएको हुनुपर्छ,’ उनले भने, ‘ हाम्रो काम पक्राउ गर्ने थियो, आफै हाजिर भएपछि पुर्पक्षका लागि कारागार लग्यौं ।’

तर गिरीले हाजिर हुने हल्ला सोमबार साँझबाट नै फैलिएको थियो । प्रहरी स्रोतका अनुसार उनी प्रहरीसँग सम्पर्कमै रहेका थिए ।

यता कारागार चलान हुनुअघि सिद्धबाबाले आफू भागेको नभई उपचारका लागि भारत गएको दाबी गरेका छन् ।

कारागार चलान हुनुअघि पत्रकारसँग संक्षिप्त कुरा गर्दै गिरीले पूर्पक्षमै बसेर न्यायका लागि लड्ने बताए । उनले आफू भागेको नभई उपचारका लागि भारत गएको र उपचार गरेर फर्किएपछि अदालतमा हाजिर भएको बताए ।

इन्डक्सन चुल्लो मागे 

सिद्धबाबाले आफू त्रिदण्ड धारी सन्यासी भएको बताउँदै आएका छन् । त्रिदण्ड धारण गरेका व्यक्तिले आगो, स्त्री र पैसाबाट अलग रहनुपर्ने धार्मिक बिश्वास छ । करणी गरेको आरोपमा पक्राउ परेका गिरीले कारागारमै बस्नका लागि इन्डक्सन चुल्हो माग गरेका छन् ।

प्रहरीको हिरासतमा बस्नु पर्ने समय अवधी अस्पतालमै कटाएका गिरीलाई अस्पताल राख्नु पर्ने अवस्था आए तीनजना चिकित्सकको सिफारिसमा राख्नु पर्ने उच्चले आदेश दिएको थियो ।

क्षेत्रीय कारगार झुम्काका निमित्त प्रमुख सूर्यमान बानियाँका अनुसार खाना पकाउनका लागि गिरीलाई इन्डक्सन चुल्हो माग गरिएको छ । गिरीले नभनेपनि उनका अनुयायीहरुले आगो प्रयोग नगर्ने भएकाले आफैं पकाउनका लागि चुल्हो माग गरेका हुन् ।

अन्य व्यक्ति भन्दा विशिष्ट भएका कारण उनलाई खाना पकाउनका लागि बेग्लै स्थान दिन सकिने बानियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment