Comments Add Comment

हाँस्य कलाकारका फिल्मः ‘धुर्मुस–सुन्तली असफल, शिवहरिको पर्खाई’

कोरोनाको त्रासका कारण चलचित्रको रिलिज मिति पछि सरिरहेको छ । यसैले पनि चैत्रको २१ गते रिलिज हुन लागेको चलचित्र ‘लक्का जवान’को निर्माण टिमले के निर्णय गर्छ भन्ने प्रतिक्षा धेरैलाई छ । यो बर्ष हाँस्य कलाकारको टिमले बनाएका ४ वटा चलचित्र बजारमा देखिएका छन् । जसमा ‘लक्का जवान’लाई छाड्ने हो भने, ३ वटा चलचित्र रिलिज भैसकेका छन् ।

वैशाख महिनामा ‘दाल भात तरकारी’, असोज महिनामा ‘छ माया छपक्कै’ र फागुण महिनामा ‘सेन्टी भाइरस’ रिलिज भए । तर, दिपकराज गिरी र उनको टिमले बनाएको चलचित्र बाहेक अरुले दर्शकलाई निराश बनाए । विशेषगरि, यो बर्ष धेरैको ध्यान कलाकारद्धय सिताराम कट्टेल र कुञ्जना घिमिरेको चलचित्रमाथि थियो ।

सिताराम र कुञ्जनाका लागि ठूलो अवसर पनि सिर्जना नभएको होइन । दर्शकले उनीहरुमाथि विश्वास नगरेका पनि होइनन् । तर, चलचित्र निर्माणमा उनीहरुले बढी ध्यान दिन नसक्दा चलचित्र कमजोर बन्यो ।

सुरुका २ दिनमा राम्रै व्यापार गरेपनि यसपछि भने चलचित्र चिप्लियो । उनीहरुले, दर्शकबाट पाएको मायालाई राम्रैसँग सदुपयोग गरिदिएको भए यसले नयाँ रेकर्ड राख्ने संभावना पनि थियो । चलचित्रले नेपाली बजारबाट लगानी सुरक्षित नगर्ने निश्चित देखिएको छ । यसअर्थमा, यो चलचित्र बक्स अफिसमा असफल देखिएको छ ।

यो बर्ष ‘मह जोडी’ले बनाएको चलचित्र ‘दाल भात तरकारी’ पनि चिप्लियो । चलचित्रले सुरुवाती दिनमा बम्पर कारोबार गरेपनि कमजोर वर्ड अफ माउथका कारण लामो समयसम्म हलमा टिक्न सकेन ।

हाँस्य कलाकारहरुकै अर्को टिम दिपकराज गिरी र उनको यूनिटले बनाएको ‘छ माया छपक्कै’ले पनि दर्शकको माया धपक्कै पायो । यो चलचित्रले समिक्षकको समिक्षा पनि राम्रो पाएको थियो । जसलेगर्दा, उनीहरुले भने आफ्नो विश्वसनियता गुमाएका छैनन् ।

‘लक्का जवान’का निर्देशक शिवहरि पौडेलको निर्देशनको प्रतिक्षा दर्शक र चलचित्रकर्मीलाई छ । यसको निर्माणपक्षले चैत्र १ गते चलचित्र रिलिज गर्ने वा नगर्ने निर्णय लिने बताइएको छ ।

सुरुवाती दिनमा एकजुट भएर चलचित्र निर्माण गरेका हाँस्य कलाकारहरु अहिले पनि विभाजित भएर चलचित्र निर्माण गरिरहेका छन् । यसैले पनि अब, चलचित्र क्षेत्रमा उनीहरुविच नै प्रतिस्पर्धा चल्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment