Comments Add Comment

धरहरा पुनर्निर्माण : ८ तलाको काम सकियो, असोजमा तयार हुने

Photo Credit : फाइल तस्वीर

२७ फागुन, काठमाडौं । गोरखा भूकम्पले क्षति पुर्‍याएको ऐतिहासिक धरहरा पुनर्निर्माण ०७७ असोज महिनाभित्रमा सक्ने गरी काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको छ ।

नौतलाको काम जारी रहेको , हालसम्मको ३३ प्रतिशत सम्पन्न र रु ८५ करोड खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले जानकारी गराए ।

दुई वर्षमा सम्पन्न गर्नेगरी रमन कन्सट्रक्शनले पुनर्निर्माणको जिम्मा पाएको थियो । जम्मा रु तीन अर्ब ४८ करोड खर्च हुने जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गतवर्ष धरहरा पुनर्निर्माणको शिलान्यास गरेका थिए । अहिले दैनिक १५० कामदार निर्माणमा खटिएका छन् । पहिलेभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ । दुईवटा लिफ्ट पनि हुनेछ । साथै एउटा परम्परागत भर्याङ रहनेछ । लिफ्ट र भर्याङ दुईवटै माध्यमबाट धरहरा चढ्न सकिनेछ । ४२ रोपनी क्षेत्रफलमा निर्माण सुरु गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भएता पनि भित्र भने २२ तला, उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ ।

बगैंचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन् । गोश्वारा हुलाक भएको स्थानमा उद्यान बनाइनेछ । उद्यानभित्र बस्ने ठाउँ, ढुङगेधारा, हरियाली, चमेनागृह हुनेछ । धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछन् ।

बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनर्निर्माण हुनेछ । पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment