Comments Add Comment

चीनसहित ५ देशबाट रोकिए खाद्यवस्तुको आयात

२८ फागुन, काठमाडौं । सरकारले चीन, दक्षिण कोरिया, इटली, इरान र जापानबाट खाद्यान्न, तरकारी, फलफूल र मासु आयातमा रोक लगाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार यी ५ देशबाट खाद्यान्न आयातको अनुमति दिन बन्द गरिएको छ ।

‘अहिलेकै स्थितिमा आयातका लागि प्राप्त भएका निवेदनमा कुनै अनुमति जारी गरिएको छैन, हामी अवस्था हेर्दैछौं,’ वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मर्हजनले भने ।

कृृषि तथा पशुपंछी विकास मन्त्रालयले कोरोना अति प्रभावित पाँच मुलुकबाट पशु, खाद्य र वनस्पतिजन्य वस्तुको आयात अनुमति नदिन विभागलाई पत्राचार गरेको थियो । त्यसपछि विभागले ड्राइफुड, स्न्याक्स र स्याउ आयातका लागि अनुमति जारी नगरेको महर्जनले जानकारी दिए ।

अब खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगै प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन विभाग र पशुसेवा विभागले यी ५ देशबाट खाद्यान्न, फलफूल, तरकारी र मासुजन्य उत्पादन आयातको अनुमति दिने छैनन् ।

अति प्रभावित देशसँग नेपालको व्यापार

सरकारको यो निर्णयले चीनसंगको आयात धेरै प्रभावित हुनेछ । चालु आर्थिक वर्षको ७ महिनामा चीनबाट नेपालले १ खर्ब ३२ अर्ब ६२ करोड रुपैयाँको वस्तु आयात गरेको छ ।

त्यस्तै इटलीबाट ३ अर्ब ६१ करोड, जापानबाट ३ अर्ब ६७ करोड ४२ लाख, दक्षिण कोरियाबाट ५५ लाख, इरानबाट ४८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको भन्सार विभागको तथ्यांक छ ।

इरानबाहेक चार मुलुकको आयात प्रभावित

यो निर्णयबाट इरानबाहेक अन्य चार मुलुकसंगको आयात प्रभावित हुने भन्सार विभागले जनाएको छ । इरानबाट भने पशु, वनस्पति र खाद्यजन्य वस्तु आयात हुँदैन ।

भन्सार विभागका अनुसार चीनबाट नेपालले जिउँदा जनावर, वनस्पतिका बिरुवा, मासुका परिकार, चकलेट, बिस्कुट, वनस्पति तेल, स्याउलगायतका वस्तु आयात गर्दै आएको छ ।

इटालीबाट जिउँदो जनावर, मासु, चिज, कफी, कालो चिया, वनस्पतिको बिउ, हरियो तरकारीको बीऊ, अलिभ तेल, सूर्यमुखीको बीऊ तथा कच्चा तेल, ससेज, चकलेट, गुलिया बिस्कुट, गोलभेँडाको केचप, वाइन, पिठो, बिरालो र कुकुरको आहार आयात हुँदै आएको छ ।

जापानबाट भने चामल, वनस्पतिको बीऊ, हरिया तरकारीको बीऊ, मकैको तेल, माछाका परिकार, पास्ता, सोय सस, अंगुरको वाइन, ह्वीस्की, औषधीजन्य वस्तु तथा वैज्ञानिक ल्याबका उपकरण आयात हुन्छन् ।

दक्षिण कोरियाबाट गत वर्ष नेपालले साढे ८ हजार किलो तरकारीको बीऊ आयात गरेको थियो । त्यहाँबाट जिउँदा जनावर, मासुका परिकार, चकलेट, बिस्कुट, जुस, सस जस्ता वस्तु नेपालमा आयात हुन्छन् ।

सरकारी निर्णयले विदेशी स्वादका केही वस्तु रोकिए पनि अत्यावश्यक वस्तु नरोकिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment