Comments Add Comment

चितवनमा सवारी दुर्घटना, १ को मृत्यु, ११ घाइते

२६ फागुन, चितवन । ट्रकको ठक्करबाट चितवनमा एक पैदलयात्रीको मृत्यु भएको छ ।

नारायणगढको पुलचोक बजारबाट लायन्सचोकतर्फ आउँदै गरेको बा १ ख ९८५९ नम्बरको मिनीट्रकले गएराति ठक्कर दिँदा पैदलयात्री नवलपुर कावासोती नगरपालिका–१७ का अन्दाजी ५० वर्षीय ठाकुर पौडेलको मृत्यु हो ।

ठक्करबाट घाइते पौडेललाई अस्पताल लगिएकोमा त्यही उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् ।

यस्तै नारायणगढ–मुग्लिन सडकखण्डमा बिग्रिएको ट्रकमा बस ठक्कर खाँदा ११ जना घाइते भएका छन् । सोही कार्यालयले दिएको जानकारीअनुसार भरतपुर महानगरपालिका–२९ सिमलतालमा बिग्रिएर रोकिराखेको ना५ख ९६२२ नंको ट्रकमा कटारीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख १५९२ नं को बस आज बिहान ठक्कर खाएको थियो ।

ठक्करबाट बसमा सवार ३१ मध्ये १० र ट्रकका चालक गरी ११ घाइते भएको कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । घाइतेमध्ये पाँचको चितवन मेडिकल कलेज र छ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

गैँडाको आक्रमणबाट गम्भीर

गैँडाको आक्रमणबाट माडी नगरपालिका–९ की भोजकुमारी विक घाइते भएका छन् । इलाका प्रहरी कार्यालय माडीले विकलाई भैँसी चराउन जाने क्रममा घाँगरखोलामा गैँडाले आज बिहान आक्रमण गरेको प्रहरीले जनाएको छ । गैँडाको आक्रमणबाट गम्भीर घाइते विकको बघौडा अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment