Comments Add Comment

सीमामा कामचलाउ हेल्थ डेस्क, स्वास्थ्यकर्मी नै डराउँछन्

२६ फागुन, विराटनगर । भारतसँग सीमा जोडिएको विराटनगरको रानी नाकामा कोरोना भाइरस संक्रमण परिक्षणका लागि हेल्थ डेक्स राखिएको छ ।

खुला सीमा जोडिएको भातीय बजार जोगवनीबाट नेपाल प्रवेश गर्नेलाई निगरानीका लागि डेक्स राखिएको हो । नेपालको डेक्स भन्दा केही पर भारतीय डेक्स छ । भारतीय प्रहरीले निगरानी राखे पनि नेपाल तर्फको डेक्स र सुरक्षा भने कामचलाउ छ ।

नाकामा विराटनगर महानगरपालिकाले हेल्थ डेक्स राखेको छ । डेक्सका लागि दुई सिफ्टमा ४ कर्मचारीलाई जिम्मेवारी दिइएको छ ।

डेक्समा खटिएका स्वास्थ्यकर्मीलाई नै चेकजाँच गर्न गाह्रो छ । ‘अरु बेला त ठिकै हो ट्रेन आएको बेला भीड हुन्छ’ हेल्थ डेक्समा खटिएकी अहेब दिलमाया परियार भन्छिन् ‘हिजो (आइतबार) देखि सुरक्षाकर्मीले सहयोग गरिरहनु भएको छ ।’

उनका अनुसार दैनिक २–३ सय मानिसको जाँच हेल्थ डेक्समा हुन्छ । २२ फागुनबाट सुरु भएको हेल्थ डेक्समा शनिबारसम्म कर्मचारीले नै भारतबाट प्रवेश गर्नेलाई बोलाएर जाँच गर्नुपथ्र्याे । तर आइतबारबाट भने सीमा सुरक्षामा खटिएका सशत्र प्रहरीले सहयोग गरिरहेका छन् ।

कोरोना त्रासका कारण विराटनगर महानगरपालिकाले हेल्थ डेक्स राखे पनि स्वास्थ्यकर्मीको सुरक्षाको पूर्व तयारी छैन । माक्स र हातमा सर्जिकल पञ्जा लगाएर बसेका स्वास्थ्यकर्मी शंकास्पद विरामी आए आफैं जोखिममा रहेको बताउँछन् । नाकामा दुई जना स्वास्थ्यकर्मीलाई काम गर्न पनि गाह्रो छ । महानगरले हेल्थ डेक्स बढाइदिए सहज हुने उनीहरुको भनाइ छ ।

फागुन २१ गते प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणका लागि पूर्वतयारी अपनाइएको बताए । प्रदेशका अस्पतालहरुमा २८ शैय्याको आइसोलेसन वार्ड तयारी अवस्थामा राखिएको पत्रकार सम्मेलन गरी जानकारी गराए ।

पूर्वतयारी अनुरुप विराट मेडिकल कलेजमा १२ वटा, धरानस्थित बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा १०, कोशी अस्पतालमा ५ र नोबेल मेडिकल कलेजमा आईसीयूसहितको एउटा आइसोलेसन वार्ड तयार गरिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले कोरोनाको पूर्वतयारीका लागि छलफल आह्वान गरे । शुक्रबारको प्रदेशसभा बैठकमा कार्कीले मोरङ र उदयपुरमा क्वारेन्टाइन खोल्न लागेको बताए ।

कोरोना भाइरसको त्रास देखाएर सरकार जनतालाई आतंकित पार्न खोजेको नेपाली कांग्रेस १ नम्बर प्रदेश सभाका प्रमुख सचेतक केदार कार्की बताउँछन् । पूर्व तयारीका नाममा सर्बसाधारणमा त्रास फैलाउने काम गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment