Comments Add Comment

कोरोना भाइरसका कारण नेपालमा समस्या भए चीनले सहयोग गर्छ : राजदूत यान्छी

२७ फागुन, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालमा कोरोना भाइरसका कारण कुनै समस्या भए त्यसको समाधानमा चीन सरकारले सहयोग गर्ने आश्वासन दिएकी छिन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग मंगलबार भेट गर्दै राजदूत यान्छीले नेपालमा कोरोनाको संक्रमण नफैलने विश्वास समेत व्यक्त गरेकी छिन् ।
राजदूत यान्छीले नेपालमा कोरोनाभाइरसको सङ्क्रमण नफैलिने विश्वास व्यक्त गर्दै यदि नेपालमा समस्या भए नियन्त्रणका लागि चीनको पुरा सहयोग रहने बताएको मन्त्री भट्टराईको सचिवालयले जनाएको छ ।

चीनले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणको लागि अपनाएका सबै खालका सहयोग र सूचना उपलब्ध गराउन तयार रहेको उनले बताएकी हुन् । सचिवालयका अनुसार मन्त्री भट्टराई र चिनियाँ राजदूतबीच कोरोना भाइरसको सङ्क्रमणले देखिएका समस्या र यसका रोकथाममा भइरहेका प्रयासबारे छलफल भएको थियो ।

भेटमा राजदूत यान्छीले कोरोनाभाइरस नियन्त्रण र रोकथामका लागि चीनले गरीरहेको प्रयासबारे जानकारी गराएकी थिइन् । राजदूत यान्छीले कोरोनाभाइरसको सङ्क्रमणबाट पिडित भएका करिब ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको बताइन् ।

उनले चाँडै नै कोरोनाभाइरसको सङ्क्रमणबाट चीन मुक्त हुने विश्वास समेत व्यक्त गरेकी छिन् । मन्त्री भट्टराईले कोरोनाभाइरसको सङ्क्रमण रोकथामको लागि नेपालले सबै तयारी गरीरहेको जानकारी गराएका थिए ।

अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच, अस्पतालहरुमा वेडको व्यवस्थापन, आवश्यक क्वारेन्टाइनको व्यवस्थालगायतका बिषयमा सरकारले गरिरहेको तयारीबारे मन्त्री भट्टराईले जानकारी गराएका थिए ।

मन्त्री भट्टराईले कोरोना भाइरसको सङ्क्रमण रोकथामको निम्ती सरकारले भिडभाड हुने कार्यक्रम, सार्वजनिक स्थलहरुमा भेला नगर्न सचेत गराएको बताए । उनले कोरोनाभाइरसको बारेमा सञ्चार माध्यमहरुबाट सचेताना मुलक सूचनाहरु पनि प्रवाह भइरहेको बताएको सचिवालयले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment