Comments Add Comment

एकै दिन २० प्रतिशतभन्दा बढीले घट्यो तेलको भाउ

२६ फागुन, काठमाडौं । विश्व बजारमा कच्चा तेलको भाउ सोमबार २० प्रतिशतभन्दा बढीले घटेको छ । साउदी अरेबियाले एकतर्फी रुपमा घरेलु बजारमा तेलको भाउ घटाएसँगै सोमबार तेलको भाउमा ठूलो कमी देखिएको हो ।

पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकको संगठन (ओपेक) र उसका सहयोगी मुलुकको बीचमा तेल उत्पादन कटौतीबारे सम्झौता हुन नसकेपछि साउदीले एकतर्फी रुपमा तेलको भाउ घटाएको हो । समाचारमा बताइएअनुसार अहिले साउदी आफ्नो तेल उत्पादन पनि बढाउने तयारीमा रहेको छ । यसले तेल उत्पादक मुलुकको बीचमा मूल्यको युद्ध हुनसक्ने आशंका बढेको छ ।

यो समाचार तयार पार्दासम्म पाँच बजे ब्रेन्ट कच्चा तेलको भाउ अघिल्लो दिनको तुलनामा प्रतिब्यारेल २२ दशमलव ०५ प्रतिशत घटेर ३५ दशमलव २९ डलरमा आइपुगेको छ । त्यस्तै अमेरिकाको वेस्ट टेक्सास इन्टरमिडियट कच्चा तेलको भाउ पनि प्रतिब्यारेल २२ दशमलव ८२ प्रतिशत घट्दै ३१ दशमलव ८६ प्रतिशतमा आइपुगेको छ ।

ओपेक र उसका सहयोगी मुलुकको बीचमा अत्यधिक उत्पादनको समस्याबारे विवाद देखिएको थियो । तेल उत्पादक मुलुकमध्ये साउदी अरेबियाको लागत सबैभन्दा कम छ । त्यसैले पनि उसले तेलको भाउ घटाउँदै उत्पादन बढाउने निर्णय गरेको हो । तर, यसको असर समग्र तेलको बजारमा परेको हो ।

साउदी अरेबियाले शनिबार तेल विक्री गर्दा उल्लेख्य छुट दिने र तेल उत्पादन दैनिक १ करोड ब्यारेलभन्दा बढी पुर्‍याइने बताएको थियो । अहिले साउदी अरेबियाले दैनिक ९७ लाख ब्यारेल तेल उत्पादन गर्दै आएको छ । तर, उसको तेल उत्पादन क्षमता दैनिक १ करोड २५ लाख ब्यारेल छ ।

गत शुक्रबार भियन्नामा भएको ओपेक र उसका सहयोगी मुलुकको बैठकमा तेल उत्पादन अप्रिलदेखि १५ लाख ब्यारेल प्रतिदिनको दरले कटौती गर्ने प्रस्ताव अघि सारिएको थियो । तर, यो प्रस्ताव रुसले अस्वीकार गरेको थियो ।

यसअघि नै तेलको भाउ चीनबाट फैलिएको कोरोना भाइरस कोभिड–१९ को कारण कमजोर बन्न पुगेको अवस्थामा तेल उत्पादक मुलुकबीच बढेको तनावले तेलको भाउ घट्नमा अझै ठूलो सहयोग गरेको हो । विश्लेषकहरुले तेलको भाउ अझै कमजोर बन्नसक्ने भन्दै चेतावनी दिइसकेका छन् ।

तर, केहीले भने साउदी अरेबिया र रुसको बीचमा अझै पनि सहमति हुन सक्ने र यसले तेलको घट्दो भाउलाई उकास्न सहयोग पुग्ने बताएका छन् । यसअघि तेलको भाउ सन् २०१६ को जनवरीमा अहिलेसम्मकै कमजोर विन्दुमा आइपुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment