Comments Add Comment

सालझण्डीमा सर्पदंश उपचार केन्द्र सञ्चालन

२८ फागुन, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाको सालझण्डीमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको छ ।

नगरपालिकाको वडा नंं ११ पीपलडाँडास्थित करिब १४ कट्ठा जग्गामा एक करोड ११ लाख रुपैयाँ लागतमा उपचार केन्द्र सञ्चालनमा आएको हो ।

नगरपालिका मातहतमा सञ्चालन हुने केन्द्रमा सर्पदंशका बिरामीको उपचार गर्न नेपाली सेनाको सहकार्यमा एक जना र संघीय स्वास्थ्य मन्त्रालयबाट एकजना गरी दुईजना विशेषज्ञ चिकित्सक रहने छन् ।

केन्द्रको भवनको माथिल्लो तलामा सर्पदंश उपचार केन्द्र र तल्लो तलामा स्वास्थ्य चौकी रहने सैनामैना नगरपालिका वडा नंं. ११ का अध्यक्ष सुनिल मरासिनीले बताए ।

उपचार केन्द्रबाट रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, पाल्पासम्मका जनता लाभान्वित हुने केन्द्रका व्यवस्थापन समिति अध्यक्ष मिनप्रसाद घिमिरेले बताए । सर्पदंश उपचार केन्द्र निर्माणका लागि २०७२ सालमा श्रीमद् भागवत महायज्ञ आयोजना गरी ६९ लाख रुपैयाँ बचत भएको थियो ।

केन्द्रको भवन बनाउन सैनामैना नगरपालिकाले २९ लाख ५५ हजार रुपैयाँ, स्थानीय नरिश्वर पाण्डेले तीन लाख रुपैयाँ, कञ्चन गाउँपालिकाले ९८ हजार, गैडहवा गाउँपालिकाले एकलाख र भूपु सैनिक सालझण्डीले ५५ हजार रुपैयाँ प्रदान गरेका थिए ।

केन्द्रको भवन निर्माणमा नेपाली सेनाको कालिदत्त गुल्मका सैनिकले श्रमदान गरेका थिए । उपचार केन्द्रमा दक्ष जनशक्ति व्यवस्थाका लागि संघीय मन्त्रालयबाट दरबन्दी स्वीकृत गराइसकिएको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले बताए ।

२०७५ फागुनमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भए पनि एक वर्ष ढिला गरी उपचार केन्द्र निर्माण सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment