Comments Add Comment
सन्दर्भ– चीनबाट नेपालीको उद्धार :

सेनाको अपरेशन ‘कोभिड-१९ नेपाल’ : वुहानदेखि खरीपाटीसम्म

यसरी सफल भयो चीनबाट नेपालीलाई उद्धार गर्ने अपरेशन

२० फागुन, काठमाडौं । दुई महिनाअघि चीनमा कोरोना भाइरसको संक्रमण देखिन थालेको रिपोर्ट सार्वजनिक भएलगत्तै नेपाली सेनाको ‘डिजास्टर रेस्पोन्स एण्ड म्यानेजमेन्ट सेल’ यसको अध्ययनमा जुटिसकेको थियो ।

मुलुकमा आइपर्न सक्ने विपदको अध्ययन र पूर्वतयारीका लागि काम गर्ने सेलले कोभिड–१९ मा नजर लगाइरहेका बेला २८ जनवरीमा वुहानलाई ‘लक डाउन’ गरिएको समाचार सार्वजनिक भयो ।

त्यसपछि कोरोना प्रभावित क्षेत्रमा रहेका नेपालीको उद्धारको माग गर्दै सरकारप्रति व्यापक दबाव सिर्जना हुन थाल्यो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले माघ पहिलो साता त्यसबारे छलफलका लागि सरोकारवाला निकायको बैठक बोलाए । जसमा सैनिक स्वास्थ्य निर्देशनालयका सहायक रथी डा. सुनीलकुमार सिंहसहित स्वास्थ्य मन्त्रालयको आपतकालीन व्यवस्था महाशाखा, पर्यटन र परराष्ट्र मन्त्रालयसहित अन्य सरोकारवाला निकायका अधिकारी सहभागी थिए ।

बालुवाटारमा भएको बैठकमा ओलीले सैनिक अधिकृतहरुलाई लक्षित गर्दै सोधे, ‘चीनमा नेपाली छन्, नेपाली सेनाको के तयारी छ ?’ जवाफमा एक सैनिक अधिकृतले अहिलेसम्म यसप्रकारको कार्यमा संलग्न नभए पनि जिम्मेवारी पाए, सेनाले पूरा गर्ने बताए ।

‘यसमा काम गर्न अन्य कुनै विशिष्ट निकाय पनि छैन’, ती अधिकृतले भनेका थिए, ‘हामीले यसबारे केही अध्ययन गरेका छौं । अवसर पाए काम गर्न सकिन्छ ।’

प्रधानमन्त्री ओलीले बैठकमा सहभागी अन्यबाट पनि सुझाव लिए ।

अन्त्यमा चीनबाट उद्धार गरेर ल्याउने कार्यको नेतृत्व गर्ने जिम्मेवारी सेनालाई नै सुम्पिने निर्णय बैठकले गर्‍यो । साथै, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग पनि समन्वय गरेर उद्दार गरेर ल्याइने व्यक्तिलाई राख्ने स्थान टुग्याउन सेनालाई ओलीले निर्देशन दिए ।

‘सुरुमा केही स्थानहरु प्रस्ताव गरेका थियौं । तीमध्ये खरिपाटी नै उपयुक्त हुने निष्कर्ष निकालेर रिपोर्ट बुझायौं’, एक सैनिक अधिकृत भन्छन्, ‘त्यहीअनुसार चीनबाट नेपालीलाई उद्धार गर्ने अपरेशन सुरु भएको हो ।’

यो अपरेशनको नेतृत्वको जिम्मा प्रधानसेनाति पूर्णचन्द्र थापाले उपरथी प्रभुराम शर्मालाई दिए । जंगीअड्डामा शर्मालाई थापाको उत्तराधिकारीका रुपमा हेरिन्छ ।

थापाको मार्गनिर्देशनपछि ‘कोभिड-१९ नेपाल’ नामक अपरेशन चलाएर स्वास्थ्य मन्त्रालयको समन्वयमा सेनाले चीनबाट नेपाली उद्दारका कार्य थालेको थियो ।

उडान अघिको तयारी 

खरिपाटीमा उद्धार गरेर ल्याइएकालाई राखिने जानकारी पाउने वित्तिकै स्थानीयवासीले विरोध जनाए । केहीले घरै छाडेर हिँडे । विशेष परिस्थिति भएकाले गोप्यता कायम गर्न पनि नसकिने भएकाले केही कठिनाइ भएको थियो ।

‘खासमा उहाँहरुले कुरा बुझ्नुभएको रहेनछ, रोगी मान्छे नै ल्याउन लागिएको सरह भान परेको रहेछ’, क्वारेन्टाइनमा खटिएका मेजर एवं माहामारी विज्ञ डा. नविन फुयाल भन्छन्, ‘पछि भक्तपुरका सीडीओ, रेडक्रम लगायत स्थानीय संघसंस्थाका प्रतिनिधिहरु र हामीले बिरामी नभइ, परीक्षणबाट भाइरसको संक्रमण नदेखिएका व्यक्ति ल्याउन लागिएको भनेपछि उहाँहरु शान्त हुनुभयो ।’

डा. नविन फुयाल ।

घरघरमा पुगेर चेतना फैलाएपछि कुरा नबुझेर विरोध गरिएछ भन्ने स्थानीयवासीलाई भान भएको उनी सम्झन्छन् । एकातिर स्थानीयको विरोध मथ्थर पार्नुपर्ने आवश्यकता र अर्कातिर चीन पठाउने टोलीको तयारीमा सेनालाई जुट्नु थियो । सरकारका सबै निकायसँग समन्वय हुँदा काम सहज भएको फुयाल सम्झन्छन् ।

उनका अनुसार चीन पठाउनका लागि करिब ५० जनालाई तालिम दिइएको थियो । जसमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्य मन्त्रालयका अधिकारी सहभागी थिए ।

तालिममा मेडिकलसँग सम्बन्धित विषयसहित पर्सनल प्रोटेक्टिभ इलिमेन्ट(पीपीई) कसरी लगाउने, सिटमा कसरी प्लाष्टिक लगाउने, खानेकुरा कसरी दिने, विमानमा के–के भन्नेसहित ध्यान दिनुपर्ने अन्य विषयबारे सिकाइएको थियो ।

मेडिकल टोलीसँगै विमानका चालक दलका सदस्यलाई पनि तालिम दिइएको थियो ।

मेजर फुयालका अनुसार मेडिकल टोलीबाट मापदण्ड भेट्ने ४ जना सदस्यलाई चीन पठाउनका लागि छानियो । जसलाई पुनः जिम्मेवारीबारे प्रशिक्षित गराइएको थियो ।

उद्दार टोलीले चीन पुग्नेवित्तिकै विशेष प्रकृतिको कपडा पीपीई लगाएको थियो भने विमानको सिटमा पनि प्लास्टिक लगाइएको थियो

त्यतिञ्जेल फर्काइने नेपालीको सूचना सङ्कलनको काम परराष्ट्र मन्त्रालयले गरिसकेको थियो । जसअनुसार ३ फागुनमा नेपाल वायुसेवा निगमको वाइडबडी जहाज १ सय ८१ जनाको उद्दारका लागि काठमाडौंबाट उड्यो ।

विमानमा तालिमबाट छानिएका चारजना चिकित्सकसहित तीन पाइलट, ७ जना क्याबिन क्रु, एक/एकजना इञ्जिनियर, फ्लाइट डिपार्चर र लोड मास्टर सवार थिए ।

मेजर फुयालका अनुसार टोलीले चीन पुग्नेवित्तिकै विशेष प्रकृतिको कपडा पीपीई लगाएको थियो भने विमानको सिटमा पनि प्लास्टिक लगाइएको थियो । ‘पछि इन्फेक्सन छ भने त्यसलाई हटाउनुपर्छ, त्यसैले विमानका सिटहरु बिग्रिन सक्ने भएकाले पूरै प्लास्टिकले ढाकिएको हो’, उनले अनलाइनखबरसँग भने, ‘विमानमा कसैलाई पनि संक्रमण होस् भनेर विमान कर्मचारीहरुलाई पनि बिजनेस कम्पार्टमेन्टमा राखिएको थियो ।’

वुहान बिमानस्थलमा नेपाल फर्कन लागेका विद्यार्थी अगाडि नै लामवद्ध भइसकेका थिए । चिनियाँ अधिकारीले स्वास्थ्य परीक्षण गरेर ज्वरो नदेखिएकालाई मात्र फिर्ता पठाएका थिए । त्यहीक्रममा स्वास्थ्य समस्या देखिएपछि ६ जना नेपाली चीनमै रोकिए ।

विमानमा पनि कुनै स्वास्थ्य समस्या आइपर्न सक्ने भएकाले चार जना स्वास्थकर्मीको टोली तैनाथ राखिएको थियो । जसमा एक/एक जना डाक्टर र नर्ससहित दुईजना प्यारामेडिक थिए । विमानमा कुनै समस्या आइहाले जाँच गर्ने जिम्मेवारी उनीहरुलाई दिइएको थियो ।

चिकित्सकको टोली हुँदा एयरक्रुको टोली पनि विश्वस्त हुने सेनाको अपेक्षा थियो । ‘भाग्यवश विमानभित्र छिरिसकेपछि कसैलाई समस्या देखिएन’, फुयालले सम्झिए, ‘पहिल्यै एयरक्राफ्टबारे पनि अध्ययन गरेका थियौं । हावा कतातिर जान्छ ? कसरी फिल्टर हुन्छ सबै हेरिसकेकाले पहिल्यै केही हुँदैन भन्ने थियो ।’

यद्यपि, सावधानीका लागि टोली तैनाथ गरिएको उनी बताउँछन् ।

उद्दार गरिएका विद्यार्थीसँग क्रुका सदस्य धेरै सम्पर्कमा जानु नपरोस् भनेर चार घण्टाको यात्राका लागि खानेकुरा पनि पहिल्यै सिट अगाडि राखिएको थियो । यसरी नेपाली सेनाको नेतृत्वमा १७५ जना नेपालीलाई चीनबाट उद्धार गरेर ल्याएको विमान भोलिपल्ट बिहान करिब ४ बजेतिर विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भयो ।

चार्टर्ड गरिएको उक्त विमान पार्किङका लागि छुट्टै ‘वे’ तयार गरिएको थियो । उद्धार गरिएकाको आगमनलाई छरितो बनाउन बेग्लै स्थानमा अध्यागमनको पाँचवटा सेक्सन तयार गरिएको थियो । जहाँ स्क्रिनिङपछि १७५ जनालाई खरिपाटीतर्फ लाने तयारी गरिएको थियो ।

विमानस्थलबाट खरिपाटीसम्म उद्धार गरिएका व्यक्तिलाई लैजान पाँच वटा टुरिष्ट बसको व्यवस्था पर्यटन मन्त्रालयले पहिल्यै गरिसकेको थियो । सैनिक अधिकृतले नै बसका चालकलाई सामान्य तालिम प्रदान गरेका थिए ।

स्रोतका अनुसार प्रारम्भमा चालकले त्रासका कारण अरुचि देखाए पनि चालकको कम्पार्टमेन्टलाई शील गरेपछि उनीहरु सवारी चलाउन तयार भएका थिए । विमानलाई भने ४८ घन्टासम्म त्यहीँ राखिएको बताइएको छ ।

खरिपाटी पुगेपछि खुशी

खरिपाटीमा रहेको नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रका चारवटा घरलाई क्वारेन्टाइन केन्द्र बनाइएको थियो । मेजर फुयालका अनुसार हरेक कोठामा दुईदेखि तीनजनासम्मको दरले राखिएको थियो ।

उद्धार गरिएकै व्यक्तिको रोजाइमा रुम पार्टनर छानिएको थियो । ‘उहाँहरुमध्ये अधिकांश एकअर्कासँग परिचित हुनुहुन्थ्यो । कोही एउटै युनिभर्सिटीमा पढ्नुभएको थियो’, फुयालले सुनाए, ‘क्वारेन्टाइनमा बसिसकेपछि उहाँहरु एकदमै खुशी देखिनुभयो ।’

क्वारेन्टाइनबाट १६ दिनपछि बाहिरिँदै गर्दा पहिले त्रासका कारण बसाइँ सरेका स्थानीय आफैंले फुयालहरुलाई फूलमाला लगाइदिए

खरिपाटीमा राखिएकै दिन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोलीले सबैको घाँटी र नाकको नमूना लिएर गयो । सेनाको टोलीले प्रत्येक व्यक्तिलाई थर्ममिटर र कोरोनाबारे जानकारीमूलक पुस्तिका बाँड्यो ।

कन्ट्रोल रुमबाट हरेक कोठामा दिनको दुई पटक शरीरको तापक्रम नाप्न निर्देशन जारी गरियो । तापक्रम अस्वभाविक देखिने वित्तिकै कन्ट्रोलमा फोन गर्न भनिएको थियो । ‘साथीको बढेको देखियो भने पनि फोन गर्नु भनेर हामीले भनेका थियौं’, फुयालले भने, ‘त्यतिले मात्र नभएर हामी आफैं पनि उहाँहरुले जाँच गरिरहनु भएको छ/छैन भनेर बुझ्न नियमितरुपमा कोठामा छिरिरहेका थियौं ।’

सोमबारसम्म पनि कसैको स्वास्थ्यमा कैफियत आउने हो कि भन्ने आशंकाले सैनिक अधिकृतहरुलाई पिरोल्ने गरेको थियो । तर, १६ दिनसम्म सामान्य पेट दुख्नेबाहेक अन्य कुनै पनि समस्या नदेखिएको डा. फुयाल बताउँछन् ।

सैनिक अधिकृतका अनुसार कर्णेल डा. मुन थापा, मेजर फुयाल र हाइजिन अफिसर कृपा थापा मगर मात्रै क्वारेन्टाइन स्थलमा नियमित प्रवेश गर्थें । अन्यलाई छिर्न रोक लगाइएको थियो ।

‘पुरै प्रोटेक्टेड भएर हामी अहोरात्र खटिन्थ्यौं’, सन् २०१० मा हाइटीमा हैंजा फैलिएको बेलासमेत काम गरेका फुयाल भन्छन्, ‘कति दिन हाम्रो टोली दुई घन्टा पनि सुतेन होला । बिहानै क्वारेन्टाइन आउने, राति अवेर घर जाने गथ्र्यौं  ।’

वुहानबाट उद्धार गरिएका राखिएको क्वारेन्टाइनमा फुयालहरुले काम गर्दैगर्दा कोरोनाबारे सर्वसाधारणमा भने यति त्रसित मानसिकता थियो कि टोलीका सदस्य बाहिर कतै गए शंकाको दृष्टिकोणले हेरिन्थे ।

‘सेनाको जागिर नै यस्तो हो । हामीले नगरे कसले गर्ने ?’, फुयाँल भन्छन्, ‘बाहिर मान्छेलाई भेटेर नकरात्मक कुरा सुन्नुभन्दा सकेसम्म हामी आफैं बाहिर हुने कुनै समारोहतिर गएनौं ।’ परिवारमा पनि त्यसकिसिमको शंका हुने देखिएको उनी बताउँछन् ।

यद्यपि, आफूहरुले परिवारलाई ‘कन्भिन्स’ गराएको उनी सम्झन्छन् ।

मंगलबार क्वारेन्टाइनबाट सबैलाई घर फर्काउँदै गर्दा चाहिँ सबै खुशी देखिए । पहिले त्रासका कारण बसाइँ सरेका स्थानीय आफैंले फुयालहरुलाई फूलमाला लगाइदिए ।

‘नेपाली सेनाको कुशल नेतृत्व र सबै सरोकारवालाको समन्वयले सेनाले पाएको जिम्मेवारी सफलतापूर्वक पूरा भएको छ’, उनी भन्छन्, ‘यसैमा हामी सन्तुष्ट छौं ।’

हेर्नुस् भिडियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment