Comments Add Comment

कुरा सुन्नु बुढाको

‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको”

अक्सर नाती-नातिना आफ्ना हजुरबा, हजुरआमासँग झ्याम्मिने गर्छन् । उनीहरुको काखमा बसेर ‘एकादेशको कथा’ सुन्न लालयित हुन्छन् । उनीहरुको ममतामयी स्पर्शमा फुरुङ्ग हुन्छन् ।

बुढापाका भनेको घरका शोभा हुन् । सौन्दर्य हुन् । खजना हुन् ।

उनीहरुले बाँचेको युग, समाज, संस्कार हाम्रो लागि प्रेरणाको स्रोत बन्न सक्छ । बुढापाकाहरु आफैमा एउटा कालखण्डको जिउँदा साक्षी हुन् ।

बुढापाकासँग जीवन भोगाईको खास अनुभव हुन्छ । ति अनुभवहरु हामीले विश्वका प्रतिष्ठित विश्वविद्यालयबाट समेत आर्जन गर्न सक्दैनौं । बुढापाका यस्तो आँखीझ्याल पनि हो, जहाँबाट हामी  जीवन र जगतलाई हेर्न, बुझ्न सक्छौं ।

सामान्य रुँघा खोकी लाग्दा घरेलु औषधी कसरी बनाउने भन्नेदेखि जीवनका असफलताहरुसँग कसरी जुध्ने भन्नेसम्मको ज्ञान र अनुभव उनीहरुसँग सुरक्षित हुन्छ । तर, यति अनमोल बुढापाका हामीलाई ‘घाँडो’ लाग्छ । किनभने, आज हामी भ्रष्ट संस्कारको शिकार भइरहेका छौं ।

बुढोको धोक्रो काँधै माथि

बाह्र छोरा, तेह्र नाती, बुढाको धोक्रो काँधै माथि’

हाम्रो पारिवारिक संरचना र संस्कार कसरी धरासयी हुँदै आएको छ भन्नका लागि यो उखान पर्याप्त छ । बुढ्यौली आफैमा रोग होइन । समस्या होइन । बोझ होइन । यो त प्राकृतिक नियम हो । प्राकृतिक चक्र हो । जन्मेपछि हरेकले त्यो चरणमा पुग्नैपर्छ । त्यो चरण, जतिबेला हामी सम्पूर्ण रुपमा थाकिसकेका हुन्छौं । गलिसकेका हुन्छौं ।

न कुनै आंकक्षा, न कुनै रहर, न कुनै मोह, न कुनै तृष्णा । जीवनको यो चरणमा मात्र एउटै कुराको आवश्यक हुन्छ, श्रद्धा र सम्मान ।

यो भनेको दया होइन, करुणा होइन । कोही चाहँदैन टिठलाग्दो जीवन व्यतित गर्न । तर, हाम्रो संस्कार कसरी बिगि्रदै गएको छ भने, बुढापाकाप्रति न हामी सम्मानजनक व्यवहार गर्छौं । न श्रद्धापूर्वक । बुढापाकालाई अलग कोठामा थन्काउने र उनीहरुमाथि हाम्रो शासन लाद्ने प्रवृत्ति अहिले हावी भएको छ ।

कतिले ‘पाल्नैपर्छ’ भन्ने मानसिकताको कारण औपचारिकता निर्वाह गरिरहेका छन् । कतिले बृद्धाश्रममा लगेर थन्काइदिएका छन् । मानौं, बुढापाका भित्र ‘निर्जीव मन’ मात्र बाँकी छ । उनीहरुलाई जे-जसरी हुन्छ पाखा लगाउनु पाए पुग्यो । जेसुकै गरेपनि उनीहरुले त्यसमा विद्रोह गर्ने होइन । आनाकानी गर्ने होइन । त्यही कमजोरीको फाइदा उठाएर हामी बुढापाकालाई कुनै संग्रहालयको बस्तु झै थन्काएर राख्ने चेष्टा गर्छौं ।

एउटा कथा छ,

बृद्ध भएका बुबालाई उनका छोरोले डोकोमा बोकेर भिरबाट मिल्काइदिएछन् । घरमा फर्केपछि उनका छोरोले भनेछन्, ‘बुबा, त्यो डोको जतनसाथ राख्नुहोला है ।’

बुबाले सोधेछन्, ‘किन ?’

छोरोले प्रतिप्रश्न गरेछ, ‘हजुरबालाई जस्तै, हजुरलाई भिरमा लाने बेला त्यो डोको चाहिँदैन त ?’

अहिले हामीकहाँ यस्तो मानसिकता बनिसकेको छ कि, अब छोराछोरीले हामीलाई पाल्नेवाला छैन । किनभने उसले पनि आफ्ना आमाबुबालाई पालेन । त्यहीकारण आफ्ना छोराछोरीले कसरी पाल्छन् भन्ने शंका छ । यही कारण अहिले धेरैजसो दम्पतीले बुढ्यौलीका लागि धन-सम्पति जगेर्ना गर्ने चलन रहेको छ ।

बुढ्यौलीः एक असुरक्षा

हामी जति-जति बुढ्यौलीमा पुग्दै जान्छौं, उत्तिनै असुरक्षित हुँदै जान्छौं । मानसिक तथा भौतिक रुपले हामी कमजोर हुन्छौं ।

बुढ्यौलीमा आवश्यक औषधीपानी, उपचार, खानपान, बसोबासका लागि हामीसँग संचित धन नहुन सक्छ । यस्तो किनपनि हुन्छ भने, छोराछोरी हुर्कनसाथ अंशबन्डा गर्ने चलन छ । छोराछोरीलाई अंश दिइसकेपछि अक्सर बुढाबुढी रित्तिन्छन् । उनीहरुसँग धनदौलत बाँकी रहँदैन ।

यस्तो अवस्थामा बुढ्यौली जीवनमा आर्थिक असुरक्षा जटिल समस्या बन्छ । आफुसँग पुग्दो धन-सम्पति नभएपछि आफ्नो कोखबाट जन्माएका छोराछोरीले समेत हेला गर्न थाल्छन् । आफुलाई पाल्नुपने, छोराछोरीलाई हुर्काउनु-पढाउनुपर्ने परिस्थितीमा बुबाआमालाई पनि पाल्नुपर्ने कुरा निम्न मध्यम, मध्यमबर्गिय परिवारले बोझ ठान्छन् ।

हाम्रो पारिवारिक संरचना अनुसार बुबाआमालाई छोराछोरीले पाल्नुपर्छ । तर, छोराछोरी स्वयम्लाई आफ्नो जीवन धान्न धौ-धौ परिरहेको अवस्थामा आमाबुबा थप बोझिलो लाग्ने नै भयो ।

विकसित मुलुकमा जेष्ठ नागरिकको जीवन हामीकहाँ जस्तो कहालीलाग्दो नभएको जानकारहरु बताउँछन् । जेष्ठ नागरिकको पालन-पोषण, औषधी-उपचार देखि सम्मानजनक जीवनयापनका लागि राज्यले नै समुचित व्यवस्था गरिदिन्छ । यसका लागि नागरिकले पनि राज्यप्रति आफ्नो दायित्व पुरा गरेको हुन्छ ।

बुढ्यौलीमा औधषी सेवन गर्नुपरेमा, उपचार चाहिएमा तुरुन्तै सरकारले उक्त सेवा उपलब्ध गराउँछ । त्यसबाहेक आरमदायक जीवनयापनका लागि समेत उचित व्यवस्था गरिदिन्छ ।

बुढ्यौली चक्र

हामी भ्रुण थियौं । शिशु भयौं । बालक भयौं । किशोर भयौं । युवा भयौं । बयस्क भयौं । बुढा हुन्छौं । त्यसपछि ?

हाम्रो देह माटोमा बिलय हुन्छ । जीवनका सारा चमक-दमक, इच्छा-आकंक्षा, खुसी-उमंग, दुख-पीडा, रिस-राग, दम्भ-अहंकार केही पनि बाँकी रहँदैन । जतिबेला हामी बच्चा थियौं, हात-पाउ टेकेर हिँड्थ्यौं । बिस्तारै उभिन सिक्यौं । ठिंग उभियौं । र, फेरी क्रमस हामी कुपि्रदै गयौं । अन्ततः आफ्नै ज्यान थेग्नका लागि हात-पाउको आड लिनुपर्ने भयो । अर्थात हामी बुढा भयौं ।

यस्तै बृत्तकार जीवन-रेखाबाट हाम्रो जीवन गुजि्रन्छ ।

अहिले तपाईं कति बर्ष पुग्नुभयो ?  २२ ? होइन २८ ? ३२ बर्ष ? आखिर यो हिसाब-किताब दिनदिनै बढ्दै जाने हो । हिजो २० बर्षको लक्का जवान हुनुहुन्थ्यो । आज गृहस्थीमा फसिसक्नुभएको छ । भोलि बुढो हुनुहुन्छ ।

बुढो त आखिर हुनु नै छ ।

त्यसो भए, तपाईं आफ्नो बुढ्यौली कसरी कटाउनुहुन्छ होला ?

यो प्रश्नको जवाफ संभवत तपाईंले खोज्नु भएकै थिएन । हामी जीवनको रसरंगमा यति धेरै मग्न हुन्छौं कि, आफ्नो बुढ्यौलीबारे घोत्लिन नै फुर्सद हुन्न । तर, तपाईंको हजुबुबा-हजुरआमा, बुबा-आमा, काका-काकी त्यही चरणमा छन्, जो तपाईंले सोच्नु पनि भएको छैन ।

जब शरीरलाई बुढ्यौलीले गाँज्दै लैजान्छ, त्यसबेला तपाईंको दिनचर्या कस्तो हुन्छ होला ? तपाईंको मनोदसा कस्तो हुन्छ होला ? तपाईंको जीवन-भोगाई कस्तो हुन्छ होला ?

केही बर्षअघि पर्यावरण सम्बन्धी प्रख्यात अष्ट्रेलियन बैज्ञानिक डेभिड गुडअल बटनीले स्वेछिक मृत्यु रोजे । उनी १ सय ४ बर्षका थिए ।  यसरी स्वेच्छिक मृत्यु रोज्नुको एउटै कारण थियो, सम्मानजनक अन्त्य । मृत्युअघि उनले भनेका थिए, ‘मलाई यो उमेरमा पुगेको पछुतो छ । म खुसी छैन ।’

हरेक मानिस स्वभावैले सम्मानजनक जीवन बाँच्न चाहन्छ । तर आफु कमजोर हुँदै गएपछि समाज, परिवारले त्यो सम्मान दिदैन, जो जवान छँदा दिने गथ्र्यों । बुढ्यौली अवस्थामा ‘न मरिजानु, न गरिखानु’को अवस्थामा पुगिन्छ ।

को चाहन्छन्, आफ्नो दिसा-पिसाब अरुले सोर्होनु परोस् । आफ्नो गाँस अरुले ख्वाइदिनु परोस् । आफ्नो ज्यान उठाउन अरुको बल प्रयोग गर्नुपरोस् । तर, नचाहेर पनि हामी त्यही चरणमा पुग्छौं, जतिबेला हामीले चाहेजस्तो केही हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment