Comments Add Comment

कोरोना डर पर्वतारोहणमा पनि, आरोहीले १४ दिने यात्रा विवरण बुझाउनुपर्ने

२७ फागुन, काठमाडौं । सरकारले बसन्त ऋतुमा हुने पर्वतारोहणमा पनि कडाइ गर्ने भएको छ । विश्वभर फैलिएको कारोना भाइरसको संक्रमण रोक्न प्रयासरत सरकारले पर्वतारोहण गतिविधि सञ्चालनमा पनि नयाँ नियम लागू गरेको हो ।

पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार अब कुनै पनि आरोहीले पर्वतारोहण अनुमति लिनु अगाडिका १४ दिनको यात्रा विवरण पेश गर्नुपर्छ ।

अहिले विश्वभर कोरोनाको संक्रमण फैलिएको छ र विश्व स्वास्थ्य संगठनका अनुसार कुनै पनि व्यक्तिमा कारोना भाइरस संक्रमण भएको २ देखि १४ दिनमा देखिन सक्छ । आरोहीहरु कोरोना प्रभावित मुलुक भएर आए नआएको थाहा भए सतर्कता अपनाउन सकिने भएकाले १४ दिने यात्रा विवरण मागिएको हो ।

आरोही र पर्वतारोही दलका सम्पूर्ण सदस्यको स्वास्थ्य रिपोर्ट पनि आरोहण व्यवस्थापन गर्ने सम्बन्धित ट्राभल एजेन्सीले अनलाइनमार्फत विभागमा बुझाउँछ ।

त्यसलाई विभागले स्वीकृत गरेपछि आरोहण अनुमति लिनुपूर्व व्यक्ति स्वयमः उपस्थित हुनुपर्नेछ ।

विभागका अनुसार अनलाइन ब्रिफिङ नभरेमा वा अस्वीकृत भएमा हिमाल चढ्न पाउँदैनन् ।

सामग्रीको सूची बुझाउनुपर्ने

अब पर्वतारोही दलले पर्वतारोहणबाहेक अन्य गतिविधि गर्ने भएमा पर्यटन विभागमा पूर्व जानकारी दिनुपर्छ । साथै, पर्वतारोही दलले पर्वतारोहणमा प्रयोग गर्न लैजाने सम्पूर्ण सामग्रीको सूचि पनि विभागमा उपलब्ध गराउनु पर्नेछ ।

आरोहण अनुमतिपत्र माग गर्दा दलका सदस्यको बीमा गरे–नगरेको यकीन गरी आरोहण अवधिको बीमा गरेको कागजात सम्बन्धित एजेन्सीले सुरक्षित राख्नुपर्ने भएको छ ।

आरोही दलसम्बद्ध पर्वतारोहण दलका साथमा जाने आरोहीको बीमा गर्दा उसको जुन भूमिका हो, त्यो खुलाउनुपर्छ । नभए आरोहण प्रमाणपत्र जारी नहुने विभागले स्पष्ट पारेको छ ।

पर्वतारोहणमा जाने दल सम्बद्ध एजेन्सीले आरोहणका गतिविधि समटेर सफल–असफल आरोहीको विवरण सहितको प्रतिवेदन विभागमा बुझाउन भनिएको छ ।

साथै आपतकालीन उद्दार गरिएका आरोहीलाई आधुनिक र सुविधा सम्पन्न आधुनिक उपकरण भएका अस्पतालमा लैजाने व्यवस्था मिलाउन विभागले निर्देशन दिएको छ ।

आपतकालीन उद्दार गरिएका आरोहीलाई कम सेवा सुविधा भएका अस्पतालमा लैजाने वा रिफर गर्ने प्रवृत्ति देखिएपछि विभागले यस्तो निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment