२५ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद नरबहादुर बिष्टले सरकारसँग राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण नरहेको भन्दै प्रधानमन्त्री कार्यालयबाटै नागरिकलाई गाली गर्ने ‘नेटवर्क’ सञ्चालन भइरहेको गम्भीर आरोप लगाएका छन्।
बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद बिष्टले सरकार सामाजिक सञ्जालमा स्टाटस लेख्ने र एकअर्कालाई गाली गर्ने काममा मात्र केन्द्रित भएको टिप्पणी गरेका हुन्। सामाजिक सञ्जालमा न्याय माग्ने नागरिकमाथि गालीगलौजको वर्षा भइरहेको भन्दै उनले त्यसको नेतृत्व प्रधानमन्त्री कार्यालयले नै गरिरहेको दाबी गरे।
‘यो सरकार आफैँलाई कहाँ जाने भन्ने पनि थाहा छैन। राज्य सञ्चालन कसरी गर्ने भन्ने पनि थाहा छैन। कानुन पनि पढेका छैनन्, संविधान पनि पढेका छैनन्,’ सरकारको चर्को आलोचना गर्दै बिष्टले भने, ‘आफ्नो असक्षमता लुकाउन दोष कर्मचारीलाई दिन्छन्, विगतको ३५ वर्षलाई दिन्छन्। यिनीहरूसँग न कुनै दर्शन छ, न कुनै राजनीतिक ज्ञान छ।’
सरकारसँग आगामी पाँच वर्ष वा सुरुवाती दुई वर्षमा के गर्ने भन्ने कुनै रणनीतिक खाका र कार्यक्रम नै नभएको उनको भनाइ थियो।
सत्ताधारी पार्टीका सभापतिले बुधबार संसद्मा गालीगलौज गर्नेलाई कारबाही गर्ने भनी दिएको अभिव्यक्तिको प्रसंग उल्लेख गर्दै बिष्टले कटाक्ष गरे, ‘सत्ताधारी पार्टीका सभापतिज्यूले हिजो कारबाही गर्छौँ भनेर त भन्नुभयो। तर यो प्रधानमन्त्रीको कार्यालयबाटै यी नेटवर्कहरू चलिराखेका छन्। हिजो गाली गर्न र सिंहदरबार जलाउने संस्कार सिकाएपछि अहिले आएर गाली नगर भन्दैमा मान्छन् त ?’
आफ्ना कार्यकर्तालाई उत्तेजित बनाएर विगतमा गलत संस्कार सिकाएकै कारण अहिले सत्तापक्षले सामाजिक सञ्जालको भीडलाई नियन्त्रण गर्न नसकेको उनको निष्कर्ष थियो।
प्रतिक्रिया 4