Comments Add Comment
गैरसरकारी संस्थालाई परिषद्को निर्देशन :

‘कार्यक्रम स्वीकृतिपछि मात्रै फिल्डमा उत्रनू, श्रमस्वीकृतिबिना विदेशीलाई काममा नलगाउनू’

Photo Credit : Wikimedia Commons

२९ फागुन, काठमाडौं । समाज कल्याण परिषदले प्रचलित कानूनको अधीनमा रही गतिविधि गर्न राष्ट्रिय गैरसरकारी संस्था (एनजीओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) लाई निर्देशन दिएको छ ।

विना दर्ता एनजीओ/आईएनजीओ सञ्चालन गर्ने, श्रमस्वीकृति नगरेका विदेशीलाई काममा लगाउने तथा कार्यक्रम स्वीकृतलगायतका मापदण्ड पालना नगर्ने प्रवृत्ति बढिरहेका बेला परिषद्ले प्रचलित कानूनको अधीनमा रही गतिविधि गर्न निर्देशन दिएको हो ।

परिषद्ले एनजीओ तथा आईएनजीओ दुवैलाई स्वीकृति/सम्झौता लिएर मात्र परियोजना तथा कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ । त्यस्तै, सञ्चालन गरिएका कार्यक्रमको लेखापरीक्षण प्रतिवेदन, भौतिक सम्पत्तिलगायतका विवरण पेस गर्न पनि परिषद्ले भनेको छ ।

‘प्रचलित कानूनविपरीतका कुनै पनि गतिविधि नगर्न, नगराउन सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई अनुरोध गरिन्छ,’ परिषद्ले एक सूचना जारी गर्दै भनेको छ ।

स्वीकृत परियोजनाहरूको विगत ३ आर्थिक वर्षको सम्पादित कार्य विवरण एक महिनाभित्र पेस गर्न पनि परिषद्ले सम्बन्धित सबै एनजीओ÷आईएनजीओलाई अनुरोध गरेको छ ।

समाज कल्याण ऐन, नियमावली तथा निर्देशिकामा कार्यक्रम स्वीकृत तथा सम्झौता गरेर मात्र कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि कतिपय एनजीओ र आईएनजीओले त्यसको पालना गर्ने गरेका छैनन् । परिषद्का अनुसार, लेखापरीक्षणसँगै संस्थाको भौतिक सम्पत्तिबारे पनि कतिपय संस्थाले विभागमा विवरण दिने गरेका छैनन् ।

श्रमस्वीकृति दिएर मात्रै विदेशीलाई काममा लगाउनू

नेपालमा सञ्चालित एनजीओ र आईएनजीओमा विदेशीसमेत आबद्ध हुने गरेका छन् । नेपालमा खुलेका एनजीओ र आईएनजीओमा कार्यरत त्यस्ता विदेशीले श्रमस्वीकृति लिनुपर्ने प्रावधान छ । तथापि, कतिपय विदेशीले विना श्रमस्वीकृति काम गर्ने गरेको परिषद्को भनाइ छ ।

परिषद्ले विना श्रमस्वीकृति एनजीओ र आईएनजीओमा आबद्ध रहेकाहरूलाई पनि श्रमस्वीकृति लिएर मात्र काम गर्न स्मरण गराएको छ ।

‘विदेशी नागरिकहरूलाई प्रचलित कानूनबमोजिम सेवा सहमति एवं श्रमस्वीकृति पश्चात् काममा लगाउन आग्रह गरिन्छ,’ परिषदले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment