Comments Add Comment

अस्पतालले भन्यो – प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण कानूनसम्मत

२७ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण कानुन बमोजिमको नाता प्रमाणित गर्ने कागजातकै आधारमा गरिएको स्पष्टिकरण दिएको छ ।

अस्पतालको तर्फबाट मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेफ्रोलोजी विभागकी प्रमुख डा.दिव्यासिंह शाहले आफूहरु २०० प्रतिशत विश्वस्त भएर मात्र मिर्गौला प्रत्यारोपण गरिएको बताएकी हुन् ।

प्रधानमन्त्री ओली र उनलाई मिर्गौला दान गर्ने भाञ्जी नाता पर्ने समीक्षा संग्रौला एकाघरकै सदस्य नभएको भन्दै प्रश्न उठेको थियो ।

अस्पतालले सबै कागजपत्र र नाता प्रमाणित हुने आधार प्रष्ट भएपछि मात्र समीक्षाको मिर्गौला प्रधानमन्त्रीलाई प्रत्यारोपण गरिएको जनाएको छ ।

प्रधानमन्त्रीको निजी चिकित्सकसमेत रहेकी डा. शाहले मामा भाञ्जीको नाता बायोमेट्रिकबाट समेत प्रमाणका रुपमा लिइएको बताइन् ।

उनले भनिन्– ‘उहाँहरुले ल्याउनुभएका कागजपत्र प्रमाणित भएर मात्र हामीले गरेका हौं । प्रधानमन्त्रीले समेत बायोमेट्रिक दिनुभएको छ । हामी अरु बिरामीको जस्तै उहाँको पनि बायोमेट्रिक भिडियोसमेत राखेका छौं । हामी २०० प्रतिशत विश्वस्त नभई गर्दैनौं ।’

कुनै व्यक्तिले मिर्गौला दिन्छु भनेर आउँदैमा कानुनका सबै कुरा नहेरी स्वीकार्य नहुने समेत उनले बताइन् । डा. शाहले प्रधानमन्त्रीको आफन्तभित्रै अन्य सदस्यहरुको समेत परीक्षण गर्दा समीक्षाकै मिर्गाैला म्याच भएपछि लिइएको समेत बताइन् ।

नाता कानुन बमोजिम मिल्छ कि मिल्दैन भनेर हेर्न शिक्षण अस्पतालमा समेत अलग्गै युनिट रहेको उनले बताइन् । वकिल, सीडीओ कार्यालयका प्रतिनिधिसमेत रहेको समितिले नाता प्रमाणितको कागजात गरेरमात्र अरु सर्वसाधारणकै जसरी गरिएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment