Comments Add Comment

प्रदीप ज्ञवालीको विश्लेषण : सरकारको आलोचना हुनुका ५ कारण

हामीले लोकतन्त्रको परीक्षा कहिलेसम्म दिइरहनुपर्ने हो ?

२६ फागुन, काठमाडौं । नेकपा नेतृत्वको करीव दुई तिहाई बहुमतको सरकार पार्टीभित्र र बाहिरबाट समेत आलोच्य भइरहेका बेला प्रधानमन्त्री र मन्त्रीहरु भने सरकारले गरेका कामको पनि प्रशंसा भएन भनिरहेका छन् ।

नकारात्मक मात्र देख्ने सोचले गर्दा सरकारका राम्रा कामले मिडियामा स्थान नपाएको सत्तापक्षको गुनासो छ ।

नेकपा सरकारको किन यति धेरै आलोचना भएको होला ? हामीले यसबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग प्रश्न गर्‍‍यौं । सरकारको आलोचना र नकारात्मक टिप्पणीमात्र किन भइरहेका छन् त ?

यसमा मन्त्री ज्ञवालीले आफ्ना ५ वटा तर्क यसरी प्रस्तुत गरेका छन्–

सरकारको आलोचना र नकारात्मक कुरामात्र आउनुमा मैले चार–पाँचवटा प्रवृत्ति औंल्याउन चाहेको छु । ती चार/पाँचवटा कुराले सरकार र नेपाल कम्युनिस्ट पार्टीप्रति समाजको दृष्टिकोण बुझ्न सघाउँछ ।

पहिलो, नेपालमा कम्युनिष्ट आन्दोलनप्रति, कम्युनिस्ट पार्टीप्रति समाजको एउटा तप्कामा चरम पूर्वाग्रह छ । सायद यही कुरा देखेर होला, प्रधानमन्त्रीले अस्ति संसदमा सम्बोधन गर्ने क्रममा भन्नुभएको थियो कि कोही चाहिँ गर्भे डेमोक्रेटिक, केही गर्नु पर्दैन, काम गर्नु पर्दैन तर उहाँको लोकतन्त्रप्रतिको निष्ठामाथि कसैले प्रश्न उठाउँन पाउँदैन । तर, हामीले हरेक पाइलामा क्रेडिन्सियल बुझाइरहनुपर्ने ? यो आग्रहले पनि सरकारलाई हेर्ने दृष्टिकोण तय गरेको छ ।

मुलुकमा स्थिरता आउँदा धेरैका दोकानहरु सुकेका छन् । धेरैका प्रोजेक्ट असफल भएका छन् । धेरैको जागिर खोसिएको छ । अस्थिरताका संवाहकहरुलाई भाउन्न भएको छ र त्यो विभिन्न ढंगले प्रकट हुन्छ ।

होइन भनेदेखि नेकपाका नीतिहरु, नेकपाले अहिलेसम्म खेलेका पृष्ठभूमिहरु, हामीले गरेका त्याग, तपस्या र बलिदानहरुले हाम्रो लोकतान्त्रिक चरित्रमाथि प्रश्न उठाउने कुनै ठाउँ छ ? हामीले अरु पार्टीहरुका पनि सरकार देख्यौं ।

सात वर्षको, नौ वर्षको बच्चा, तीन तलामाथि बसेको बच्चालाई गोली लाग्यो । सम्बन्धित मन्त्री (शेरवहादुर देउवा) ले जवाफ दिँदाखेरि गोलीका आँखा हुँदैनन् भनेर अत्यन्त गैरजिम्मेवार जवाफ संसदमा दिए । तर, उनको लोकतान्त्रिक निष्ठामाथि कहीँ कतै प्रश्न उठेन ।

दोस्रो, अलिकति सोसल मिडियामा, अरु कतिपय ठाउँमा पनि साह्रै बढी स्वच्छन्दता देखापर्‍यो, यसले लोकतन्त्रलाई नै कमजोर गर्छ । लोकतन्त्र र छाडातन्त्र एउटै हुँदैन । लोकतन्त्र र अराजकता एउटै हुँदैन भनेर अलिकति नियन्त्रण गर्न होइन, नियमनका निम्ति बहसमात्रै चलाउन खोज्दा हामीमाथि ठूलो प्रहार भइरहेको छ । यहाँसम्म कि २०७४ सालमा पास भएको मुलुकी फौजदारी संहिता र देवानी संहिता संयोगले हामी सरकारमा आएपछि २०७५ सालमा लागु भयो । त्यसमा समेत हामीलाई दोषी देखाउने प्रयास भयो । हामीमाथिको प्रहार यसरी पनि भयो ।

अर्को कुरा, मुलुकमा स्थिरता आउँदा धेरैका दोकानहरु सुकेका छन् । धेरैका प्रोजेक्ट असफल भएका छन् । धेरैको जागिर खोसिएको छ । अस्थिरताका संवाहकहरुलाई भाउन्न भएको छ र त्यो विभिन्न ढंगले प्रकट हुन्छ ।

तेस्रो, सरकारकै सन्दर्भमा कुरा गर्दा एक/डेढ वर्ष पार्टी एकतामा ढिलाइ हुँदा र पार्टीले सरकारले गरेका कामको स्वामित्व लिन नसक्दा सरकार र जनताबीचको सञ्चारको लिंक भएन । भित्तामा भएको स्वीच बोर्डमा विद्युतको सर्किट त घुमेको घुम्यै थियो । माथि बल्ब पनि राखिएकै थियो । तर, तार नजोडिँदा बत्ती बलेन । सरकारको सन्दर्भमा पनि त्यही कम्युनिकेशन ग्याप भएको जस्तो पनि लाग्छ ।

चौथो, हाम्रा केही शैलीहरुले पनि काम गरेका छन् । त्यसबाट हामीले आफूलाई सुधार्नुपर्छ । म के ठान्छु भने, हामी आज डेलिभरी दिने ठाउँमा छौं । हामी मुखले होइन, व्यवहारले जवाफ दिनुपर्ने ठाउँमा छन् । गलत कुराहरु धेरै बेर टिक्दैनन् । शीतको आयु घाम लाग्दा सम्म मात्रै हो । बेकारमा किन शीतसँग वा बिहान आउने भुईंकुहिरोसँग पाखुरा सुर्किने ? म त्यस्तो ठान्छु । यो मेरो निजी विचार हो, सबैसँग यस्तो विचार नमिल्न पनि सक्छ ।

पाँचौं कुरा चाहिँ, नेपालका कतिपय सञ्चारमाध्यमहरु व्यवसायिक भन्दा पनि कतिपय ब्यापारिक घरानाहरुको स्वार्थसँग बढी एशोसियटेड भए भन्ने मलाई लाग्छ । सरकारले एकैचोटि सबैलाई ठेक्का दिन सक्दैन । ठेक्का पाउनेले पाउँछन्, नपाउनेले मिडिया प्रयोग गर्नेजस्तो स्थिति बन्यो ।

कतिपय सन्दर्भमा हामीले देखिरहेका छौं, एक महिनासम्म लगातार एउटा कुनै ईस्युमा कभर स्टोरी, फिचर र फलोअपहरु आउँछन् । एकतीसौं दिनको दिन ज्याकेट एड आएर पत्रिका सर्लक्क ढाकिएपछि त्यो मुद्दा नै सकिन्छ । हामी मुद्दामा कम, मुद्दामार्फत आउने बार्गेनिङहरुमा अल्झिएको देखिन्छ, कहिलेकाहिँ । मिडियाभित्र घुसेको यो प्रवृत्तिले पनि अलिकति काम गरेको छ ।

तर म, यसमा धेरै चिन्तित किन हुन्न भने तपाईले त्यही कुरा मलाई दिनुभयो जुन तपाईसँग छ । तपाईसँग घृणा छ भने त्या तपाईको समस्या हो, मैले किन टाउको दुखाउने । तपाईमा निरन्तर एकखालको कुण्ठा छ भने त्यो तपाईको समस्या हो, मैले किन टाउको दुखाउने । हामी निरन्तर काम गर्दै जाउँ, कुन्ती मोक्तानको गतजस्तै खुट्टा तान्दै गर ।

हामी आफ्नो बाटो हिँड्दै जाउँ, खुट्टा तान्ने लागिरहेकै हुन्छन् । हामी सही बाटोमा छौं भने डराउनु पर्दैन । नेकपाले स्थिर सरकार दिन्छ । पाँच वर्षमा हामी समृद्धिको आधार निर्माण गर्छौं । अहिले प्रधानमन्त्रीलाई कमजोर गर्ने सोच र प्रयत्नहरु भइरहेका छन्, तर हामी ती सबै प्रयत्नहरुलाई परास्त गरेर अघि बढ्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment