Comments Add Comment

हल्लाकै भरमा ग्यासको सिलिण्डर बोकेर लाइनमा

खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरुका जगमा

त्यहाँ फगत हल्लै हल्ला थुप्रिएको पाइनेछ ।

त्यसैले यो हल्लै हल्लाको देश हो

यो हल्लै हल्लामाथि उभिएको देश हो

यो हल्लै हल्लामाथि उठेको देश हो

यो हल्लै हल्लाको देश हो ।।

कवि भूपि शेरचनले २०२४ सालमा लेखेको कविताको अंश हो यो । पञ्चायती व्यवस्थामा समाज अलि कठोर थियो । बन्द समाजमा धेरै कुरा रे… को भरमा हुन्थे । त्यसैले भूपीले ‘यो हल्लै हल्लाको देश हो’ भनेर कविता लेखेका होलान् ।

तर, आजको खुला समाजमा पनि यो यो कविताको सन्दर्भिकता कम भएको छैन ।

अहिले विश्वभर कोरोना भाइरस (कोभिड –१९ ) को संक्रमणको त्रास छ । संक्रमण बढी नै देखिएका चीनका साथै इटली, दक्षिण कोरियाका साथै भारतमा स्कुलहरु बन्द गर्ने निर्णय भएको छ ।

त्यहीबेला नेपालमा पनि स्कुलहरु ५० दिन बन्द हुने हल्ला फैलियो । जब कि सरकारले अहिलेसम्म संक्रमण नदेखिएकाले सकेसम्म शैक्षिक सत्र प्रभावित नपार्ने, तर सतर्कता अपनाउने भनेको छ ।

सरकारले दैनिक उपभोग्य वस्तुहरुको पनि अभाव हुन नदिने बताएको छ । भारतबाट आउने ग्यास, पेट्रोलियम पदार्थ पनि नियमितरुपमा आइरहेको छ । तर, मानिसहरु धमाधम खाद्य वस्तुहरु जोहो गर्न दौडधुप गरिरहेका छन् ।

बुधबार अनामनगरमा यस्तै देखियो ।

हल्लैहल्लाका भरमा सर्वसाधारण उपभोक्तमा खाना पकाउने एलपी ग्यासका सिलिण्डर लिएर लाइनमा बसेका छन् । लाइनमा बसेका मध्ये एक हुन्, दाङ घर भएका अनामनगर बस्ने होमबहादुर सन्त्याल ।

उनी शुक्रबार बिहानै ठेला मगाएर २ वटा सिलिण्डर लिएर ग्यास डिलरमा आइपुगेका रहेछन् । ‘म सधैँ फोन गरेर ग्यास ल्याइदिन भन्थे, घरमै आउँथ्यो’ उनले भने, ‘तर हिजो मैले फोन गरें, डेलिभरी नहुने रहेछ । अनि त झन डर भयो । त्यही भएर बिहानै लाइन लाग्न आएँ ।’

नाकाबन्दीका बेला धेरै सास्ती खेपेकाले त्यस्तो अभाव झेल्नु नपरोस् भनेर स्टक सिलिण्डर भर्न लाइन बसेको उनले सुनाए ।

सिन्धुपाल्चोक घर भई अनामनगर बस्दै आएका डेबिट ठकुरीले पनि भोलि ग्यासको अभाव होला भनेर लाइन बस्न आएको बताए । ‘नाकाबन्दीका बेला पहिले ध्यान नदिँदा तनाव भयो’ ठकुरीले भने, ‘अहिले त अभाव नहोला, तर कोरोना व्यापक हुँदै जाँदा त पक्कै हुन्छ होला । त्यही भएर ग्यासको लाइनमा बसेको हुँ ।’

बिराटनगर स्थायी घर भई घट्टकुलो बस्दै आएकी धनमाया खरेल पनि ग्यास भर्न लाइनमा उभिएकी थिइन् । उमेरले ६० कटिसकेकी उनले बिहान ८ बजे नै लाइन लाग्न आइपुगेको सुनाइन् । ग्यास अभाव होला कि भन्ने परिवारमा चिन्ता बढेपछि लाइन लाग्न उनले सुनाइन् ।

होमबहादुर, डेबिट तथा धनमाया मात्र होइन, अनामनगरमा करिब ३२ सय मानिस भोलि अभाव होला भन्ने डरकै कारण लाइनमा बसेका थिए ।

डिलर सञ्चालक भन्छिन् : अभाव छैन

यति धेरै लाइन लागेको नेपाल ग्यासको अनामनगरस्थित डिपोकी सञ्चालक रविता पौडेल हुन् । एकाबिहानै सिलिण्डरसहित लाइन लागेपछि उनी पनि छक्क परेकी छन् ।

ग्यास अभाव नभएको भन्दै उनले नआत्तिन उपभोक्तालाई आग्रह समेत गरिन् । ‘ग्यासको अभाव छँदै छैन’ उनले भनिन्, ‘अभाव छैन, लाइन लाग्नुपर्दैन भनिरहेकी छु, तर कसैले पनि हाम्रो कुरै सुन्नुहुन्न ।’

विश्वमा कोरोना भाइरसको संक्रमण बढेसँगै ग्यासका लागि लाइनमा बस्नेहरु बढ्दै गएको उनले सुनाइन् । उनका अनुसार डिलरको दैनिक कोटा एक सय थान सिलिण्डर हो । तर, २ सय हारहारीमा त बिहीबार मात्रै बिक्री भयो ।

ग्यास अभाव हुँदैन : निगम

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल पनि ग्यास अभाव हुने सम्भावना नरहेको बताउँछन् ।

सर्वसाधारणहरुमा अनावश्यक त्रास फैलिएको भन्दै उनले डराउनुपर्ने अवस्था नरहेको बताए । थन्काएर राखिएका सिलिण्डर निकालेर भर्न थालिएका कारण अहिले औसतमा प्रयोग हुनेभन्दा धेरै ग्यासको बिक्री भएको कार्यकारी निर्देशक पौडेलले बताए ।

‘अहिले उपभोक्ताहरु डराउनुपर्ने अवस्था छैन, नाकाबन्दीका सिलिण्डर यतिबेला निकालिएकाले लाइन देखिएको हो’ उनले भने । साधारणतया दैनिक ३९ हजार मेट्रिकन ग्यास खपत हुने भए पनि केही दिनयता ४५ हजारसम्म खपत हुन थालेको उनले बताए ।

पौडेलले सर्वसाधाणलाई नआत्तिन अपील गरे ।

तस्वीर/भिडियो : आर्यन धिमाल/अनलाइनखबर

यो पनि पढ्नुहोस ‘ग्यास चामलको चिन्ता नगर्नोस्, जिम्मा मेरो हो !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment