Comments Add Comment

राजतन्त्र मानिँदैन भन्दै सूर्यबहादुरका छोराले राप्रपाको एकीकरण बहिस्कार गरे

२८ फागुन, काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार राष्ट्रिय सभागृहमा धुमधामका साथ एकता–सभा मनाइरहँदा पूर्वमन्त्री सुनीलबहादुर थापा भने मालीगाउँस्थित आफ्नै निवासमा निकटस्थसँग बैठक गरिरहेका थिए ।

सुनीलबहादुर थापा राप्रपाका संस्थापक नेता स्व. सूर्यबहादुर थापाका छोरा हुन् । उनले आफ्ना पिताको राजनीतिक लाइनमा अडिग रहने बताउँदै एकीकरण सभा बहिस्कार गरेका हुन् ।

राजतन्त्रको पक्षमा उभिँदै आएको कमल थापा नेतृत्वको पार्टीसँग एकता गर्ने पशुपति समशेरको निर्णयमाथि आपत्ति जनाउँदै सुनीलले मंगलबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठक पनि बहिस्कार गरेका थिए ।

पशुपतिसमशेर राणाको नेतृत्वले गणतन्त्र र संघीयताको विरुद्धमा राजतन्त्रलाई स्वीकार गरेको हुनाले आफू एकीकरणमा सहभागी नभएको थापाको तर्क छ । सत्तामा रहेका केही नेताहरुको कमजोरीलाई देखाएर सिंगै व्यवस्थाको विरोध गर्न नमिल्ने थापाको मत छ ।

सूर्यबहादुर थापाको नेतृत्वमा रहेको राप्रपाले गणतन्त्र र संघीयताको पक्ष लिँदै आएको थियो । सूर्यबहादुरको निधनपछि पनि राप्रपाले गणतन्त्र र संघीयतासहितको संविधानलाई स्वीकार गर्दै आएको थियो ।

छोरा सुनीलले पनि ०६२/०६३ को ऐतिहासिक जनआन्दोलनबाट प्राप्त परिवर्तनलाई राप्रपाले स्वीकार्नुपर्छ भनेर पार्टीभित्र वकालत गर्दै आएका थिए । अहिलेको संविधानलाई अस्थिर तुल्याउन पार्टीले आफ्नो रुप परिवर्तन गर्न नहुने थापाको मत छ ।

संस्थापक नेता सूर्यबहादुर थापाले लिएको राजनीतिक अडानबाट राप्रपाको नेतृत्व विचलित भएको सुनीलले आरोप लगाएका छन् ।

आफू संविधानसभाको सदस्य हुनुका साथै संविधान जारी गर्ने बेलाको सरकारको मन्त्रीका रूपमा संविधान जारी गर्ने काममा भूमिका खेलेको हुनाले आफूले गणतन्त्रलाई अस्वीकार गर्नु अनैतिक हुने सुनीलले बताएका छन् ।

सूर्यबहादुर थापाले सन् २०१५ मा आफ्नो मृत्युपूर्व आफ्नै निवासमा जनआन्दोलनका पक्षधर राजनीतिक दलका नेताहरुलाई बोलाएर गणतन्त्रतात्मक संविधानको पक्षमा जनाएको प्रतिवद्धतालाई पनि छोरा सुनीलले स्मरण गरेका छन् ।

थापा निकट स्रोतको दाबीअनुसार राजतन्त्रको लाइनमा असहमत हुने गणतन्त्र पक्षधर नेताहरु राप्रपाभित्र अरु पनि छन् । उनीहरुका बीचमा अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भइरहेको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment