
२३ फागुन, जनकपुरधाम । नेपालमा दुर्घटना हुनु सामान्यजस्तै भइसकेको छ । बिहीबार साँझ भने बारा जिल्लामा हेर्दा अनौठो लाग्ने दुर्घटना भएको छ ।
एक जना मोटरसाइकल चालक पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको सिमरा उपमहानगरपालिका १६ स्थित पसाहा पुलको किनारमा उत्तानो परेर लडे । उनको ढाड सडकभन्दा करिब एक फिट अग्लो पुलको बारमा प¥यो । कम्मर मुनिको भाग सडकतिर र कम्मर माथिको भाग पुलको किनारातिर प¥यो । उनले चलाएको ना. १२ प ९१२ नम्बरको मोटरसाइकल भने उनको पेटमाथि चढेको थियो ।
उनको नाकबाट रगत बगिरहेको थियो । मोटरसाइकलको मोबिल चुहिएर शरीरमा परेको थियो । प्रत्यक्षदर्शी केही व्यक्तिहरुले उनलाई तत्काल उद्धार गरेर अस्पताल पुर्याए ।
यो दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका ७ का २८ वर्षीय मिठाराम दुराल घाइते भएका छन् । दुरालको गण्डक प्रसौनीस्थित बयोधा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।
यस्तो खालको दुर्घटना देखेर प्रहरी पनि अचम्मित भएका छन् । यस्तो दुर्घटना कसरी भयो भन्ने थाहा पाउन नसकिएको र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलियाले बताए । ‘ती युवक कसरी पुलको बारमा उत्तानो परेर पल्टिए र अग्लो बारमा मोटरसाइकल उक्लिएर उनकै पेटमा कसरी पुग्यो भन्ने विषय तत्काल ठम्याउन सकिएको छैन,’ थपलियाले भने ।
दुराल दुर्घटनामा परेको ठाउँदेखि केही मिटर पश्चिमतिर बा. १३ च १९७६ नम्बरको जीप फेला प¥यो । उक्त जीपको अगाडिको भाग क्षतिग्रस्त भएकाले त्यो जीपले मोटरसाइकललाई ठक्कर दिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
प्रहरी निरीक्षक थपलियाले जीप र त्यसका चालक कलैया उप–महानगरपालिका ४ का उपेन्द्र साह समेतलाई नियन्त्रणमा लिएको जानकारी दिए ।
प्रतिक्रिया 4