Comments Add Comment

‘राष्ट्रियसभामा दोहोरी चलेन, विपक्षीलाई सम्झिइरहन्छु’

नयाँ सांसदहरुबाट विगतको निरन्तरता होस् : अध्यक्ष तिमल्सिना

२१ फागुन, काठमाडौं । माथ्लो सदन राष्ट्रिय सभाबाट मंगलबारदेखि १९ जना सांसद दुईवर्षे कार्यकाल सकेर बाहिरिएका छन् । त्यसको भोलिपल्टै नयाँबानेश्वरस्थित ल्होत्से हलमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले १८ जना सांसदलाई सपथ ग्रहण गराएर ब्याच लगाइदिएका छन् ।

बुधबार पद तथा गोपनीयताको सपथ ग्रहण १८ सांसदहरु माघ ९ गते सातै प्रदेशबाट निर्वाचित भएका हुन् । डा. युवराज खतिवडाको ठाउँमा भने राष्ट्रपतिले मनोनित गर्नुपर्ने एक सिट खाली भएको छ ।

कुल ५९ सदस्यीय राष्ट्रियसभा लगभग विपक्षीविहीन जस्तै बन्न पुगेको छ । नेपाली कांग्रेस संसदीय दलका नेता र सचेतकसमेत ६ जना बाहिरिएका छन् । एकजना कांग्रेस सांसदको यसवीचमा निधन भएको छ । अब राष्ट्रियसभामा कांग्रेसका आधा दर्जन सांसद मात्र बाँकी छन् ।

यो पनि पढ्नुहोस राष्ट्रियसभा सदस्यहरूको सपथमा जे देखियो

दुई वर्षसम्म राष्ट्रियसभामा विपक्षी सांसदहरुले खेलेको भूमिकालाई सम्झिइरहने अध्यक्ष गणेश तिमल्सिनाले बताए । राष्ट्रियसभाले दुई बर्ष पार गरेको सन्दर्भमा अध्यक्ष तिमल्सिनासँग अनलाइनखबरले गरेको कुराकानीको अंश –

राष्ट्रियसभाबाट एक तिहाई सांसदलाई विदा गर्नुभयो । कस्तो रह्यो त उहाँहरुको कार्यकाल ?

संसदमा सत्तापक्ष र प्रतिपक्षको कहिलेकाहीँ दोहोरी चल्ने हुन्छ । एउटाले एकथोक भन्यो, अर्कोले उठेर तुरुन्तै काउण्टर गर्ने । राष्ट्रियसभामा त्यस्तो दोहोरी चलेन ।

दुई वर्ष अत्यन्तै सौहार्दपूर्ण वातावरणमा बितायौं । संघीय लोकतान्त्रिक नेपालको संविधान जारी भएपछिको पहिलो संघीय संसदको राष्ट्रिय सभा हो यो । ५९ जना निर्वाचित भएर आयौं । तर, र गोलाप्रथाबाट कार्यकाल निर्धारण गर्‍यौं ।

त्यही आधारमा एक तिहाई सदस्य दुई बर्षमा विदा हुनुभयो । अर्को एक तिहाई अर्को दुई वर्षमा विदा हुनुहुनेछ र बाँकी एक तिहाईले मात्रै ६ बर्ष पूरा गर्न पाउनुहुनेछ ।

दुई बर्ष सिकाइ र अनुभव लिँदालिँदै उहाँहरु विदा हुनुभयो ।

विदा भएका तर, एकदमै सम्झिरहने सांसदहरु ….?

सम्झने कुराले कसै न कसैप्रति अन्याय हुन्छ । तर, कामको हिसावले कुरा गर्दा राष्ट्रिय सभामा प्रतिनिधि सभामाजस्तै सत्तापक्ष र प्रतिपक्ष हुन्छ । सत्तापक्षको संसदीय दलको नेता, मुख्य सचेतकलगायत अहिले पनि हुनुहुन्छ, उहाँहरुको कार्यकाल बाँकी रह्यो ।

तर, प्रमुख प्रतिपक्षी दल र विपक्षी दलका संसदीय दलको नेता, मुख्य सचेतक र केन्द्रीय सदस्यहरु नै विदा हुनुभएको छ । (कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईसमेत विदा भएका छन् ।)

उहाँहरु कार्यव्यवस्थामा हुनुहुन्थ्यो । कतिपय विषय उठ्दा छलफल गर्ने र त्यसलाई टुङ्गोमा पुर्याउन दलको नेतासँग बसेर कुरा गर्थ्यौं । सबै माननीयहरुसँग बस्ने कुरा हुँदैनथ्यो । अझै संसद प्रतिपक्षीको हुन्छ भन्ने गरिएको छ ।

कतिपय विषयमा सत्तापक्ष र प्रतिपक्ष नभनेरै धेरै राम्रोसँग काम गर्‍यौं । यस अर्थमा प्रमुख प्रतिपक्षी दल र विपक्षी दलका संसदीय दलको नेता र मुख्य सचेतकलाई सँधैभरि सम्झिन्छु ।

यसवीचमा कसैसँग झगडा, मनमुटाव पनि भयो कि ?

त्यस्तो कहिल्यै भएन । सदनमा पनि भएन । त्यो व्यवहारले हामीले प्रमाणित गर्‍यौं । बोल्ने कुरामा कहिलेकाहीँ अपवादमा अलि रुखो तीतो शब्द प्रयोग भयो होला । अन्यथा शालीन ढङ्गले सत्तापक्ष र प्रतिपक्षका माननीयहरु हाउसमा प्रस्तुत हुनुभयो । सरकारको आलोचना मर्यादित हिसावले भयो ।

यो पनि पढ्नुहोस राष्ट्रियसभाबाट १८ सांसदको विदाइ

संसदमा सत्तापक्ष र प्रतिपक्षको कहिलेकाहीँ दोहोरी चल्ने हुन्छ । एउटाले एकथोक भन्यो, अर्कोले उठेर तुरुन्तै काउण्टर गर्ने । राष्ट्रियसभामा त्यस्तो दोहोरी चलेन । आफ्ना तर्कहरु, कुराहरु आफ्नै ढङ्गले राख्नुभयो । व्यक्तिगत रुपमा नभई सामुहिकतामा निर्णय गरेर कामहरु गर्ने परिपाटीले पनि मेरो कसैसँग कुनै प्रकारको मनमुटाव रहेन ।

यो दुई वर्षको अवधिमा संसद सञ्चालनका स्मरणयोग्य कुनै क्षण वा घटना ?

दुई किसिमले स्मरण गरौं । एउटा प्रतिनिधिसभामा प्रतिपक्षीले हाउस अवरोध गरिरहँदा पनि हामीले चलायौं । पछि किन राष्ट्रिय सभा चल्यो भनेर पनि कुरा उठे । यस्ता घटना सम्झन योग्य रहे ।

दोस्रो, अत्यत्नै विवादास्पद भनिएका विधेयकहरु सर्वसम्मत पास गर्‍यौं । मिडिया काउन्सिल विधेयक सर्वसम्मत पास हुनु एउटा उदाहरण हो । हाउस सञ्चालन र हाउसका गतिविधि सञ्चालनमा प्रतिपक्षीको र सत्तापक्षको सांसद छुट्टिएनन् । बरु सबै एकै सहयोगी जस्ता भइरहे ।

नेपालमा राष्ट्रियसभा नै किन ? भन्ने प्रश्न पनि आउने गरेको छ नि ?

सुरुमा राष्ट्रिय सभाको बारेमा दुई कोणबाट टिप्पणी भए । एउटा संघीय संसदमा प्रतिनिधि सभा भएपछि राष्ट्रिय सभा किन चाहिन्छ ? भन्ने कोणबाट । र, अर्को– राष्ट्रियसभामा जे–जति आएका थियौं, सबै ५९ जनाकै बारेमा विभिन्न ढङ्गले टीकाटिप्पणी भएका थिए ।

यी दुईवटै विषयको उत्तर हामीले दुई बर्षमा हामीले व्यवहारबाट दिएका छौं । राष्ट्रिय सभा नै किन ? भन्ने कुरामा विधेयकहरु संशोधन गर्ने, परिमार्जन गर्ने कार्यहरुबाट यसको औचित्य सावित भएको छ । यो ठीक रहेछ भन्ने गरी काम गर्‍यौं । यी कुराहरुले राष्ट्रियसभाको औचित्य पुष्टि गर्‍यो ।

कसरी ?

प्रतिनिधिसभामा बारम्बार हाउस अवरुद्ध हुँदा समेत राष्ट्रिय सभामा नहुनु एउटा उदाहरण हो । अवरोध गरेर मात्रै प्रतिपक्षीले उपस्थिति जनाउन सक्छ भन्ने राष्ट्रिय सभामा रहेन । तर्कयुक्त ढङ्गले आफ्नो कुरा राख्ने हो । चरमरुपले राज्यका लागि नोक्सानी हुने कुरामा मात्रै हाउस अवरोध गर्ने हो ।

अर्को, प्रतिनिधि सभामा विधेयक आउनासाथ अनेक हुने गर्छ । हामीले मिडिया काउन्सिल विधेयक जुन अत्यत्न विवादित भनिएको थियो, तर, सर्वसम्मतिले पास गरेर पठायौं । यहाँनेर विज्ञताको प्रदर्शन भयो ।

संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध सम्बन्धी विधेयकमा प्रदेश तहसम्म पुगेर सुझाव संकलन र छलफल गर्ने लगायतको कार्य भयो । अन्य विधेयकहरुमा पनि धेरै महेनत गरेर छलफल र विचार बिमर्श गरेर परिमार्जिनसहित परिपक्क बनाएर पास गर्ने काम भएको छ ।

तथापि, बाहिरको कारणले गुठी विधेयक फिर्ता भयो । तर, छलफलमा अगाडि जान सकेको भए हामी सर्वसम्मतरुपमा पास गरेर पठाउन सक्ने थियौं भन्ने मलाई अहिले पनि विश्वास छ । तर, अब गइसक्यो ।

सरकारको काम कारबाहीका बारेमा निगरानी राख्ने काम भएको छ । सरकारलाई आवश्यकता अनुसार निर्देशन दिने र राष्ट्र र जनताको पक्षमा विकास निर्माणको पक्षमा धारणा राख्ने कामहरु गर्‍यौं ।

यसका साथसाथै तराईमा बाढी पहिरो जाँदा स्थलगत निरीक्षण गर्‍यौं । मेरै नेतृत्वमा स्थलगत अवलोकनमा गएका थियौं र सरकारलाई तत्कालीन र दीर्घकालीनरुपमा काम गर्न निर्देशन दियौं ।

राष्ट्रिय सभालाई विज्ञको सभा भन्छौं । विज्ञताको प्रदर्शन हुन सक्यो त ?

विज्ञको सभा भनेर विषय विज्ञ मात्रै बुझ्न हुन्न । अलि परिपक्व हो । यो समावेशिताको हिसावले प्रतिनिधि सभामा भन्दा अलि फरक छ । उमेरको हिसावले राष्ट्रिय सभामा सहभागिता फरक छ । गर्ने कामका केही प्रक्रियामा फरकपन छ । साना मसिना दलीय विवादमा अल्झिने, आरोप प्रत्यारोपमा जाने र बारम्बार त्यही कुरा दोहोरिने कुरा नहुनु नै राष्ट्रिय सभाको महत्व हो । यस हिसावले यो परिपक्वहरुको सभा हो भन्ने कुरालाई दुई वर्षको कामले पुष्टि गरेको छ भन्ने मलाई लाग्छ ।

जहाँसम्म आलोचनाको कुरा छ, दलीय दृष्टिकोण हुनु स्वाभाविक हो । सत्तापक्षलाई हाउस चलाइरहुँ भन्ने लाग्छ, यो स्वाभाविक हो । प्रस्तुतिका हिसावले आलोचनाको कुरा हो भने, सबै माननीयहरुले आ–आफ्नो क्षमता प्रदर्शन गर्नुभयो । सबैको समान हुने कुरा त थिएन, तथापि, कुशलतापूर्वक सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुभयो । ऐनहरु निर्माण गर्दा सबैले धेरै महेनत गरेर छलफलमा भाग लिनुभएको छ । यहाँ आएका विधेयकहरु परिपक्व भएर मात्रै पास भएका छन् ।

दुई वर्षमा १५१ दिन बैठक बसे । एकै दिन दुईवटा समेत गरेर १७३ वटा बैठक बसेका छन् । यो अवधिमा ४१ वटा मुल विधेयक र २४ वटा संशोधन गर्नुपर्ने गरी ६५ वटा विधेयक पास गर्‍यौं । ६ वटा अन्र्तराष्ट्रिय सन्धि सम्झौता अनुमोदन भए । । सातवटा अध्यादेशलाई प्रतिस्थापन गर्ने काम भयो । अहिले ५ वटा विधेयक राष्ट्रिय सभामा छन् । ४ वटा विधायन समितिमा विचाराधीन छन् । ६ वटा सन्देशसहित प्रतिनिधिसभामा पठाएका छौं ।

अर्को कुरा, राष्ट्रिय सभामा एउटा मात्र समितिले विधेयकमा काम गर्छ । प्रतिनिधि सभामा ११ वटा समितिले नै विधेयकमा काम गर्छन् । तर, पनि राष्ट्रिय सभामा अघिल्लो हाउसका कुनै पनि विधेयक बाँकी छैन । अहिले चलिरहेको हाउसकै मात्रै छ ।

नयाँ आएका १८ जना सदस्यलाई तपाईंको सुझाव के छ ?

नयाँ आउने सदस्यहरुले विगतबाट सिक्ने कुरा छँदैछ । पहिले संसदमा आउनुभएकाहरु समेत हुनुहुन्छ । अब हामीले पहिले भन्दा राष्ट्रिय सभालाई थप उचाइमा लानुपर्ने छ । यो निरन्तर उचाइ हो । दुई बर्षमा राष्ट्रिय सभाको औचित्य पूरा गर्न प्रयत्न गर्‍यौं, औचित्य पुष्टि गर्‍यौं ।

नयाँ आउनुभएका १८ जना र पछि एकजना थपिनुहुन्छ, उहाँहरुबाट विगतको निरन्तरता र उन्नत स्तरको भूमिकाको अपेक्षा गरेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment