२८ फागुन, काठमाडौं । पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको मनहराफाँटस्थित निर्माणाधीन घरमा रिमोट कन्ट्रोलबाट बम विस्फोट गराइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले प्रारम्भिक अनुसन्धानले रिमोट कन्ट्रोलबाट बम विस्फोट गराइएको खुलेको जानकारी दिए ।
‘घरको कम्पाउन्डभित्र प्रेसर कुकर बम राखेर रिमोट कन्ट्रोलमार्फत विस्फोट गराइएको देखिएकाे छ,’ भक्तपुर प्रहरी प्रमुख प्रधानले भने। प्रधानका अनुसार, घटनास्थलमा एक झोला पनि भेटिएको छ । जसभित्र प्रेसर कुकरका टुक्रा र विष्फोटमा प्रयोग हुने सामग्रीहरु छन् ।
एसपी प्रधानका अनुसार, बास्कोटानिवासमा आक्रमण हुने अनुमान प्रहरीले पहिल्यै गरेको थियो । त्यसैले अडियो काण्डपछि प्रहरीले बास्कोटा निवाससँगै वरिपरि सुरक्षा सतर्कता बढाएको थियो । तथापि, बुधबार बिहान विस्फोटको घटना भएको प्रधानले बताए ।
‘पूर्वमन्त्री गोकुल बास्कोटाज्यूको निवासमा कुनै घटना हुने पूर्वानुमान हामीलाई थियो,’ एसपी प्रधानले सञ्चारकर्मीसँग भने, ‘यही अनुमानका आधारमा हामीले मन्त्रीज्यूको निवास र आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाएका थियौं ।’
सुरक्षासतर्कताकै बीच कसरी विस्फोटको घटना भयो भन्नेबारे भने उनले केही खुलाएनन् ।
पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको निवासमा बुधबार बिहान ७ः४५ बजे बम विस्फोट भएको थियो । विस्फोटबाट बास्कोटाको घरको कम्पाउन्ड, रोकिराखेको भ्यानसँगै छिमेकीको घरमा क्षति पुगेको छ । विष्फोटपछि सो क्षेत्रमा सेना र प्रहरीको टोली पुगेर अनुसन्धान जारी राखेका छन् ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पनि घटनास्थलको निरीक्षण गरेकी छन् ।
प्रतिक्रिया 4