Comments Add Comment

कोरोना भाइरसविरुद्ध लड्न आईएमएफको ५० अर्ब डलर सहयोग

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) सँग लड्न ५० अर्ब डलर सहयोगको घोषणा गरेको छ । आईएमएफले यो सहयोग कोरोना भाइरसबाट प्रभावित मुलुकहरुलाई प्रदान गर्नेछ ।

यसअघि नै आईएमएफले यसअघि नै कोरोना भाइरसको महामारीको कारण विश्व अर्थतन्त्र सुस्ताउने चेतावनी दिएको थियो ।

चीनभन्दा बाहिर पनि ८० भन्दा बढी मुलुकमा यो भाइरस फैलिएसँगै पछिल्लो समय आपतकाल घोषणा गरिएको छ । यसै साता मात्र विश्वभरका सरकार तथा केन्द्रीय बैंकहरुले भाइरसको अर्थतन्त्रमा पर्ने प्रभाव कम गर्न विभिन्न योजना अघि सारेका छन् ।

आईएमएफले अघि सारेको योजना अनुसार यो कोष निम्न तथा मध्यम आय भएका मुलुकलाई प्रदान गरिनेछ । यसअघि आईएमएफले यो भाइरसको कारण विश्वको आर्थिक वृद्धिदर सन् २००८ को वित्तीय संकटयताकै न्यून रहने बताएको थियो ।

आईएमएफकी प्रमुख क्रिस्टालिना जोर्जिएभाले यस सन् २०२० मा विश्वको आर्थिक वृद्धिदर गत वर्षकोभन्दा कम रहने तर भाइरसको असर कहिलेसम्म रहन्छ भन्ने कुराले अर्थतन्त्रबारे यकिन अनुमान भने गर्न नसकिने बताएकी छिन् । उनले भाइरसको महामारी अझै बढेको खण्डमा विश्व अर्थतन्त्र मन्दीमा जानसक्ने उल्लेख गरेकी छिन् ।

मंगलबार अमेरिकाको केन्द्रीय बैंकले कोरोना भाइरसको महामारी फैलिएसँगै अर्थतन्त्रमा त्यसको असर कम गर्न व्याजदर घटाउने निर्णय गरेको थियो । अमेरिकाले सन् २००८ यता पहिलोपटक व्याजदर आपतकालीनरुपमा घटाउने निर्णय गरेको हो ।

मंगलबार नै यो भाइरसको प्रकोप फैलिएसँगै अष्ट्रेलिया र मलेसियाले पनि ब्याजदर कटौतीको निर्णय गरेका थिए । त्यस्तै जी७ मुलुकका अर्थमन्त्रीहरुले पनि कोरोना भाइरसको अर्थतन्त्रमा पर्ने प्रभाव रोक्न सबै आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएका थिए ।

विश्व बैंकले पनि कोरोना भाइरसविरुद्ध लड्न १२ अर्ब डलर सहयोगको घोषणा गरेको थियो । बैंकले अघि सारेको आपतकालीन योजनामा सस्तो ऋण, अनुदान र प्राविधिक सहयोगका योजना छन् ।

अहिलेसम्म यो भाइरस विश्वका ८४ मुलुकमा फैलिइसकेको छ । भाइरसबाट संक्रमित हुनेको संख्या पनि ९५ हजार नाघिसकेको छ । ३२८० भन्दा बढीको यसबाट ज्यान गइसकेको छ ।

इटालीमा मात्र यो भाइरसबाट मुत्यु हुनेको संख्या १०७ पुगेको छ । इरानमा ९२ जनाको ज्यान गएको छ भने दक्षिण कोरियामा यसबाट मर्नेको संख्या ३५ पुगेको छ । अमेरिकामा पनि यसबाट मर्नेको संख्या ११ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment