Comments Add Comment

पूर्वमाओवादीमा स्वीकार्य बन्दै दौरा सुरुवाल, अब प्रचण्ड मात्र बाँकी !

नारायणकाजी भन्छन् : दौरा-सुरुवाल सामन्ती पोशाक होइन

२७ फागुन, काठमाडौं । सभामुखमा निर्वाचित भएपछि नेकपा सांसद अग्नि सापकोटाले जीवनमा दोस्रोपटक दौरा-सुरुवाल लगाए । पहिलोपटक उनले ४३ वर्ष अगाडि बेहुलो हुँदा लगाएका थिए ।

‘दौरा-सुरुवाल’ लाई सामन्ती र भारदारी पोशाक मान्ने माओवादी पार्टीको घोषित-अघोषित नीति थियो । त्यसैले बिहेमा लगाएर थन्क्याएको पोशाक फेरि झिकेर उनले लगाएनन् । दुईपटक मन्त्री हुँदा उनले कालो भादगाउँले टोपीसम्म लगाए ।

सभामुख बनेपछि चाहिँ सापकोटाका लागि यो पहिरन कसरी स्वीकार्य भयो त ? सापकोटाका छोरा दीपक सापकोटा ‘पदीय मर्यादाका हिसाबले दौरा-सुरुवाललाई ड्रेस कोडका रुपमा बुवाले स्वीकार्नुभएको’ बताउँछन् ।

‘राष्ट्रिय पोशाक मानेरभन्दा पनि सम्माननीय पदको गरिमालाई ध्यानमा राखेर औपचारिक पोशाकका रुपमा दौरा सुरुवाल लगाउने निर्णय गर्नुभएको हो,’ उनले भने, ‘पहिरन भन्ने कुरा व्यक्तिको रुप पक्ष मात्र भएकाले यसलाई उहाँले प्रधान विषयका रुपमा लिनुभएन ।’

पूर्वमाओवादीबाटै निर्वाचित अघिल्ला सभामुख कृष्णबहादुर महराले पनि दौरासुरुवाल नै लगाउने गरेकाले पनि सापकोटालाई निर्णय लिन सजिलो भयो । यद्यपि, उनले आफ्ना निकटस्थहरुसँग सल्लाह भने लिएका थिए । अरुले पनि दौरा-सुरुवाल नै लगाउँदा ठीक हुने सल्लाह दिएको दिपकले बताए ।

‘हामीले उहाँलाई पहिलोपटक दौरा-सुरुवालमा देखेका हौं । निकै सुहाएको जस्तो लागेको छ,’ उनले भने ।

मन्त्री हुँदा पनि दौरा-सुरुवाल लगाउन सापकोटालाई सल्लाह आउँथे, तर उनले त्यति रुची दिएका थिएनन् । उनी औपचारिक कार्यक्रमहरुमा तथा विदेश भ्रमणमा जाँदा कोट-पाइन्ट र कालो टोपी लगाउने गर्थे ।

उपराष्ट्रपतिले खोलेको बाटो

दोस्रो संविधानसभा चुनावपछि उपराष्ट्रपतिमा निर्वाचित भए माओवादीका पूर्वलडाकु कमाण्डर नन्दकिशोर पुन पासाङ । क्रान्तिकारी नेताका रुपमा चिनिएका उनलाई त्यसबेला सपथग्रहणमा के पोशाक लगाउलान् भन्ने जनमानसमा निकै कौतुहल थियो । अघिल्ला उपराष्ट्रपति परमानन्द झाले धोती-कुर्ता लगाएर हिन्दीमा सपथ खाँदा उत्पन्न भएको विवादले गर्दा पनि पुनले लगाउने पोशाकलाई चासोका साथ हेरिएको थियो । पुनले अन्ततः दौरासुरुवाल नै रोजे ।

‘सपथ ग्रहणमा दौरा सुरुवाल लगाउने उहाँको व्यक्तिगत निर्णय थियो, अन्तिममा मात्रै अरुलाई थाहा दिनुभएको हो,’ पुनका प्रेस संयोजक मनोज घर्तिमगर सम्झिन्छन् ।

घर्तिमगरका अनुसार उनी उपराष्ट्रपति भएपछि दौरा-सुरुवाल लगाउनका लागि धेरैले सुझाव दिएका थिए । तर, पुनले प्रतिक्रिया जनाएका थिएनन् । निकटस्थहरुसँग सल्लाह लिए पनि उनले आफ्नो निर्णय अन्तिमसम्म लुकाएका थिए । ‘तर, कसैसँग मुख नखोले पनि उहाँले पहिल्यै दौरा-सुरुवालको जोरजाम गरिसक्नुभएको रहेछ,’ घर्तिमगरले भने ।

दौरा-सुरुवाल लगाएर सपथ खाएपछि सबैतिरबाट सकारात्मक प्रतिक्रिया आएको घर्तिमगर बताउँछन् ।

‘पार्टीभित्रबाट पनि कसैले आलोचना गरेन, सकारात्मक प्रतिक्रियाहरुबाट उहाँ खुशी हुनुभयो र औपचारिक कार्यक्रममा यही पोशाकलाई निरन्तरता दिनुभयो,’ उनले भने ।

अहिले पुन महत्वपूर्ण भेटघाट तथा समारोहमा दौरासुरुवालमा सजिने गर्छन् । विदेश भ्रमणमा जाँदा वा विदेशमा हुने कार्यक्रममा पनि दौरा सुरुवाल नै लगाउँछन् । तर, कहिलेकाहीँ देशभित्र हुने हल्काफूल्का खालका कार्यक्रम वा विदेशमा घुमघाम गर्दा टाई-सुट लगाउने गर्छन् ।

टोपबहादुरदेखि रामबहादुरसम्म

खुल्ला राजनीतिमा आएपछि पहिलोपटक सार्वजनिकरुपमा दौरा-सुरुवालमा देखिएका माओवादी नेता हुन् टोपबहादुर रायमाझी । २०६७ सालमा बनेको झलनाथ खनाल नेतृत्वको सरकारमा पहिलोपटक मन्त्री बन्दा उनले एकाधचोटि दौरा-सुरुवाल लगाएका थिए । यद्यपि, सपथ ग्रहणमा भने लगाएका होइनन् ।

एकता केन्द्रबाट माओवादीमा मिसिएका नारायणकाजी श्रेष्ठले पनि परराष्ट्रमन्त्री बन्दा फाट्टफुट्ट दौरासुरुवाल लगाए । मन्त्री नरहँदा पनि उनले बेलाबखत दौरासुरुवाल लगाउने गरेका छन् ।

मन्त्री बन्दा दौरासुरुवालमा सपथ खाने पहिलो माओवादी नेताचाहिँ सुरेन्द्रकुमार कार्की (राम कार्की) हुन् । २०७३ सालमा प्रचण्ड नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री बनेका उनले सपथ ग्रहणमा दौरासुरुवाल लगाउँदा निकै चर्चा भएको थियो ।

यस्तै हालका वनमन्त्री तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले पनि दौरा-सुरुवाललाई स्वीकारेका छन् । अहिले मन्त्री रहेका अन्य पूर्वमाओवादी नेताहरु भने कोट पाइन्टमै देखिन्छन् ।

तत्कालिन माओवादीबाट प्रधानमन्त्री बनेका डा. बाबुराम भट्टराईले कोट पाइन्ट लगाएरै कार्यकाल गुजारे । उनकै सरकारले ०६८ सालमा दौरा-सुरुवाल र गुन्यूचोली ‘समयसापेक्ष नभएको’ भन्दै यसलाई राष्ट्रिय पोशाकबाट हटाएको थियो । नेपालमा लगाइने सबै पोशाकलाई राष्ट्रिय पोशाकको मान्यता उक्त सरकारले दिएको थियो ।

तर, ६५ वर्षको उमेरमा डा. भट्टराईको आङमा पर्‍यो दौरा सुरुवाल । गत वर्षको फागुनमा मध्यपहाडी लोकमार्ग अन्तर्गतका क्षेत्रहरुको भ्रमणमा गएका थिए उनी । त्यस क्रममा विभिन्न क्षेत्रमा पुग्दा त्यहाँको स्थानीयता हेरेर पोशाक परिवर्चन गरेका उनले कर्णाली प्रदेशमा दौरा-सुरुवाल लगाएका हुन् । भ्रमणमा निस्किनुपूर्व नै कहाँ जाँदा के पोशाक लगाउने भन्ने योजना बनेको थियो । पहिलोपटक दौरा-सुरुवाल लगाएको फोटो सामाजिक सञ्जालमा राख्दै डा. भट्टराईले लेखेका थिए, ‘देश अनुसारको भेष ।’

बाबुराम पत्नी हिसिला यमी भन्छिन्, ‘मैले र पार्टीका साथीहरुले त्यसबेला उहाँलाई दौरासुरुवाल लगाउन सल्लाह दिएका थियौं । मैले नै असनमा गएर २ हजार रुपैयाँमा दौरा सुरुवाल किनेर ल्याइदिएकी हुँ ।’

प्रधानमन्त्री बन्दा पनि नलगाएको पोशाक अहिले किन लगाउन सल्लाह दिनुभयो ? भन्ने प्रश्नमा त्यसबेला हिसिलाले अनलाइनखबरसँग यस्तो जवाफ दिइन्, ‘उहाँ मन्त्री, प्रधानमन्त्री बन्दा नेपालको नयाँ संविधान आएको थिएन । देशमा जातीय-सांस्कृतिक विविधतालाई अन्तरिम संविधानमा सम्वोधन हुन सकेको थिएन । अपूरो नै भए पनि अहिले गणतान्त्रिक र संघीयतामा आधारित संविधान छ । यो संविधानले देशलाई ७ प्रदेशमा छुट्याएको छ । त्यसमध्ये ६ र ७ प्रदेशमा खस-खस आर्यको बाहुल्य देखिन्छ । कणर्ाली प्रदेशको यही पहिचानलाई सम्मान गर्नका लागि उहाँले दौरा-सुरुवात लगाउनुभएको हो ।’

उक्त भ्रमणयता भट्टराईले दोहोर्‍याएर दौरा-सुरुवाल लगाएका छैनन् ।

गत मंसिरमा भएको दक्षिण एसियाली खेलकुद प्रतियोगिता ‘साग’ मा उपस्थित हुँदा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पहिलोपटक दौरा सुरुवाल लगाए । त्यसबेला सागकै बजेटमा आयोजक समितिमा रहेका केही मन्त्रीलाई दौरा-सुरुवालको व्यवस्थापन गरिएको थियो । तर, बादलले त्यसपछि फेरि दौरासुरुवाल लगाएको देखिएको छैन ।

नारायणकाजी भन्छन् – सामन्ती पोशाक होइन

पहिल्यैदेखि दौरा-सुरुवालप्रति सकारात्मक रहँदै आएका पूर्वमाओवादी नेता हुन् नारायणकाजी श्रेष्ठ । आफूले कहिल्यै पनि दौरा-सुरुवाललाई तिरस्कार नगरेको बताउँछन् उनी ।

अनलाइनखबरसँग श्रेष्ठले भने, ‘मैले पहिल्यैदेखि बेलाबखत दौरा सुरुवाल लगाउने गरेको छु । परराष्ट्र मन्त्री बन्दा पनि लगाएको हुँ । मेरो विचारमा कम्युनिष्टले दौरा-सुरुवाललाई बहिस्कार वा तिरस्कार गर्नुपर्ने कुनै कारण छैन ।’

जनयुद्धकालमा माओवादीभित्र दौरा-सुरुवाललाई लिएर के नीति थियो भन्ने जानकारी नभएको भन्दै उनले आफू आएपछि भने पार्टीले कहिल्यै यो पोशाक बर्जित नगरेको बताए ।

‘यो पोशाक नलगाउ भनेर पार्टीले कुनै निर्णय गरेको वा निर्देशन दिएको मेरो जानकारीमा छैन । आ-आफ्नो रुचीको पोशाक सबैले लाउन पाउनुपर्छ । व्यवहारमा पनि त्यही नै भइरहेको छ । मैले चाहिँ औपचारिक पोशाकको हिसाबले यसलाई कहिलेकाहीँ लगाउने गरेको छु,’ उनले भने ।

दौरा-सुरुवाललाई सामन्ती वा भारदारी पोशाक भन्ने स्कुलिङसँग असहमत छन् श्रेष्ठ । यो पोशाक खस-आर्यभन्दा पहिले जनजातिले लगाउने गरेको उनले दाबी गरे ।

‘दरबारिया पोशाक भन्नु बेकारको कुरा हो । पहिले जनजातिले लगाउँथे, पछि दरबारले यसलाई औपचारिक वा राष्ट्रिय पोशाकको मान्यता दिएको मात्र हो,’ उनले भने ।

दौरा-सुरुवाललाई फेरि राष्ट्रिय पोशाकको मान्यता दिने वा नदिनेबारे राष्ट्रिय बहसको आवश्यकता देख्छन् नेता श्रेष्ठ । यदि आमसहमति भएमा राष्ट्रिय पोशाकको मान्यता दिन सकिने उनको राय छ ।

‘राज्यको एउटा घोषित औपचारिक पोशाक त हुनैपर्छ,’ श्रेष्ठ भन्छन्, ‘तर, यसैलाई राष्ट्रिय पोशाक बनाउनुपर्छ भन्नुभन्दा पनि यसमा राष्ट्रिय सहमति नै होस भन्ने म चाहन्छु ।’

हालै राष्ट्रिय सभाको सदस्यका रुपमा सपथग्रहण गर्दा श्रेष्ठले दौरा-सुरुवाल लगाएपछि सामाजिक सञ्जालमा चर्चा भएको थियो । तर, आफ्नो लागि यो कुनै ठूलो विषय नभएको उनले बताए ।

‘सपथग्रहणमा लगाएँ भन्दैमा सँधै लगाउँछु भन्ने पनि होइन, यो मेरो स्थिति र सहजताका आधारमा हुन्छ,’ उनले भने ।

प्रचण्डले लगाउन बाँकी

विगतमा माओवादीको शीर्ष नेतृत्वमा रहेकामध्ये अब आङमा दौरा सुरुवाल नपारेकामा हाल नेकपा अध्यक्ष प्रचण्ड र नेकपा क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य किरण मात्र छन् ।

२०६४ सालको पहिलो संविधानसभा चुनावपछि माओवादी सबैभन्दा ठूलो पार्टी बन्यो र सो पार्टीका अध्यक्ष प्रचण्ड देशका प्रधानमन्त्री बने । उनले प्रधानमन्त्रीको सपथ खाँदा सुट र टाईमा कालो टोपी लगाएका थिए । उनको यस्तो ‘ककटेल’ पहिरनमाथि त्यतिबेला निकै चर्चा र विवाद भएको थियो । तर, प्रचण्डले आफ्नो कार्यकालभरि यही ‘ककटेल’ पहिरनलाई निरन्तरता दिए ।

दोस्रोपटक प्रधानमन्त्री बन्दा पनि प्रचण्डले दौरा-सुरुवाल लगाएनन् । तर, यतिबेलासम्म धेरै माओवादी नेताहरुले दौरा सुरुवाललाई स्वीकारीसकेका थिए । विभिन्न धार्मिक-सांस्कृतिक समुदायको कार्यक्रममा जाँदा त्यही अनुसारको पोशाक लगाइदिने प्रचण्डले अहिलेसम्म दौरासुरुवाल भने लगाएका छैनन् । उनी अहिले पनि यो पोशाकलाई सामन्तवादकै बिम्बका रुपमा लिने गर्छन् ।

पूर्वएमाले र कांग्रेसमा सर्वस्वीकार्य

६२/६३ को आन्दोलनले गणतन्त्र स्थापनापछि तत्कालिन एमालेका थुप्रै नेताहरुले केही समयसम्म दौरा-सुरुवाल ‘बहिष्कार’ गरेका थिए । तर, समयक्रममा एमालेमा दौरा-सुरुवाल स्वीकार्य बन्दै गयो । अहिले पूर्वएमालेबाट मन्त्रीभएकाहरु सबैले दौरासुरुवाल लगाउने गर्छन् ।

एमालेबाट अहिलेसम्म प्रधानमन्त्री बनेका मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली चारै जनाले दौरासुरुवाललाई औपचारिक पोशाकका रुपमा स्वीकारेका छन् । अहिले नेकपाभित्र ओलीसहित पूर्वसभामुख सुभाष नेम्वाङ र भीम रावल दौरा-सुरुवाल प्रेमीका रुपमा चिनिन्छन् ।

नेकपाले दौरा-सुरुवालको विषयमा कुनै घोषित नीति नलिएकाले नेताहरुमा स्वच्छन्दतासँगै द्विविधा पनि छ । लगाउनै पर्ने वा लगाउनै नहुने भनिएको छैन । संसदमा जाँदा पूर्वएमालेहरु दौरासुरुवाल लगाउँछन् भने पूर्व माओवादीहरु कोट-पाइन्ट । महिला सांसदको हकमा पनि पूर्वएमाले नेतृले सारीचोलो लगाएको पाइन्छ भने पूर्वमाओवादीले प्राय कोट-पाइन्ट लगाउँछन् । नेकपाभित्रका मधेसी मूलका नेताहरुले भने दौरा-सुरुवाल लगाउँदैनन् ।

लामो समय सत्तामा रहेको कांग्रेसभित्र दौरा-सुरुवाल खासै बहसको विषय बनेको छैन । कांग्रेसबाट प्रधानमन्त्री-मन्त्री बनेका सबैले दौरासुरुवाल लगाउने गरेका छन् । पार्टी अध्यक्ष शेरबहादुर देउवा प्रधानमन्त्री नरहँदा पनि दौरासुरुवाल छाड्दैनन् ।

यद्यपि, एकाध युवा नेताहरु दौरा-सुरुवाल लगाउन रुचाउँदैनन् । कांग्रेसका चर्चित युवा नेता गगन थापा संसद जाँदा हम्मेसी दौरा-सुरुवाल लगाउँदैनन् । एकपटक मन्त्री बनेका उनले सपथग्रहणमा दौरासुरुवाल लगाए पनि त्यसपछि खासै लगाएको देखिएन । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि औपचारिक कार्यक्रममा दौरासुरुवाल लगाएको देखिएको छैन । यद्यपि, उनी अहिलेसम्म मन्त्री वा सांसद बनेका पनि छैनन् ।

पछिल्ला समय कांग्रेस महामन्त्री शशांक कोइराला दौरा-सुरुवालमा देखिएपछि कोइरालाको तस्वीरले मिडियामा चर्चा पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment