Comments Add Comment

प्रदेश ५ मा बर्थिङ सेन्टर सुधार्न १० करोड बजेट

२८ फागुन, बुटवल । प्रदेश ५ मा वर्थिङ सेन्टर सुधारका लागि १० करोड रुपैयाँ खर्च गरिने भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले वर्थिङ सेन्टरका लागि उपकरण खरिद र स्वास्थ्यकर्मीलाई तालिम दिन लागेको हो ।

संघीय सरकारबाट विशेष अनुदान वापत १० करोड रुपैयाँबाट प्रदेशका तीन सय ६३ मध्ये एक सय ३५ बर्थिङ सेन्टका लागि आवश्यक उपकरण खरिद र जनशक्तिलाई तालिम दिइने मन्त्रालयले जनाएको छ ।

मातृ शिशु रुग्णता तथा मृत्यु न्यूनीकरण कार्यक्रमअन्तर्गत २ सय ९० जना नर्सिङ कर्मचारीलाई २ महिनाको दक्ष प्रसुतिकर्मी तालिम, १२ जना चिकित्सकका लागि प्रसुतिसम्बन्धी विशेष तालिम सञ्चालन गरिने मन्त्रालय अन्तर्गतको स्वास्थ्य तालिम केन्द्र बुटवलका निर्देशक महेश्वर श्रेष्ठले बताए ।

त्यस्तै ग्रामीण क्षेत्रका बर्थिङ सेन्टरमा कार्यरत ३० जना नर्सका लागि अल्ट्रासाउण्ड तालिम सञ्चालन गरिने उनले जानकारी दिए ।

हाल प्रदेश ५ मा नवजात शिशु मृत्युदर प्रति एक लाखमा ३० जना, शिशु मृत्युदर ४२ र बाल मृत्युदर ४५ जना रहेको छ । यस्तै स्वास्थ्य संस्थामा प्रसुति सेवा लिने ५९.४ प्रतिशत, दक्ष प्रसुतिकर्मीबाट प्रसुति सेवा लिने ५६.६ प्रतिशत गर्भवती महिला रहेका छन् । जसमध्ये ९३.६ प्रतिशतले सामान्य र ६.४ प्रतिशतले शल्यक्रियाद्वारा प्रसुति गराउने गरेका छन् ।

कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेशका बर्थिङ सेन्टरमा कार्यरत सबै नर्सलाई दक्ष बनाई मातृ तथा शिशु मृत्यु दर घटाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment