Comments Add Comment

कोरोनाविरुद्धको लडाइमा सरकारलाई सबै राजनीतिक दलको साथ

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

२८ फागुन, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारलाई सबै राजनीतिक दलले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले अझै पनि सूचना प्रवाह र भविष्यमा आइपर्ने संकट समाधानमा सरकारको पहल नपुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले बुधबार आयोजना गरेको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी लगायतले सरकारको तयारीको प्रशंसा गरे ।

प्रमुख विपक्षी नेपाली कांग्रेसका नेताहरुले भने अझै तयारी नपुगेको बताए ।

बैठकमा पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल र माधवकुमार नेपाल पनि सहभागी थिए । तर उनीहरु सुझाव नदिई बाहिरिए । कांग्रेस नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले सरकारले अहिलेसम्म गरेका काम ठीकै भए पनि ठूलो समस्या आयो भने के गर्ने भन्नेमा पर्याप्त तयारी नदेखिएको बताए ।

बैठकमा सहभागी दलका नेताहरुले कोरोनाबाट मुलुकको अर्थतन्त्रमा हुने क्षतिको अध्ययन गर्नुपर्ने बताएका थिए ।

बैठकमा राजपाका महेन्द्र यादव, समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ र नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले सरकारलाई सुझाव दिएका थिए । सरकारको तर्फबाट उपप्रधानमन्त्री पोखरेलले सरकार दलहरुका सुझावसमेत मनन गरी कोरोना विरुद्धको लडाइमा कुनै कमजोरी हुन नदिई अघि बढ्ने बताए ।

बैठकको शुरुमै स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले हालसम्म भएका काम र सम्भावित अवस्थाको पूर्व तयारीबारे जानकारी गराएका थिए । सरकारले कोरोनाविरुद्धको लडाइमा सबै राजनीतिक दल र जनताबाट साथ सहयोग खोजेको र कुनै पनि अवस्थाको लागि तयारी अवस्थामा रहेको उपप्रधामन्त्री पोखेरेलले बताए ।

त्यस्तै गृहमन्त्री रामवहादुर थापा बादल, स्वास्थ्यमन्त्री भानभुक्त ढकाल, अर्थमन्त्री युवराज खतिवडा, उद्योगमन्त्री लेखराज भट्ट,पर्यटनमन्त्री योगेश भट्टराईले आ आफ्नो मन्त्रालयबाट कोरोना संक्रमणविरुद्ध भइरहेका काम र पूर्व तयारीबारे जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment