२९ कात्तिक, गुल्मी । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले हाल गठन गरिएको सरकारलाई संविधानसम्मत नभएको आरोप लगाउँदै टिप्पणी गरेका छन् ।
नेकपा एमाले गुल्मीले शनिबार गुल्मी सदरमुकाम तम्घासमा नेकपा एमाले गुल्मीले राखेको संविधानको रक्षा र प्रतिगमन विरुद्ध जनसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
संवैधानिक प्रक्रिया र राजनीतिक मर्यादा विपरीत ‘टिका लगाएर सरकार बनाउने’ अभ्यासको कुनै वैधानिक हैसियत नहुने उनको दाबी छ ।
‘टिका लगाएर बनाइएको सरकारलाई संविधानले चिन्दैन,’ उनले भने, ‘सरकार गठनको आधार संसदीय समर्थन, संवैधानिक प्रक्रिया र जनादेश हो ।’
उनले संवैधानिक व्यवस्थालाई बेवास्ता गरेर गरिएको कुनै पनि शक्ति हस्तान्तरण लोकतन्त्रको अपमान भएको बताए ।
सरकार गठनका नाममा भइरहेको असंवैधानिक अभ्यासले देशलाई अस्थिरततर्फ धकेलिरहेको उनले बताए । संविधानले तोकेको बाटो छाडेर जहाँ–जसरी सरकार बनाइन्छ, त्यो स्वत: अवैध हुन्छ, उनले भने ।
एमालेले पछिल्लो घटनाक्रमको गम्भीर छानबिन र संवैधानिक प्रक्रिया अनुसार पुन: राजनीतिक व्यवस्थापन हुनुपर्ने माग अघि सारेको बताए ।
गत भदौ २३ र २४ गतेको प्रदर्शनलाई लक्षित गर्दै केही समूहले योजनाबद्ध रूपमा अराजकता फैलाएको र देशको लोकतान्त्रिक वातावरणलाई कमजोर पार्ने प्रयास भएको बताए । ‘कलिला विद्यार्थीमाथि आगो थोपर्ने जस्ता अमानवीय गतिविधि को कसले गर्यो भन्ने छानबिन अनिवार्य छ,’ उनले भने ।
सिंहदरबार, सर्वोच्च अदालतको भवनलगायत सयौँ सरकारी कार्यालय एवं निजी सम्पत्तिमा क्षति पुर्याउने महिनौँ अघिदेखि नै यस्ता गतिविधिका लागि तयारी भइरहेको प्रमाण देखिएको दाबी गर्दै सम्बन्धित पक्षको गम्भीर छानबिन माग गरे ।
प्रतिक्रिया 4