Comments Add Comment

मिटरब्याजको पैसा तिर्न आफ्नै अपहरणको नाटक, बाबुसँग ३० लाख फिरौती माग

२८  फागुन, विराटनगर । मोरङ बुढीगंगा ३ का मुकेशकुमार महतो गएको शुक्रबार घरबाट एकाएक हराउँछन् । दिउँसो ११ बजेतिर बुबा शिवनारायणलाई फोन गरेर आफू अपहरणमा परेको र अपहरणकारीले ३० लाख फिरौती मागेको बताउँछन् ।

फिरौती नदिए मार्ने धम्की दिएको बताएपछि परिवारमा रुवाबासी चल्छ । बुवा शिवनारायण पैसाका जोहो गर्नतर्फ लाग्छन् ।

उनले छोरासंग फोन सम्पर्क गरी फिरौती रकम घटाउन पटक पटक कुराकानी गर्छन् । तर मुकेशले फिरौती माग्ने समुह रकम घटाउन नमानेको बताउँछन् ।
घटनाको भोलिपल्ट शिवनारायणले घटनाबारे प्रहरीमा जानकारी गराउँछन् । मुकेशले आफूलाई अपहरणकारीले लाहानमा राखेको जानकारी गराएपछि प्रहरी टोलीले त्यसतर्फ खोजी सुरु गर्छ ।

मुकेशले फागुन २६ गते फोन गरेर आफूलाई अपहरणकारीले कोशी व्यारेजमा राखेको र फिरौती रकम २१ लाख रुपैयाँ लिन राजी भएको बताउँछन् ।

भेट्ने लोकेसन बताएपछि शिवनारायणले फिरौती वापतको २१ लाख रुपैया विराटनगर ४ स्थित एरपोर्टलाईनमा रहेको नहरको छेउमा लगेर छाड्छन् ।

शिवनारायणले छोरा मुकेशलाई पैसा बुझाएको जानकारी गराउँदै कहाँ राखेको भन्नेबारे बुझ्छन् । मुकेशले आफू भण्टाबारीमा रहेको जानकारी गराएपछि प्रहरीसमेत पुगेर उनलाई नियन्त्रणमा लिन्छ ।

मुकेश नियन्त्रणमा आएसँगै नक्कली अपहरणको रहस्य खुल्छ । २४ वर्षका मुकेशले मिटर ब्याजमा लिएको रकम तिर्न अपहरणको नाटक गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

छोराले अपहरणको नाटटक गरेकामा बाबु शिवनारायण आश्चर्यमा परेका छन् । ‘मेरो सम्पुर्ण व्यापार व्यवसाय उसले नै सम्हाल्दै आएको थियो’ उनले भने ‘मैसंग रकम असुल्न छोराले यतिको नांटक रचेको सुन्दा अचम्ममा परेको छु । एक्लो छोराले पैसा चाहियो भनेर मागेको भए पाँच ,दश लाख दिन मलाई कुनै समस्या थिएन ।’

शिवनारायणले छोराको व्यवहार पत्याउन गाह्रो भएको बताए । शिवनारायण लामो समयदेखि निर्माण व्यवसायमा छन् ।

प्रहरीले फिरौती रकम लिन सहयोगी बनेका शिवनारायणकोमा काम गर्ने कृष्ण राजवंशीलाई पनि नियन्त्रणमा लिएको छ ।

उनले मुकेशको सहयोगीका रुपमा काम गरेको पाइएको मोरङका प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।

फिरौती लिएको रकममध्ये करिब डेढ लाख उनीहरुले खर्च गरेको र बाँकी बरामद भएको उनले बताए ।

प्रहरीका अनुसार मुकेशले एक वर्षअगाडि सापटी लिएको ५ लाख रुपैयाँ मिटर ब्याजका कारण ९६ लाख पुगेको र उक्त रकम नतिरे ज्यान मार्ने धम्की दिएकाले अपहरणको नाटक गरेर रकम उठाएको बताए ।

घर परिवारबाट पैसा माग्न लाज लागेर अपहरणको नाटक गरेको अनुसन्धानबाट खुलेको डीएसपी राईले बताए ।

प्रहरीले मुकेशलाई अपराधिक लाभ लिने उद्देश्यले घटना गराएको अभियोगमा अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment