+
+
Shares

प्रधानमन्त्रीलाई मिर्गौला दिएकी समीक्षाले सोधिन्– मामालाई कस्तो छ ?

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २२ गते १४:१५

२२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो मिर्गौला दिएकी समीक्षा संग्रौलाले बिहीबार बिहान चिकित्सकलाई सोधिन्– मामालाई कस्तो छ ? उनी त्यतिबेलासम्म झोल पदार्थ पिउन समर्थ भइसकेकी थिइन् ।

६९ वर्षीय प्रधानमन्त्री मामालाई मिर्गौला दिनका लागि केही समयदेखि मामाकै सानिध्यमा रहेकी समीक्षाले पुनः प्रत्यारोपण सफल भएपछि मामाको बारेमा सोधेको शिक्षण अस्पतालका युरोलोजी डिपार्टमेन्ट प्रमुख डा. उत्तमकुमार शर्माले नेकपा नेता तथा प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुलाई जानकारी दिएका हुन् ।

चिकित्सकहरुले समीक्षालाई प्रधानमन्त्रीको अवस्था राम्रो रहेको जानकारी दिँदै ‘तपाईं चाँडै निको भएर घर जानु हुन्छ’ भनेका थिए ।

प्रधानमन्त्रीलाई यसअघिकै तालिका अनुसार कालो चिया दिइएको र समीक्षाले भने चियाका साथै दाल पिएको जानकारी अस्पतालले दिएको छ । प्रधानमन्त्रीलाई शल्यक्रिया गर्नुअघि बनाइएको तालिका अनुसार नै तरल पदार्थ खुवाइएको डा.शर्माले बताएका छन् ।

प्रधानमन्त्री ओलीको अवस्थामा राम्रो सुधार भइरहेको डा.शर्मालाई उद्दृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । भान्जी समीक्षाको स्वास्थ्य अवस्था भने सामान्य रहेको र उनको मिर्गौला निकाल्दा सहज विधिबाट निकालिएकाले सामान्य कुराकानी गर्ने अवस्थामा रहेको बताइएको छ । प्रधानमन्त्री ओलीलाई भन्दा पहिले नै अस्पतालले समीक्षालाई घर पठाउने सम्भावना छ ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेकपाका नेताहरु बिहानैदेखि शिक्षण अस्पतालमा ओहोरदोहोर गरिरहेका छन् ।

नेकपा उपाध्यक्ष बामदेव गौतम, उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल लगायतका नेताहरु अस्पताल पुगेका थिए ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति बुझ्न प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र नेपाल प्रहरीका महानिरीक्षक ठाकुर ज्ञवाली पनि बिहीबार बिहानै अस्पताल गएका थिए । उनहरुले नेकपा नेताहरु र सचिवालयमार्फत प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना गरेका थिए ।

विभिन्न देशका सरकार प्रमुखहरुद्वारा शुभकामना

यसैबीच प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै भारतको उत्तरखण्ड राज्यका नेता सूर्यविक्रम शाह काठमाडौं आएका छन् । उनी मार्फत भारतीय रक्षामन्त्री राजनाथ सिंहले पनि शुभकामना पठाएका छन् । शाहले नेकपा महासचिव पौडेलमार्फत प्रधानमन्त्रीलाई शुभकामना दिएका हुन् ।

संयुक्त राष्ट्रसंघको तर्फबाट पनि प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको लागि शुभकामना दिइएको छ । नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि भेलेरी जुलियाण्डले बिहीबार शुभकामना सन्देशमार्फत स्वास्थ्यलाभको कामना गरेका हुन् ।

प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै भारत, पाकिस्तान, जापान लगायतका देशका सरकार प्रमुखले शुभकामना सन्देश पठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?