
२४ फागुन, काठमाडौं । सरकारले कोरोनाबारे विशेष सवधानी अपनाउन र भिडभाडमा नजान आग्रह गरिरहेको छ । चलचित्र हल मानिसको भिडभाड हुने ठाउँ हुन् । उसो भए अब सिनेमा हलहरु बन्द हुन्छन् त ?
कोरोनाको संन्त्रास बढेसँगै काठमाडौंका सिनेमा हलहरुको अवस्था के छ भन्नेबारे हामीले सोधखोज गर्यौं ।
फागुन १८ गते सरकारले सभा-सम्मेलन तथा ठूलो जमघट हुने कार्यक्रम नगर्न अनुरोध गरेपछि चलचित्र निर्माता संघ, चलचित्र प्राविधिक संघ जस्ता संस्थाहरुले चलचित्र सम्बन्धी कार्यहरु रोक्न आग्रह गर्दै विज्ञप्ति जारी गरिसकेका छन् ।
अब के गर्ने भन्नेमा चलचित्र संघ भने अहिलेसम्म छलफलकै क्रममा छ । हल बन्द नै गर्ने वा सावधानी अपनाएर सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको संघका पदाधिकारी बताउँछन् ।
चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधान हलहरु बन्द गर्ने कि चलाउने भन्ने विषयमा छलफल भइरहेको बताउँछन् । प्रधान भन्छन्, ‘हामीले मात्रै हल बन्द गर्छु भनेर हुदैँन । निर्माता, वितरक र हलवाला बसेर मात्र यसको निर्णय हुन्छ । अहिलेका लागि विशेष सावधानी अपनाएर हामीले सिनेमा हलहरु सञ्चालन गरिरहेका छौँ ।’
कोरोनाबाट सावधानीका लागि क्युएफएक्स हलले सेनिटाइजर लोसन, पाउडर र स्प्रे प्रयोगमा ल्याएको छ । यी सामाग्रीहरु क्युएफएक्स चेनमा रहेका सम्पूर्ण हलहरुमा प्रयोग गरिएको छ ।
अन्य कतिपय हलहरुले पनि दर्शकका लागि सेनिटाइजर लोसन, पाउडर तथा स्प्रे प्रयोगमा ल्याएका छन् ।
रोकिएन छायांकन
चलचित्र निर्माता संघले चलचित्रको छायांकन रोक्न अनुरोध गरिसकेको छ । छायांकनमा कोरोनाको जोखिम बढी हुने भन्दै सम्भव भएसम्म छायांकन रोक्न निर्माता संघले आग्रह गरेको हो ।
त्यस्तै, नेपाल चलचित्र प्रविधिक संघले पनि प्रविधिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै चलचित्रको छायांकन रोक्न अनुरोध गरेको छ ।
तर, हाल दुईवटा चलचित्रको छायांकन भने धमाधम चलिरहेको छ । अन्य केही चलचित्र छायांकनको तयारीमा छन् ।
चलचित्र ‘ए मेरो हजुर ४’ र ‘परदेशी २’ ले पोखरालाई छायांकनस्थल बनाएर चलचित्रका दृश्यहरु खिचिरहेका छन् ।
चलचित्र ‘ए मेरो हजुर ४’ का निर्माता सुनिल कुमार थापा आफूहरु चलचित्रको छायांकन रोक्न तयार नरहेको बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘नेपालमा कोरोना संक्रमित भेटिएका छैनन् । यत्तिकै अपवाह फैलाइएको छ । हामी डराइहाल्नुपर्ने अवस्था पनि होइन । त्यसैले हामी निरन्तर चलचित्रको छायांकन गर्नेछौँ ।’
निर्माता थापा विशेष सावधानी अपनाएर चलचित्रको छायांकन गर्ने बताउँछन् । उनी भन्छन्, ‘नेपाललाई जोखिमयुक्त देश मानिएकाले हामी सावधानी अपनाउने नै छौँ । तर, रोकिहाल्ने अवस्थामा छैनौँ ।’
शनिबार ‘ए मेरो हजुर ४’ को छायांकन १० औं दिनमा चलिरहेको छ ।
छायांकनरत अर्को चलचित्र ‘परदेशी २’ का निर्देशक नारायण रायमाझी भने रोकिने वा छायांकन जारी रहने भन्ने विषयमा छलफल भइरहेको बताउँछन् । रायमाझीले अनलाइनखबरसँग भने, ‘हामीले गाउँका दृश्य खिचिरहेकाले तुरुन्तै रोकिहाल्ने भन्ने छैन । तर, आजभोलि नै निर्णयमा पुग्नेछौँ ।’
निर्देशक दीपेन्द्र लामा चलचित्र ‘दुई नम्बरी’को छायांकनमा तम्सिएका छन् । केही दिनमै जम्बो टोलीसहित उनी छायांकनका लागि कास्की जाने तयारीमा छन् ।
निर्देशक लामा पनि चलचित्रको छायांकन नरोकिने बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘चलचित्र विकास बोर्डले नै सूचना निकालेको भए सोच्नुपर्ने अवस्था थियो । तर, विकास बोर्डले सूचना निकालेको छैन । त्यसैले कुनै रोकथोक बिना हामी चलचित्र खिच्नेछौँ ।’
छायांकनमा भन्दा भिड हुने चलचित्र हलहरु बन्द नभइरहेको अवस्थामा चलचित्रको छायांकन रोक्न भन्नु आफैँमा मूर्खता भएको निर्देशक लामाको तर्क छ ।
चलचित्र रिलिजमा असर !
कोरोनाको त्रासका कारण चलचित्रको रिलिज मितिमा उथल-पुथल भएको छ । ठूलो लगानी गरेका निर्माताहरु कोरोनाले लगानी डुबाइदिने हो कि भन्ने त्रासमा छन् ।
आगामी शुक्रबार अर्थात् फागुन ३० गते रिलिजको तयारीमा रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २‘ को रिजिल पछि हटिसकेको छ । कोरोनाको त्रासका कारण अनिश्चितकालका लागि चलचित्रको रिलिज पछाडि सारिएको हो ।
त्यस्तै चैत ७ गते रिलिज हुने भनिएको चलचित्र नीरफूल पनि पछि हटेको छ । कोरोनाकै त्रासले यो चलचित्रले पनि रिलिज मिति पछाडि सारेको हो । निर्देशक फूलमान वलले आइतबार चलचित्रको नयाँ रिलिज मिति तोकिने बताए ।
आउँदो चैत २१ गते रिलिज मिति पक्का गरेको चलचित्र ‘लक्का जवान’को प्रदर्शनी पनि अन्योलमा परेको छ । चलचित्रका प्रस्तुतकर्ता किरण केसी चलचित्र सार्ने वा सोही मितिमा देखाउने भन्ने दोधारमा छन् । यही अन्योलका कारण अहिलेसम्म चलचित्रको प्रचार-प्रसार सुरु नै गरिएको छैन ।
चैत २८ गते रिलिज हुने भनिएको चलचित्र ‘चपली हाइट ३’ भने सोही मितिमा आउने निर्माता अर्जुन कुमारले बताए ।
प्रतिक्रिया 4