Comments Add Comment

कोरोना प्रभावित ५ देशबाट खाद्यवस्तु आयातमा रोक

२७ फागुन, काठमाडौं । कृृषि तथा पशुपछी विकास मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट अति प्रभावित पाँच मुलुकबाट पशु, विरुवा र खाद्यवस्तु आयातमा रोक लगाएको छ ।

चीन, दक्षिण कोरिया, इटाली, जापान र इरानबाट कुनै पनि प्रकारका पशु तथा पशुजन्य, विरुवा तथा विरुवाजन्य तथा खाद्यवस्तुको आयात सिफारिस प्रदान गर्ने कार्य स्थगित गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले अन्य प्रभावित मुलुकहरुबाट आयात हुने वस्तुहरुको हकमा जोखिम विशलेषण गरी आवश्यकतानुसार क्वारेन्टाइन गरी सुरक्षित भएपछि मात्र मुलुकभित्र प्रवेश गर्न दिने व्यवस्था गरिएको मन्त्रालयका प्रवक्ता डा‍. हरिबहादुर केसीले जानकारी दिए ।

संक्रमित मुलुकबाट आयात इजाजत पत्र नलिई आयात गरिएका त्यस्ता वस्तु तथा खाद्यवस्तुको कन्साइनमेन्टहरुलाई नष्ट गर्नसमेत मन्त्रालयले क्वारेन्टाइन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

यस्तै मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहितका देशैभरका क्वारेन्टाइन चेक पोष्टहरुलाई विशेष निगरानी गर्न एवं भन्सार तथा सुरक्षा निकायहरुसँग समन्वयमा कार्य गर्न कर्मचारीलाई निर्देशन जारी गरेको पनि प्रवक्ता केसीले बताए ।

क्वारेन्टाइन कार्यालयहरुमा खटिएका कर्मचारीको स्वास्थ्यलाई मध्यनजर गर्दै पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) तथा निसंक्रमणमा प्रयोग हुने भिर्काेनलगायतका स्प्रेयरको व्यवस्थापन पशु सेवा विभागबाट गर्ने व्यवस्था मिलाइएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालय माताहत पशु क्वारेन्टाइन कार्यालय काकडभिट्टा, विराटनगर, जनकपुर, वीरगंज, काठमाडौं, भैरहवा, नेपालगञ्ज, गड्डाचौकी गरी आठ ओटा पशु क्वारेन्टाइन चेकपोष्ट नेपाल-भारततर्फ २१ ओटा, नेपाल-चीन तीन र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ एक र आन्तरिकतर्फ तीन ओटा रहेका छन् ।

प्लान्ट क्वारेन्टाइन चेकपोष्ट १५ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा खाद्य क्वारेन्टाइन चेक पोष्ट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment