Comments Add Comment

अफगानिस्तानको शान्ति सम्झौता संकटमा, तालिवानपछि अमेरिकाले गर्यो हवाई हमला

२२ फागुन, काठमाडौं । अमेरिका र तालिवानबीच दोहामा शान्ति सम्झौता भएको एक हप्तामै दुवैले एकअर्कामाथि आक्रमण थालेका छन् । आक्रमणसँगै अफगानिस्तानमा दीर्घकालीन शान्ति स्थापना गर्ने प्रयास गम्भीर संकटमा परेको छ ।

सुरुमा तालिवानले आक्रमण गरेर २० अफगान सैनिक र प्रहरीको हत्या गरेपछि अमेरिकाले तालिवानमाथि हवाई हमला गरेको छ । हेलमण्ड प्रान्तमा गरिएको यो आक्रमण अफगानिस्तानका सुरक्षाकर्मीको रक्षाका लागि भएको अमेरिकाले जनाएको छ ।

अफगानिस्तानमा तैनाथ अमेरिकी सेनाका प्रवक्ता सोनी लेगेटले बुधबार ट्वीट गरेर भनेका छन्, ‘हेलमण्ड प्रान्तमा ती तालिवान लडाकुहरुलाई हवाई हमला गरिएको छ जसले अफगान सुरक्षा बलको एक चेकपोष्टमा आक्रमण गरेका थिए । यो एक रक्षात्मक कारबाही हो ।’ उनले तालिवानलाई शान्ति सम्झौताको पालना गर्न आग्रह पनि गरेका छन् ।

अमेरिका र अफगानिस्तानमा सक्रिय तालिवान विद्रोही समूहबीच गत फेब्रुअरी २९ तारिखमा कतारको दोहामा शान्ति सम्झौता भएको थियो । सम्झौतामा तालिवानको कब्जामा रहेका एक हजार र अफगानिस्तान सरकारको नियन्त्रणमा रहेका पाँच हजार जनालाई रिहागर्ने लगायतका प्रावधान छन् ।

तर, अफगान राष्ट्रपति असरफ घानीले शान्ति सम्झौताको स्वागत गर्दै सरकारको नियन्त्रणमा रहेका तालिवानलाई रिहा गर्न नसक्ने बताएलगत्तै तालिवानले आक्रमण सुरु गरेको हो । गत मंगलबार तालिवानले ४३ सुरक्षा चौकीमा आक्रमण गरेको थियो ।

गएराति पनि कुन्दुज प्रान्तको इमाम साबिह जिल्लामा सैन्य चौकीहरुमा आक्रमण भएका छन् जसमा १० सैनिक र चार प्रहरी मारिएको खबर छ । यस्तै उरगुजान प्रान्तमा पनि आक्रमण हुँदा ६ जना प्रहरीहरु मारिएका छन् ।

तालिवानले आफ्ना कैदीहरुलाई अफगान सरकारले रिहा नगरेसम्म सरकारसँग वार्तामा नबस्ने घोषणासमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment