Comments Add Comment

खिजिदेम्बा अल्ट्रा म्याराथनको उपाधी भीमबहादुर र रोजिनालाई

२२ फागुन,ओखलढुंगा । दोस्रो खिजिदेम्बा अल्ट्रा म्याराथनको उपाधी पुरुषतर्फ धावक भीमबहादुर गुरुङ र महिलातर्फ रोजिना भण्डारीले हात पारेका छन् । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा आयोजित म्याराथनको दोस्रो संस्करण ४२ किलोमिटर दूरीमा सम्पन्न भएको हो ।

खिजिदेम्बा गाउँपालिका ५ को खिजिफलाँटेबाट सुरु भएको म्याराथन सोलुखुम्बुको सिमानामा पर्ने भुलभुले पुगेपछि पुनः खिजिफलाँटेमै फर्किएर टुंगिएको हो । म्याराथन दौडअन्तर्गत ४२ किलोमिटर दूरीमा पुरुष विधातर्फ गोरखा आरुघाटका ३७ वर्षीय भीमबहादुर गुरुङले तीन घण्टा ४९ मिनेटमा पूरा गरेका थिए ।

त्यस्तै महिला विधामा जुम्लाकी रोजिना भण्डारीले चार घण्टा ५८ मिनेटमा दौड पूरा गर्दै विजेता बनेकी हुन् । रोजिना नेपाली सेनाकी धाविका हुन् । पूर्व नेपाली सेनाका भीमबहादुर अघिल्लो वर्षको पिकेदेम्बा हाफ म्याराथनका विजेता हुन् ।

त्यसैगरी पुरुष विधातर्फ गोपाल तामाङले ४ घण्टा तीन मिनेटमा निर्धारित पार गर्दै उपविजेता बने भने दुर्गा बुढाले चार घण्टा पाँच मिनेटमा निर्धा्रित दूरी पार गर्दै तेस्रो बने । महिलातर्फ यसअघि पिकेदेम्वा आफ म्याराथनका विजेता हुमी बुढामगरले पाँच घण्टा १८ मिनेटमा दौड पूरा गर्दै उपविजेता बनेकी हुन् ।

स्थानीय धाविका सविना तामाङले पाँच घण्टा ३२ मिनेटमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरेकी छन् । म्याराथनमा पुरुषतर्फ २४ र महिला १२ गरी जम्मा ३५ जना सहभागी थिए ।

साहसिक खेलकुदका माध्यमबाट जिल्लाको पर्यटन विकासका लागि ओखलढुंगा पर्यटन विकास समितिले गत वर्षदेखि म्याराथन आयोजना गरिएको संयोजक ङवाङ ङिमा शेर्पाले जानकारी दिए । विजेताले विधागत रुपमा क्रमशः ७० हजार, ५५ हजार, ४० हजार, ६ हजार र ४ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइबाट दौड सुरु भइ ३ हजार ६ सय मिटर दूरी पार गर्दै पुनः २ हजार २ सय मिटरमै आएर दौड टुंगिएको हो । विजेतालाई सोमबार प्रतिनिभिसभाका सांसद यज्ञराज सुनुवारले पुरस्कार वितरण गरे ।

ओखलढुंगाको पर्यटन विकासमा यस्ताखाले प्रतियोगिताले सघाउ पुग्ने विश्वास लिइएको शेर्पाले बताए । सांसद सुनुवार, पूर्वसांसद रामहरि खतिवडा, गाउँपालिका अध्यक्ष बेदवहादुर रोका लगायतले जिल्लाको पर्यटन विकासमा मिलेर काम गर्ने प्रतिबद्धता समेत जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment