
नारी दिवससँग सम्बन्धित सामग्रीले आजका दैनिक अखबारहरूमा प्राथमिकता पाएका छन् । यसबाहेक कोरोना भाइरसको बहानामा बढेको कालाबजारी, प्रहरीको लत्ताकपडा खरिदमा भएको अनियमिततालगायत विषयलाई पनि पत्रपत्रिकाहरूले ‘कभरेज’ गरेका छन् ।
‘कहिलेसम्म अनागरिक’ शीर्षक दिएर कान्तिपुरले मुख्य समाचार बनाएको छ । समाचार अनुसार, ०६४ मा जन्मका आधारमा नागरिकता पाएका १ लाख ७० हजार ४२ जनाका सन्तान नागरिकताविहीन भएका छन् । नागरिकता विधेयक १८ महिनादेखि संसद्मा अल्झिँदा उनीहरू संविधानप्रदत्त हक–अधिकारबाट वञ्चित भएका हुन् ।
एकखुट्टे नृत्यांगना भनेर चिनिएकी सीता सुवेदीबारेको सामग्रीसँगै क्षणिक आवेगले हुने अपराधलगायतका विषय कान्तिपुरको पहिलो पृष्ठमा समेटिएका छन् ।
कोरोना भाइरसको सम्भावित जोखिमसँग बँच्न अस्पतालले गरिरहेको तयारीबारे पनि कान्तिपुरले समाचार छापेकाे छ । समाचारमा लेखिएअनुसार, अस्पतालहरूको तयारी फितलो छ । कोरोना संक्रमितलाई आईसीयू तयार पार्न सरकारले निर्देशन दिए पनि अस्पतालहरूले अझैसम्म कार्यान्वयन गरेका छैनन् ।
‘देशकै एकमात्र सरुवा रोग अस्पतालमा तीनवटा आईसीयू बेड छन् । अधिकांश अस्पतालले आमबिरामीलाई नै अभाव रहेको भन्दै आइसोलेसन वार्ड र भेन्टिलेटरसहितको आईसीयू बेड व्यवस्थापन गर्न मानिरहेका छैनन्,’ कान्तिपुरले लेखेको छ ।
नारी दिवस विशेष सामग्री छापेको अन्नपूर्णले ग्यास अभावबारे पनि नजर लगाएको छ । उपभोक्ताले खाना पकाउने ग्यास चाहिनेभन्दा बढी सञ्चित गर्न थालेपछि बजारमा प्रत्यक्ष असर परेको अन्नपूर्ण समाचारको ठम्याइ छ ।
समाचार अनुसार, ग्यास अभावपछि मजदुर र विद्यार्थी मर्कामा परेका छन् ।
‘शब्दमा समानता : व्यवहारमा विभेद’ शीर्षकमा नयाँ पत्रिकाले नारी दिवस विशेष सामग्री छापेको छ । पुरुषको औसत मासिक ज्याला १९ हजार चार सय ६४ हुँदा महिलाको ज्याला १३ हजार ६ सय ३० अर्थात् ३० प्रतिशतले कम रहेको भन्दै नयाँ पत्रिकाले समानतामा जोड दिएको छ ।
नागरिकमा कोरोनाको बहानामा कालाबजारी फस्टाएको समाचार छ भने राजधानीले १५ सय ठेक्काको म्याद थप भएको लेखेको छ ।
प्रतिक्रिया 4